मधेशमा मन्त्रीको थाक : थपिए ५ राज्यमन्त्री, मन्त्रिपरिषद् २० सदस्यीय
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज ५ जना राज्यमन्त्री नियुक्त भएका छन् । १२ मन्त्रालय रहेको मधेशमा ५ जना थपिँदा मन्त्रीको संख्या २० पुगेको छ । यो अहिलेसम्मकै जम्बो हो ।
मुख्यमन्त्री सिंहले नेपाली कांग्रेसबाट २ र नेकपा एमाले, जनमत पार्टी र लोसपाका एकरएक राज्यमन्त्री थपेका छन् ।
स्रोतका अनुसार एमालेका मोहम्मद जैद आलमलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, लोसपाका रामबाबु यादवलाई शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतका शम्भु कुमार साहलाई उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री नियुक्त गरिएको छ ।
कांग्रेसको तर्फबाट रेखा ठाकुर भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजकलाई उर्जा, सिंचाई तथा खानेपानी राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् ।
नवनियुक्त पाँचवटै राज्यमन्त्रीलाई मधेश भवनमै मुख्यमन्त्री सिंहले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम राखिएको छ ।