आज र भोलि यी ३४ जिल्लामा रात्रिबस नचलाउन आग्रह
गृहले भन्यो- अति भारी वर्षाको सम्भावना छ यी ७ कुरामा सतर्क रहनुहोला
काठमाडौं । मंगलबार र बुधबार भारी वर्षा र अति भारी वर्षा हुनसक्ने र यसले ५ वटा प्रदेशका विभिन्न जिल्ला उच्च जोखिममा रहने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ ।
राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज विशेष सूचना जारी गरेर अति भारी वर्षाका कारण विपदका घटना हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेकाे ५ ।
३४ जिल्लामा अति भारी वर्षाका कारण विपद्का घटना बढ्न सक्ने भन्दै सचेत रहन सम्बन्धित सबै सरोकारवालालाई विशेष सूचना जारी गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले रातको समयमा यात्रा गर्दा बाटोमा आउन सक्ने बाढी र पहिरोको आँकलन गर्न कठिन हुने भएकोले सम्भावित क्षति रोक्न उच्च जोखिम भएका जिल्लामा रात्रीकालीन बस नचलाउन आग्रह गरेको छ ।
विभागका अनुसार उच्च जोखिममा रहेका जिल्लामा कोशी प्रदेशमा ताप्लेजुङ्ग, पाँचथर, संखुवासभा, तेह्रथुम रहेका छन् भने बागमती प्रदेशमा रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ्ग, नुवाकोट, दोलखा रहेका छन् ।
त्यसैगरी गण्डकी प्रदेशमा म्याग्दी, बाग्लुङ्ग, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ्ग, गोरखा तथा लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, दाङ्ग, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची र रुकुम पश्चिम रहेका छन् । त्यस्तै सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडी उच्च जोखिममा रहेका विभागले जनाएको छ ।
साथै भारी वर्षा र अति भारी वर्षा हुन सक्ने जिल्लामा विपद्को जोखिममा रहेका मानिसलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले समन्वय गरी तत्काल सुरक्षित आश्रयस्थलमा सार्ने व्यवस्था गर्न आग्रह गरेको छ भने जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी र प्रतिकार्य गर्न विपद् सम्बन्धी काम गर्ने साझेदार संस्थाले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रहन जनाएको छ ।
प्राधिकरणले भारी वर्षा हुने प्रक्षेपण गरिएका जिल्लामा जुनसुकै बेला विपद् आउन सक्ने हुनाले खोज तथा उद्धारको लागि ती जिल्लाका तीन वटै सुरक्षा निकाय तयारी अवस्थामा रहन आग्रह गरेको छ ।
यस्तै भारी वर्षाको अवधिभरि अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, नदी किनार र पहिरोको जोखिममा बसेका बासिन्दालाई चनाखो रहन तथा सुरक्षा निकाय, एम्बुलेन्स लगायतका जरुरी टेलिफोन नम्बर राख्न र आपत परे तुरुन्तै फोन गर्न आग्रह गर्नुका साथै दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान आग्रह गरेको छ ।