कानून समूहका दुईजना सचिवमा बढुवा, दुई सचिवको सरुवा
काठमाडौं । कानून समूहका दुई सहसचिव सचिवमा बढुवा भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई सचिवलाई बढुवा गर्दै पदस्थापन गरेको हो ।
न्याय सेवा आयोगको बैठकले साउन १५ गते दुई सहसचिवको सचिवमा बढुवा गर्न सिफारिस गरेको थियो । न्याय सेवातर्फका कानून समूहका सहसचिव आलोकचन्द्र श्रेष्ठ र पाराश्वर ढुङगाना सचिव बढुवामा सिफारिस भएका थिए ।
श्रेष्ठ रक्षा मन्त्रालय तथा ढुंगाना कानुन आयोगमा कार्यरत थिए । उनलाई कानुन सेवा आयोगमै पदस्थापन गरिएको छ । बढुवा भएका अर्का सचिव ढुङगानालाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदस्थापना गरेको छ ।
यस्तै बैठकले दुई जना सचिवको सरुवा सहमति स्वीकृत गरेको छ । बैठकले उदयराज सापकोटालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा सरुवा गर्दै त्यहाँका सचिव फणीन्द्र गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको हो ।
न्याय सेवा आयोगले १५ गते बिहीबार दुई सचिवको सरुवा सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले सोही सिफारिसलाई सदर गर्ने निर्णय गरेको हो ।