झरीले उर्लियो काठमाडौंका खोला, सतर्कता अपनाउन आग्रह
काठमाडौं । मनसुन पुन: सक्रिय भएसँगै रातिदेखिको भारी वर्षाले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेको छ । नदी तथा खोलामा खोलामा पानीको वहाबसँगै जोखिम बढेको छ ।
झरी र डुबानका कारण उपत्यकाको सवारी आवागमन पनि अस्तव्यस्त बनेको छ । खोला किनारका सडक जलमग्न हुँदा मूल सडकमा सवारी चाप बढ्दो छ ।
बागमती, मनोहरा, हनुमन्ते, धोबीखोलालगायतमा जल सतहले सतर्कता तह पार गरेको छ । नदी तथा खोला किनारमा रहेका बस्ती बाढी र डुबानको उच्च जोखिममा रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
त्यस्तै काठमाडौं महानगरपालिका १४, बल्खु (टेकु दोभानदेखि बल्खु तरकारी बजारसम्म) स्थित कुलेश्वर फलफूल बजार क्षेत्र र सुकुम्बासी बस्ती क्षेत्रमा बागमतीको पानी पसेको छ । बल्खु तरकारी बजारको उत्तरी भागमा पानी पस्न सुरू गरेको र दक्षिणी भाग पनि डुबानमा परेको छ ।
माछापोखरी क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप लाइन फुटेर घरहरू डुबानमा परेको छ । कीर्तिपुर नगरपालिका-६ चोभारमा पनि पहिरो गएको छ ।