सत्ता बाहिर पुगेपछि प्रचण्डले सम्झिए आफ्ना ५ गल्ती – Nepal Press

सत्ता बाहिर पुगेपछि प्रचण्डले सम्झिए आफ्ना ५ गल्ती

काठमाडौं । सत्ताबाट बाहिर पुगेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गल्ती सम्झिँदै पार्टी निर्माणको अभियानमा जुट्ने प्रयास गरिरहेका छन् । अब पार्टी निर्माणको लागि जनताको कुरा सुन्न आफू देशव्यापी रुपमा हिँड्ने उद्घोष गरेका प्रचण्ड आज विराटनगरमा पुगेका छन् ।

उनले पाँच दिनसम्म चलेको पार्टी पदाधिकारी बैठकमा भनेका थिए, ‘हाम्रो जनतासँगको कडी टुटेको छ, म देशैभरि एक पटक जनतासँग एकाकार हुन, सुखदुःखको कुरा सुन्न जान्छु ।’

त्यहीअनुसार अहिले प्रचण्ड आज कोशी प्रदेश कमिटीको सातौँ पूर्ण बैठकमा सहभागी भए । उनले बैठकलाई सम्बोधन गर्दै भने, ‘अध्यक्ष भएको नाताले आफू प्रदूषित भएको आत्मालोचना गर्छु। म मात्रै होइन पदाधिकारी र तपाईहरू पनि प्रदूषित हुनु भएको छ ।’

प्रचण्डले सम्झिएका ५ गल्ती

–चुनाव र विद्रोह एउटै हो भन्नु, पार्टी विभाजन रोक्न नसक्नु

–क्यान्टोनमेन्टमा जनमुक्ति सेना राखेर विद्रोहको कुरा गर्नु

–जनयुद्धका होलटाइमर कार्यकर्ता आफैं व्यवस्थापन गर भन्नु

–दलाल पुँजिपति र विभिन्न गिरोहका भूलभलैयामा पर्नु

–गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बन्नबाट रोक्नु

सत्ताबाट बहिर्गमन भएपछि प्रचण्डले आगामी निर्वाचनमा एक्लै लड्नेगरी पार्टी संगठन निर्माणमा जोड दिएका छन् । त्यसका लागि गतसाता पाँच दिनसम्म पदाधिकारीसँग छलफल गरेका थिए । त्यसलगत्तै साउन २५ गते स्थायी कमिटी र लगत्तै केन्द्रीय कमिटी बैठक बस्दैछ ।

प्रतिपक्षमा हुत्तिएको माओवादी ‘ठूलो रुपान्तरण’ को प्रक्रियामा जाने तयारी गरिरहेको छ । लामो समयदेखि एकलौटी नेतृत्वमा रहेका प्रचण्डको विकल्पमा जानुपर्ने विषयमा पनि माओवादीमा बहस सुरु भएको छ ।

उनको कार्यशैलीको विषयमा पनि नेताहरूले प्रश्न उठाइरहेका छन् । उनीमाथि पार्टीभित्रबाट अहिले कांग्रेससँगको सहकार्य छाडेर एमालेसँग मिल्नुको औचित्य पुष्टि गर्न दबाब बढाइरहेका छन् ।

विशेष महाधिवेशनको चर्चा चलिरहेको बेलामा माओवादीमा पदाधिकारी र स्थायी कमिटी भंग गरेर नयाँ ढंगले जानुपर्ने प्रस्ताव पनि आएको छ ।


प्रतिक्रिया

2 thoughts on “सत्ता बाहिर पुगेपछि प्रचण्डले सम्झिए आफ्ना ५ गल्ती

  1. सकिन लागेकालाई के आलोचना गर्नु प्रचण्ड जता मल्खु उतै ढल्कु शत्ता र पावर का लागि अनि अब खलास यहीँ हो अवको बाटो ।

  2. जतिखेर पनि यो मान्छे गिरिजालाई राष्ट्रपति नगराउनु आफ्नो ठुलो भुल भएको ठान्छ। त्यत्रो बलिदानबाट सत्तारुढ भएकाले काङ्ग्रेसको मान्छेलाई राष्ट्रपति बनाउन नसकेकोमा यति बिघ्न पछुतो छ भने काङ्ग्रेसमा आफ्नो पार्टीलाई विलय गरेर त्यसको विकासमा लागे भइहाल्यो नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर