लुम्बिनीमा स्वास्थ्य मन्त्रालयको ५० प्रतिशत बजेट प्रादेशिक अस्पताललाई – Nepal Press

लुम्बिनीमा स्वास्थ्य मन्त्रालयको ५० प्रतिशत बजेट प्रादेशिक अस्पताललाई

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराएको बजेटको ५० प्रतिशत रकम बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा परेको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. वासुदेव उपाध्यायले आफ्नो मन्त्रालयको बजेटको ५० प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालले पाएसँगै यसलाई प्रदेश सरकारले कति महत्वपूर्ण मानेको रहेछ भनेर बुझ्नुपर्ने बताएका छन् ।

नयाँ सरकारको स्वास्थ्यमन्त्री खेमबहादुर सारुसँगै मंगलबार बुटवलमा आएका सचिव उपाध्यायले अस्पताललाई विशेष योजनाका साथ अघि सारिएकाले यहाँ रहेका सबै कर्मचारीले त्यही योजनाअनुसार काम गर्नुपर्ने बताए ।

उपाध्यायले लुम्बिनी प्रदेशको कुल बजेटको १५ प्रतिशत स्वास्थ्य मन्त्रालयका लागि र मन्त्रालयको कुल बजेटको ५० प्रतिशत रकम लुम्बिनी प्रादेशिक अस्पतालका लागि छुट्याइएको जानकारी दिए ।

स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रदेशको समग्र स्वास्थ्य क्षेत्र सुधार्न प्रादेशिक अस्पताल यो प्रदेशकै लाइफलाइन भएको बताए ।

‘म मन्त्री रहेसम्म स्वास्थ्य क्षेत्रमा सुधारका काम गर्नेछु, यदि राम्रो गर्न सकिनँ भने नराम्रो मबाट कुनै हालतमा हुने छैन’, उनले भने, ‘सरुवाबढुवाको नाम लिएर र विभिन्न प्रलोभन लिएर मकहाँ कोही नआउनु होला, अस्पताल सुधार गर्ने तपाईंहरुको योजनामा प्रदेश सरकार पूर्णतः साथमा छ ।’

उनले अस्पतालमा बेवास्ताका कारण अध्यक्ष र मेसुले काम गर्न नपाएको र यो समस्या पनि छिट्टै हल हुने विश्वास दिलाए ।

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले जुनसुकै सरकारले नियुक्त गरे पनि अध्यक्षले ३ वर्षे पूरा कार्यकाल बिताउन पाउनुपर्ने बताए ।

अध्यक्ष पद कार्यकारी नभै राजनीतिक पद भएको र यसलाई सोहीअनुसार लिन आग्रह गर्दै उनले सरकारैपिच्छे विकास समिति फेरिरहने हो भने अस्पतालको विकास हुन नसक्ने बताए ।

अस्पतालका प्रमुख एवं प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीले आफूले एक महिनादेखि यस अस्पतालमा जिम्मेवारी सम्हाल्नुपरेको भन्दै जसका कारण निर्देशकको हैसियतले गर्ने अन्य काम कारवाहीहरु ओझेलमा परेको बताए ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले हाल ६०० बेड सञ्चालनमा रहेको अस्पतालमा स्तरोन्नतिपछि १२ सय बेड सञ्चालन हुने बताए ।

निमित्त मेसुको जिम्मेवारीका विषय अदालतमा मुद्दा परेपछि प्रदेश सरकारले स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गिरीलाई यहाँ काजमा खटाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर