रुपन्देहीका १८ उद्योगविरुद्ध मुद्दा दायर – Nepal Press

रुपन्देहीका १८ उद्योगविरुद्ध मुद्दा दायर

रुपन्देही । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, रुपन्देहीले गत आर्थिक वर्षमा १८ वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ ।

कार्यालयले २०८० साउन १ देखि २०८१ असार मसान्तसम्मको अवधिमा १८ वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ ।

जसअन्तर्गत ३ मुद्दा नवलपरासी जिल्ला अदालत, ८ वटा मुद्दा रुपन्देही जिल्ला अदालत, ३ मुद्दा जिल्ला प्रशासन कार्यालय नवलपरासी र ४ वटा मुद्दा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख तथा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत अनुप हलुवाईले बताए ।

आव २०८०/०८१ को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा गोष्ठीमा हलुवाईले आव २०८०/०८१ मा खाद्य ऐन तथा नियमअनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा विक्री वितरण गरेको कसुरमा चौथो त्रैमासिकमा एउटा मुद्दा र वार्षिक अवधिमा १८ वटा मुद्दा दायर गरिएको जानकारी दिए ।

त्यस्तै आव २०८०/०८१ को चौथो त्रैमासिकमा खाद्य स्वच्छता सर्भिलेन्सका लागि नमूना संकलन लक्ष्य ५० रहेकोमा ६२ वटा संकलन भएको र वार्षिक लक्ष्य २०० रहेकोमा २२० नमुनाहरू संकलन गरिएको हलुवाईले जानकारी दिए ।

त्यस्तै गत आवमा होटल तथा रेष्टुरेण्ट अनुगमनको वार्षिक लक्ष्य ५२ पटक रहेकोमा ५४ पटक अनुगमन गरिएको उनले जानकारी दिए ।

उनका अनुसार यस अवधिमा दुई पटक होटल लोगो स्तरीकरण तथा नवीकरण कार्यक्रम अन्तर्गत बुटवल, भैरहवा क्षेत्रका २३ वटा होटलहरु परेका थिए ।

त्यसै गरी आव २०८०/०८१ को चौथो त्रैमासिकमा ३८ लक्ष्य रहेकोमा ४३ वटा उद्योग अनुगमन गरिएको र वार्षिक १५० उद्योग अनुगमन लक्ष्य रहेकोमा २०१ उद्योग अनुगमन गरिएको उनले जानकारी दिए ।

उनका अनुसार दाना उद्योग अनुगमन वार्षिक लक्ष्य १२ रहेकोमा ४ दाना उद्योग अनुगमन भएका छन् ।

संवेदनशील खाद्य पदार्थ (दूध, तेल तथा पानी) उत्पादन गर्ने उद्योग अनुगमन चौथो त्रैमासिक अवधिमा लक्ष्य ६ रहेकोमा प्रगति पनि सोही अनुसार ६ नै रहेको उनले बताए ।

चौथो त्रैमासिक अवधिमा ३३ उद्योगलाई नयाँ अनुज्ञा पत्र जारी, २२ उद्योग अनुज्ञा पत्र नवीकरण। वार्षिक अवधिभरमा १०६ उद्योगलाई नयाँ अनुज्ञा पत्र जारी र १३३ उद्योग अनुज्ञा पत्र नवीकरण तथा १५६ नयाँ उद्योग स्थापना गर्न सिफारिस गरिएको उनको भनाइ छ ।

कार्यालय प्रमुख हलुवाईका अनुसार गत आ।व।मा खाद्य तथा दाना बजार र उद्योग निरीक्षण अनुगमन गरी ऐन नियमानुसार चौथो त्रैमासिकमा २५ नमुनाहरू र वार्षिक अवधिमा लक्ष्य १०० रहेकोमा १०२ नमुनाहरू संकलन भएका थिए ।

‘२०८१ असार मसान्तसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट प्राप्त नमूनाहरुको विश्लेषण/परीक्षण प्रतिवेदनमा ८ नमूनाहरुको प्रतिकूल पाइएको थियो, ’उनले भने । यो कार्यालयको ६ वटा जिल्ला कार्य क्षेत्र छ ।

कार्यालयले आम उपभोक्ताको स्वास्थ्य र सुविधा कायम राख्न खाद्य तथा दाना ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयन गरी खाद्य प्रविधिको विकास तथा खाद्य पोषणको सुधारका निम्ति विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

त्यस्तै खाद्य/दाना पदार्थ विश्लेषण परीक्षणका लागि विश्वसनीय प्रयोगशाला सेवा प्रदान गरी स्वच्छ व्यापार तथा व्यवसायमा सहजीकरण गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *