‘एमालेमा स्कुलिङ नै मिलेन, माओवादीमा फर्किने निर्णय गरेको छैन’ – Nepal Press

‘एमालेमा स्कुलिङ नै मिलेन, माओवादीमा फर्किने निर्णय गरेको छैन’

मणि थापालाई ५ प्रश्न

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य मणि थापालाई हालै पदमुक्त गर्‍यो । गत बिहीबार बसेको सचिवालय बैठकले लामो समयदेखि पार्टीमा निष्क्रिय रहेका थापालाई पदबाट हटायो । थापालाई पदबाट हटाएपछि एमालेले उनको स्थानमा अर्को नेतालाई जिम्मेवारी दिइसकेको छ । थापा माओवादी धारका नेता हुन् ।

एमाले र माओवादीबीचको एकतापछि बनेको तत्कालीन नेकपामा उनलाई स्थायी कमिटीको जिम्मेवारी दिइएको थियो । तर, नेकपा एकता भंग भएपछि एमाले रोजेपछि केपी शर्मा ओलीले गैर सांसदको रूपमा मन्त्री समेत बनाएका थिए ।

एमालेमा हुँदा अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीमाथि नै प्रश्न उठाउँदै बिदामा बसेका थापालाई अहिले पार्टीले सबै जिम्मेवारीबाट अलग भएका छन् । एमालेबाट अलग हुनुको कारण र अबको राजनीतिक यात्राबारे हामीले थापालाई गरेको ५ प्रश्नः

– एमालेबाट त बाहिरिनुभयो अबको राजनीतिक यात्रा कता हुन्छ ?

एमालेमा त मैले पहिले नै राजीनामा दिएको थिएँ । उहाँहरूले स्वीकृत गर्नुभएको छ । मेरो अबको राजनीतिक यात्रा कता हुन्छ भन्ने अहिलेसम्म निर्णय गरेको छैन ।

– एमालेमा लामो समय सक्रिय हुनुभएन, खास नमिलेको कुरा के हो ?

एमालेसँग हाम्रो विचारधारात्मक कुरा र स्कुलिङ नै मिलेन । हामी माओवादी स्कुलिङबाट आएका हौं । उहाँहरूको एमाले स्कुलिङ भयो । स्कुलिङनै फरक भएपछि काम गर्ने कुरा र विचारधाराको प्रश्न पनि फरक पर्ने भयो त्यसैले यी कुराले गर्दा एकैठाउँमा बस्न सकिएन । अरु कुनै खासै केही छैन ।

– एमाले नेतृत्वसँगको असहमतिको कुरा पनि गरिन्छ नि !

होइन, त्यस्तो कुनै असहमति छैन । नेतृत्वसँग असहमति भएको भए कम्प्रमाइज गर्न सकिन्थ्यो । नेतृत्वले भन्दापनि एमाले जुन विचारबाट अगाडि बढेको छ, जुन विचारलाई प्राथमिकता दिएको छ । त्यसमा मेरो कुरा मिलेन ।

– अब माओवादीमै फर्किन लाग्नुभएको हो ?

अहिलेसम्म त्यस्तो कुनै निर्णय गरेको छैन । हामी माओवादी धारका नेता कार्यकर्ता भयौं । तर, पार्टीगत रूपमा भने अहिले कुनै डिसिजन गरेको छैन ।

– एमाले छाडेपछि माओवादी फर्किने चर्चा चलिरहेको बेलामा प्रचण्डसहित माओवादीको नेताहरूसँग सम्पर्कमा हुनुहुन्छ ?

छैन, अहिलेसम्म म माओवादीको कोही नेताहरूसँग सम्पर्कमा छैन । मैले मेरो राजनीतिक कार्यदिशाबारे निर्णय अहिलेसम्म गरेको छैन । आवश्यक समयमा निर्णय गर्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर