शेयर लगानीकर्ताले एकैदिनमा गुमाए २ खर्ब ३० अर्ब बढीको पुँजी – Nepal Press

शेयर लगानीकर्ताले एकैदिनमा गुमाए २ खर्ब ३० अर्ब बढीको पुँजी

काठमाडौ । एक महिनादेखि लगातार बढिरहेको शेयरबजार आज एक्कासी घट्दा लगानीकर्ताको २ खर्ब ३० अर्बभन्दा बढी पुँजी गुमेको छ ।

सोमबार ४४ खर्ब ३८ अर्ब ७२ करोड पुँजीकरण रहेको शेयर बजारमा मंगलबार उक्त अंक ४२ खर्ब ८ अर्ब ४६ करोडमा झर्‍यो । आज नेप्सेमा भारी गिरावट आएपनि कारोबार रकमले कीर्तिमान राख्यो । बजारमा २३ अर्ब ७१ करोड रूपैयाँभन्दा बढीको कारोबार हुँदा १४५.०५ बिन्दु घटेर २६५१.३२ मा अडिएको छ ।

बुल रन तय गरेको बजारमा करेक्सन आउँदा लगानीकर्ताको पुँजी घटेको बताइन्छ ।

शेयर विश्लेषक डा. केशव श्रेष्ठले इन्डेक्स २७०० पुगेपछि नाफा बुक गर्नेहरू बढ्दा करेक्सन आएको बताए । स्वतन्त्र पुँजी बजार संघका अध्यक्ष रोहन कार्की लगातारको उछालले पनि बजारले करेक्सन खोजेको बताए ।

‘शेयर बजार भावना र मनोविज्ञानले चल्छ । केही नेता तथा नीति निर्माणमा बसेकाले कहिलेकाहिँ बजारबारे धेरै सकारात्मक र नकारात्मक कुरा गर्दिँदा पनि लगानीकर्तामा असर पर्छ । त्यसैले पुँजी बजारलाई स्वतन्त्र छाड्दिनुपर्छ’, कार्कीले नेपाल प्रेससँग भने ।

यसबीचमा वित्तीय सूचक कमजोर भएका कम्पनीमा उछाल आएको भन्दै त्यस्ता कम्पनीमाथिको लगानी जोखिमयुक्त हुन सक्ने संसदीय समितिमा सांसदहरूले ध्यानाकर्षणसमेत गराएका थिए । हिजोमात्र पूर्वअर्थमन्त्री प्रकाशशरण महतले सदनमा बुलिस ट्रेन्डलाई स्वाभाविक लिन नसकिने बताएका थिए ।

पछिल्लो समयमा शेयर बजारमा चलखेलकर्ताको हस्तक्षेप बढेको हो कि भन्ने आशंका भएकाले छानबिन गर्नसमेत उनले माग गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *