इरानविरुद्ध नेपालको सुझबुझपूर्ण प्रदर्शन – Nepal Press

इरानविरुद्ध नेपालको सुझबुझपूर्ण प्रदर्शन

पोखरा । इरानलाई सोझो सेटमा पराजित गर्दै नेपाल घरेलु मैदानमा जारी काभा वुमन्स भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लिग चरणमा इरानसँग पराजित भएको नेपाल सेमिफाइनलमा शानदार पुनरागमन प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको हो ।

सोमबार भएको लिग चरणको खेलमा नेपाल इरानसँग ३–२ सेटले पराजित भएको थियो । त्यसको दुई दिनपछि भएको खेलमा भने नेपालले इरानलाई ३–० को सोझो सेटमा पराजित गर्न सफल भयो ।

इरान र नेपालको यो तेस्रो भेट हो । यसअघि भएका दुवै खेलमा नेपाल पराजित भएको थियो । सन् २०१७ मा भएको एफआईभिबी वुमन्स भलिबल क्वालिफिकेसनमा इरानसँग नेपाल सोझो सेटमा पराजित भएको थियो ।

मंगलबार भएको खेलमा नेपालले इरानमाथि ऐतिहासिक जित निकालेको हो । आइतबार भएको खेलमा नेपालको डिफेन्स लाइन केही कमजोर देखिएको थियो । तर, म‌ंगलबार भएको खेलमा डिफेन्सलाई सुधार गर्दै नेपालले इरानमा पुनरागमन जित दर्ता गर्यो ।

पहिलो सेटमा सहज जित निकालेको नेपालको दोस्रो सेट भने प्रतिस्पर्धात्मक भएको थियो । २४–२१ को सेट पोइन्टलाई उल्टाउँदै नेपालले दोस्रो सेटमा २८–२६ को जित निकालेको थियो । तेस्रो सेटमा पनि नेपालले सहज जित निकालेको थियो ।

इरानका सबै खेलाडी २१ वर्षमुनिका थिए । त्यसमा पनि एक जनाबाहेक सबै खेलाडी १९ वर्षमुनिका थिए । त्यसैले कुन खेलाडी कस्तो खेल्छ भन्ने जानकारी नेपालसँग थिएन । ९ वर्षअघि नेपालविरुद्ध खेलेका कुनै पनि खेलाडी अहिलेको टीममा थिएनन् । इरानको युवा टोलीमा सबैको फिटनेस र चलाखी नेपालले बुझ्न सकेको थिएन ।

तर, नेपालले दोस्रो खेलअघि इरानको टीमको फरमेशन बुझ्न सफल भयो । खेलअघि इरानको कमजोर र बलियो पक्ष औँल्याउन नेपाली टोली सफल भयो । सोही कमजोर पक्षलाई टार्गेट गर्ने र यसअघि भएका आफ्नो कमजोरीलाई सुधार गर्ने योजना नेपालले बनायो ।

उक्त योजना सफल हुँदा नेपालले इरानमाथि शानदार जित दर्ता गर्यो । लिग चरणमा भारतलाई हराएको नेपाल इरानसँग पराजित हुँदा पनि अङ्कतालिकामा खासै फरक परेन । तर, म‌गलबार भएको सेमिफाइनलमा यदि इरानसँग पराजित हुन्थ्यो भने नेपाल घरेलु मैदानमा भएको प्रतियोगितामा सेमिफाइनलबाट बाहिरिनुपथ्र्याे । त्यस कारण नेपालले सुझबुझपूर्ण योजना बनायो र सफल पनि भयो ।

नेपाली टोलीकी स्पाइकर निरुता ठगुन्नाले पहिलो खेलमा इरानको खेल बुझ्न नसक्दा पराजित भएको बताइन् । अघिल्लो खेलको कमजोरी सुधार गर्दा दोस्रो खेलमा जित हासिल गरिएको उनको भनाइ छ ।

‘हाम्रो डिफेन्स अलि कमजोर भएर उनीहरूले स्पाइक कसरी हान्छ भनेर पहिलो दिन त्यति थाहा थिएन । जब हामी खेल्दै गयौँ । अन्तिम अन्तिममा खेलहरू मिलिराखेको थियो । खेलपछि दोहोर्याएर हेरौँ । आआफ्नो पोजिसनलाई सुधार्ने कुराहरू गुरुले भन्नुभयो । त्यही कुरालाई सुधार गरेर राम्रो गर्यौँ,’ उनले भनिन् ।

नेपाली टीमका प्रमुख प्रशिक्षक जगदीश भट्टले योजनाअनुसार खेल्दा नेपालले इरानमाथि जित हासिल गरेको बताउँछन् । लामो समयपछि इरानसँग खेल्दा अतालिएका कारण अघिल्लो खेलमा पराजित हुन पुगेको भट्ट सुनाउँछन् ।

उनी भन्छन्, अलिकति भारतसँग खेल्दाखेरि प्रेसराइज भयो । रिकभरि पनि पुगेन । पहिलो पटक इरानसँग खेल्दाखेरि आत्तिएर खेलेको हो । हामीले उनीहरूको हरेक पार्टलाई नियालेर, स्कटिङ गरेर, धेरै अध्ययन गरेर त्यहीअनुसार खेलाडीलाई हिजोदेखि मोटिभ गरेका थियौँ ।’ उनले थपे, ‘हाम्रो कमजोर र बलियो पाटोलाई ध्यान दिएर खेल्ने योजना थियो । सोही योजनाअनुसार खेल्दा हामीले जित हासिल गर्यौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *