बस्ती छिरेको बाघको खोजीमा १२ घन्टा- भीडको कोलाहलले दुई हात्ती माउते छोडेर भागे – Nepal Press

बस्ती छिरेको बाघको खोजीमा १२ घन्टा- भीडको कोलाहलले दुई हात्ती माउते छोडेर भागे

चितवन । आइतबार बिहानै नारायणी किनारमा बाघ आइपुग्यो । मर्निङ वाकमा निस्किएका स्थानीयलाई घाइते बनायो । स्थानीयको होहल्ला पछि दुईसय मिटर पर बस्तीबीचको नर्कट झाडीमा बिहानै पस्यो ।

सर्वसाधारण बिहानैदेखि तनावमा भए । बाघ त्यहाँबाट निकाल्ने मान्छेको बोलाउन चितवन राष्ट्रिय निकुञ्जमा खबर भयो । निकुञ्जको पूर्वी सेक्टर सौराहामा छ । त्यहाँ राष्ट्रिय प्रकृति संरक्षण कोषमा वन्यजन्तु प्राविधिकहरू छन् । निकुञ्जसँगको समन्वयपछि बिहान ९ बजे प्राविधिक सहितको टोली नारायणगढ आइपुगे । दिनभर पनि नसकिएपछि राती ९ बज्न लाग्दा टोलीले बाघलाई नियन्त्रणमा लिन सफल भयो ।

बाघ नियन्त्रणमा लिनु चानेचुने कुरा होइन । हात्ती प्रयोग गरेर, ज्यानकै जोखिममा मानिसका हल्लाबीच बाघ नजिक गएर नियन्त्रणको लागि काम गर्नु जोखिमपूर्ण काम हो । त्यही टोलीका जोखिमयुक्त काम गर्नेमा माउते र वन्यजन्तु प्राविधिक अर्थात् बाघलाई डार्ट गर्नेहरू पर्दछन् ।

चितवन मात्रै होइन भारतसम्म पनि समस्याग्रस्त, जोखिममा परेका लगायतका वन्यजन्तुको उद्धार गर्नुपरे सधैँ वन्यजन्तुको प्राविधिक टोलीमा पर्छन् तीर्थ लामा ।

आइतबार नारायणगढमा बाघ समाउने टोलीमा पनि थिए तीर्थ । उनैले गरेको डार्टबाट वयस्क भाले बाघ बेहोस भयो । जनताका ज्यान पनि जोगियो ।

तीर्थ पाँच पटकभन्दा बढी हात्तीमाथि चढेर डार्ट गर्न नर्कट झाडीमा गए । अन्ततः निकै संयमतापूर्वक उनैले हानेको गनले एकै सुटमा बाघलाई बेहोस बनायो । उनै तीर्थले नेपाल प्रेससँग आइतबार नारायणगढमा बाघ समाउन गरेको दुःख र वन्यजन्तु उद्धारका क्रममा आउने जोखिमबारे अनुभव बाँडेका छन्:

हिजो बाघ नारायणगढमा आएको छ भन्ने थाहा पाएपछि हाम्रो टोली ९ बजे नारायणगढ पुगेको थियो । हामीले मिसन ९ बजेदेखि सुरु गरेको हो । सुरुमा स्थानीयले भनेको आधारमा झाडी बाहिर सेतो कपडा (भिड) लगायौँ । बाघ सेतो कपडा नाघेर बाहिर नजाने भएकोले सेतो कपडा लगाएको हो ।

सुरुमा त हामीलाई बाघ छ छैन यकिन गर्नुपर्ने थियो । त्यो ठाउँ साँघुरो र झाडी बाक्लो पनि थियो । त्यसैले बाघ बस्न राम्रो झाडी भएकोले हुनसक्ने अनुमान गरेका थियौँ ।

त्यसपछि ३ वटा हात्ती मगायौँ । हात्ती आएपछि सबैभन्दा पहिला त बाघ छ छैन यकिन गर्नुपर्ने थियो । हामीले दुईवटा मात्रै हात्ती झाडीमा छिराएर खोजी काम गर्‍यौँ । सुरुमा बाघ छ छैन यकिन गर्न जाँदा पोथी हात्ती बाहिर छोडेका थियौँ । भित्र बाघ भएको यकिन गर्ने बेला बाघ कराएसँगै वरपरका मान्छेले एकदमै धेरै हल्ला गर्नुभयो । भिडभाडको आवाजले त्यो हात्ती डरायो ।

मान्छे कराएपछि हात्ती अनकन्ट्रोल हुन्छ । अनि चम्किएर भाग्छ । हात्ती चम्किएपछि उसलाई बाटो नै चाहिँदैन । जसरी पनि भाग्छ । हिजो पनि त्यही भयो । सबैभन्दा पहिले भागेपछि फकाइ फकाइ पोथी हात्ती लिएर आयौँ । झाडीमा तीनवटा नै हात्ती लिएर गयौँ ।

जब भित्र बाघ गर्जिन्छ मान्छेको भीड त्यति नै धेरै चिच्याएपछि हात्तीलाई नियन्त्रण गर्न सकिएन । दुईवटा हात्ती माउते नै छोडेर भाग्यो । हामीले त धेरै पटक भनेका थियौँ हल्ला नगर्नुस् भनेर । यसरी उद्धार गर्दा बाघ भन्दा धेरै हात्ती खतरनाक हुन्छ ।

हल्लाले हात्ती चम्कियो भने उसैले मानवीय क्षति गराइदिन सक्छ । हामीलाई हिजो पनि काम गर्दा त्यही गाह्रो भयो । दुईवटा हात्ती दोस्रोपटक भागेपछि फर्किएन । माउते नै छोडेर हात्ती भागेपछि उल्टै अरूतिर समस्या पार्छ कि भन्ने डर पनि भयो ।

दुईवटा हात्ती भागेपछि एउटाले मात्रै काम गर्न गाह्रो भो । दुईपटक त त्यही एउटा हात्तीमाथि चढेर गएर कोसिस पनि गरेको हो । तर, सम्भव भएन । त्यसपछि सौराहाबाट दुईवटा हात्ती मगायौँ ।

त्यो दुईवटा हात्ती आउन पनि करिब ३ घण्टा लाग्यो । दुईवटा हात्ती आएपछि तीनवटा मिलाएर काम गरेको हो । दोस्रो पटक अन्तिम समयसम्म नै हात्तीमा थिएँ । पहिला त बाघ पत्ता लगाउनु थियो । सिधै टाउकोमा डार्ट गर्न मिल्दैन । मासु धेरै भएको ठाउँमा सुई पर्नेगर गन चलाउनुपर्छ ।

साँझ ८ बजेतिर तीन वटा हात्ती फेरि झाडीमा गयौँ । बाघ निकालेपछि उसले आक्रमण प्रयास पनि गर्छ । हिजो पनि देखिहाल्नुभो । हिजो पनि आठ बजे झाडीमा पसेपछि ननिक्लिकन डार्ट गर्न सकियो ।

हामी छिरेपछि बाघ बसेको ठाउँ पत्ता लाग्यो र केहीबेर होल्ड गर्‍यौँ । हुन त बाघ समाउने तरिका उस्तै हो । तर, झाडी भएकोले हिजो नारायणगढमा डार्ट गर्न गाह्रो थियो ।

लठ्याउने औषधि हान्ने मेसिनलाई डार्ट गन भनिन्छ । प्राविधिक भाषमा टेल इन्जेट भन्छौँ । औषधि चाहिँ डाक्टरले ठिक्क बनाइदिनुहुन्छ । हामीले गनमा सिरिन्ज लोड गरेर बाघलाई निशाना लगाउने हो ।
डार्ट गर्दा बाघको टाउको पुच्छरमा हान्न हुन्न ।

मासुको भाग धेरै भएको ठाउँमा हान्नुपर्छ । त्यसैले चान्स गुमाउनुहुन्न भनेर हामी निकै चनाखो थियौँ । झाडीमा सानो दुलोले बाघको गर्धन र काँधको भाग देखिएको थियो । चनाखो भएर त्यही दुलोबाट सुई छिर्नेगरी गन चलाएँ । एकै सटमा बाघको गर्धन तल र काँध माथिको भागमा लाग्यो ।

डार्ट गरेपछि हामीले हल्ला गर्दैनौँ । हिजो ८ बजेर ५४ मिनेटमा डार्ट गरेको थियौँ । त्यसपछि बिस्तारै बाघ लट्ठियो । बाघ लट्ठिन १० देखि १५ मिनेट लाग्छ । त्यति बेला हल्ला गर्नु हुँदैन ।

हिजो दिउँसो डार्ट गर्न सकिएको थिएन एकैपटकमा भएको हो । डार्ट गर्दा ९० प्रतिशत सट पक्का हुन्छ । ८/१० प्रतिशत मिस पनि हुन्छ ।

कहिलेकाहीँ हान्ने ठाउँ मिल्दैन । हिजो पनि हतार गरेर हानेको भए मिस हुन सक्थ्यो । मैले सन् २००० बाट राष्ट्रिय प्रकृति संरक्षण कोषमा वन्यजन्तु प्राविधिकको रूपमा काम गरेको हो । डार्ट नै गर्न चाहिँ सन् २०१० बाट थालेको हो ।

हामी हात्ती, गैँडा, चितुवा, पासोमा परेको जरायो, चित्तल जस्ता जंगली जनावरको उद्धार गर्छौँ । हिजो देखिहाल्नुभयो सबैभन्दा जोखिम त उद्धारमा मानिसको भीड हुन्छ । भीड देख्दा हात्ती भाग्छ । हात्तीबाट समेत ज्यान जोगाउनुपर्छ हामीले ।

मैले अहिलेसम्म अनुसन्धानदेखि बिरामी उपचार गर्नेसम्मका बाघलाई गरेर ५०/६० वटा बाघलाई डार्ट गरेँ ।

तर, वन्यजन्तुको उद्धारमा सधैँ जोखिम हुन्छ । २०७४ सालको बाढीमा नेपालको गैँडा बगाएर वाल्मीकि टाइगर रिजर्भमा पुर्‍याएको थियो । त्यति बेला भारतले नेपालको गैँडा नेपाल फर्काइदिने भनेको थियो ।

हाम्रो टोली गैँडा लिन गयौँ । एउटा गैँडा अर्धवयस्क रैछ । एकैचोटी गैँडाले लखेट्यो । दौडेँ । एउटा रुख नजिक पुगेँ । हान्न भ्याइहाल्यो । रुखमा तीन फन्का घुमायो । मसँग कि मर्ने कि मार्ने दुईवटा मात्रै विकल्प थियो । मसँग बन्दुक थियो अब आयो भने बन्दुकले हानिदिन्छु भन्ने सोचेँ ।

उता साथीहरूले देखेछन् । मलाई गैँडाले मार्‍यो भन्ठानेछन् । अब गैँडा भगाउनुपर्छ भनेर हात्तीमा रुख ढाल्दै हल्ला गर्दै आए । त्यसपछि गैँडा भागेर ज्यान जोगियो । यस्ता धेरै जोखिम छन् । हामीलाई वन्यजन्तु उद्धार गर्दा सबैभन्दा धेरै जोखिम चाहिँ मान्छेकै कारण हुने गर्छ । उहाँहरूले वन्यजन्तुको उद्धार गर्ने बेला होहल्ला गर्न हुँदैन भन्ने बुझिदिनुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *