सूर्यविनायक-रत्नपार्क द्रुत बस सेवा कति सफल ? – Nepal Press

सूर्यविनायक-रत्नपार्क द्रुत बस सेवा कति सफल ?

काठमाडौं । काठमाडौंको सडक जामलाई कम गर्न उद्देश्यले सञ्चालनमा आएको द्रुत बस सेवा निरन्तर सञ्चालनमा छ । कार्यालय समयमा दैनिक ३९ देखि ५१ वटा द्रुत बसले सेवा दिइरहेको यातायात व्यवस्था विभागले जनाएको छ । भक्तपुरको सूर्यविनायक र रत्नपार्कमा यात्रुको भीड कम गर्न तथा यात्रुको सुविधा अभिवृद्धि गर्ने उद्देश्यले शहरी यातायातको महत्त्वपूर्ण अङ्गका रूपमा द्रुत बस सञ्चालनमा ल्याइएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागको सक्रियतामा २०८० साल असोज ३ गते संविधान दिवसको अवसर पारेर द्रुत बस सेवा सुरु गरिएको थियो । बीचमा केही समय द्रुत बस रोकिएको थियो । शिक्षक आन्दोलन, दसैं र तिहारको बेला द्रुत बस बन्द भएको थियो । माघदेखि असारसम्म द्रुत बस नियमित सञ्चालनमा रहेको विभागले जनाएको छ ।

विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले द्रुत बसमा यात्रुको चाप रहेको बताए । उनले भने, ‘अहिले दैनिक ३९ देखि ५१ वटासम्म द्रुत बस सञ्चालनमा छन् । काठमाडौंको जामलाई मध्यनजर राखेर द्रुत बस सञ्चालन गरेको हो । त्यहीअनुसार बस सञ्चालन भइरहेको छ ।’

उनका अनुसार बसको क्षमताभन्दा ३० प्रतिशत धेरै यात्रुले द्रुत बस सेवा लिएको पछिल्लो ६ महिनाको तंथ्याकले देखाउँछ ।

‘विभागले यसरी नै काठमाडौंको जाम कम गर्न सकिन्छ भन्ने रोडम्याप बनाएको छ । अब अन्य ठाउँमा प्रदेश सरकार वा अन्य सम्बन्धित निकायले पनि यसरी द्रुत बस सञ्चालन गर्नसक्छ’, महानिर्देशक रिजालले भने, ‘अब विभागले थप रुटमा द्रुत बस सञ्चालन गर्नेछैन ।’

द्रुत बस सञ्चालन गर्न विभागले करारमा ३ जना कर्मचारी व्यवस्था गरेको छ । ३ जना कर्मचारीले द्रुत बसको डाटा सङ्कलन गर्ने गरेका छन् । तीन कर्मचारीबाहेक द्रुत बसका लागि सरकार एवं विभागले कुनै खर्च गरेको छैन । सडकमा रातो रङ्ग लगाउने काम सडक विभागले गरेको थियो । द्रुत बसको लागि सडक लेन र लाइटहरूको व्यवस्था पनि सडक विभागले नै गरेको थियो । रातो रङ्ग लगाउन र लाइट प्रयोगमा २ करोड २० लाख खर्च भएको सडक विभागले जनाएको छ । सोही रातो लगाइएको सडक भएर द्रुत बस गुड्छन् । यी बसलाई ट्राफिक प्रहरीले पनि सकेसम्म जाममा राख्दैनन् । जसले गर्दा समयमै गन्तव्यमा पुग्नुपर्ने यात्रु लाभान्वित हुन्छन् ।

द्रुत बस सेवामा सहभागी हुने बसहरू बिहान १०ः१५ बजेभन्दा अगाडि नै इन्ट्री हुनुपर्छ । त्यस्तै साँझ ३ः३० देखि ५ः१५ सम्म इन्ट्री भएका बसमात्रै द्रुत बसका रूपमा सञ्चालन हुन पाउने विभागले जनाएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले द्रुत बस सञ्चालनको प्रतिफल राम्रो आएको बताए ।
उनले नेपाल प्रेससँग भने, ‘द्रुत बस सोचेअनुसार नै सफल छ । यात्रुको आकर्षण पनि द्रुत बसमा देखिएको छ ।’

हजारौं गाडी गुड्ने सडकमा ५१ वटा द्रुत बसको सेवा धेरै देखिने कुरा नभएको उनको भनाइ छ । ‘राज्यले अब द्रुत बसलाई कसरी व्यापक बनाउने भनेर सोच्नुपर्ने बेला आएको छ’, वरिष्ठ उपाध्यक्ष सिटौलाले भने, ‘सूर्यविनायक र रत्नपार्कमा द्रुत बस सफल भएको छ । अब थानकोट, रिंगरोड तथा देशका अन्य शहरमा पनि द्रुत बस सञ्चालन गर्नु आवश्यक छ ।’

उनले द्रुत बसमा ठूला बस प्रयोग गरेर सवारी जाम कम गर्न सकिने औंल्याए । सार्वजनिक सवारीसाधनले समयमै गन्तव्यमा पु¥याउँछ भन्ने भएपछि निजी कार, बाइक र स्कुटरको सङ्ख्या आफैं घट्ने उनको दाबी छ ।

‘द्रुत बसलाई व्यापक बनाउने हो भने नेपालको सार्वजनिक यातायात सुधार हुने अवस्था छ । द्रुत बसलाई राज्यले एम्बुलेन्स बराबरको मान्यता दिएर यसलाई विस्तार गर्दै लैजानुपर्छ’, वरिष्ठ उपाध्यक्ष सिटौलाले भने ।

द्रुत बस चालक केदारप्रसाद हुमागाईंले अन्य बसमा भन्दा द्रुत बसमा यात्रुको चाप धेरै रहेको बताए । उनले भने, ‘अन्य बसभन्दा द्रुत बसले समयमै गन्तव्यमा पुर्‍याउने भएको हुँदा यात्रुले द्रुत बस चढ्ने गरेका छन् ।’

उनले द्रुत बस चलाएवापत यातायात व्यवस्था विभाग र अन्य ठाउँबाट आफूहरुले कुनै सेवा सुविधा नभएको बताए ।

द्रुत बसमा चल्ने सबै बस निजी क्षेत्रका हुन् । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच सहमतिमा द्रुत बस सञ्चालनमा ल्याइएको हो । द्रुत बसको भाडा अन्य सार्वजनिक यातायात बराबर नै रहेको छ ।

बीचमा रोकिएको द्रुत बस अङ्ग्रेजी वर्ष २०२४ देखि नयाँ ढङ्गले पुनः सञ्चालनमा ल्याइएको थियो । विभागले जनवरीदेखि जुनसम्मको सेवा अवधिबारे अध्ययन पनि गरेको छ । जनवरी र जुनभित्र द्रुत बस सेवा मासिक ८ हजार ३६४ यात्रुले लिएको विभागले बताएको छ । विभागका अनुसार जनवरीदेखि जुनसम्म प्रतिमहिना औसत १ हजार ७१४ पटक द्रुत बसले सेवा दिएको थियो ।

४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्कको यात्रा !

द्रुत बसले सूर्यविनायकदेखि रत्नपार्कसम्म ४५ मिनेटमा यात्रा गर्ने लक्ष्य राखिएको थियो, तर उक्त दूरी पूरा गर्न द्रुत बसले औसत ४५ मिनेट ५७ सेकेन्ड लगाएको विभागले जनाएको छ ।

विभागका अनुसार रत्नपार्कदेखि सूर्यविनायकसम्म पुग्न द्रुत बसले औसतमा ५६ मिनेट ९ सेकेन्ड लगाएको तथ्यांक छ । लक्ष्य समयभन्दा यो ११ मिनेट ९ सेकेन्डले बढी हो ।

द्रुत बस ट्र्याकिङ गर्न ‘एक्सप्रेस बस सेवा नेपाल’ सफ्टवेयरको प्रयोग

तैपनि यात्रुले द्रुत बस सेवाको प्रभाव प्रत्यक्ष अनुभव गरेको विभागले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । विभागले द्रुत बस सञ्चालन र यात्रुको तथ्याङ्कको रियल टाइम ट्र्याकिङ, उचित व्यवस्थापन र अनुगमन सुनिश्चित गर्न एक डेडिकेटेड सफ्टवेयर प्रणाली, ‘एक्सप्रेस बस सेवा नेपाल’ प्रयोगमा ल्याएको छ ।

रत्नपार्क, कोटेश्वर र सूर्यविनायक रुटमा सञ्चालित एक्सप्रेस बस सेवामा सन् २०२४ जनवरीदेखि जुनसम्ममा ४ लाख ८५ हजार ८९१ जनाले द्रुत बसमा यात्रा गरेका छन् । सो अवधिमा द्रुत बसले ९ हजार ३५६ पटक सेवा दिएका थिए ।

शुक्रबार बढी चढ्छन् यात्रु

प्रत्येक बसको ४० जना यात्रुको क्षमता हो । त्यसमध्ये औसतमा एउटा बसमा ५० जनाले यात्रा गर्ने गरेको विभाग बताउँछ । ६ महिनाको तथ्याङ्क हेर्दा सबैभन्दा बढी यात्रुको चाप शुक्रबार रहेको विभागले बताएको छ ।

कूल यात्रुमध्ये शुक्रबार १८.१० प्रतिशत, मंगलबार १७.३१, बुधबार १७.१५, बिहीबार १६.२९, आइतबार १५.७४, सोमबार १४ र शनिबार १.४२ प्रतिशतले द्रुत बस सेवा प्रयोग गरेको विभागको तथ्यांक रहेको छ ।

कोटेश्वरदेखि रत्नपार्कसम्म चढ्ने र ओर्लने यात्रु बढी

द्रुत बस सेवाअन्तर्गत कोटेश्वरदेखि रत्नपार्क र रत्नपार्कदेखि कोटेश्वरसम्म चढ्ने यात्रु बढी रहेको विभागले जनाएको छ । विभागका अनुसार जनवरीदेखि जुनसम्ममा कोटेश्वरदेखि रत्नपार्क र रत्नपार्कदेखि कोटेश्वरसम्म यात्रा गर्ने यात्रुको सङ्ख्या ३ लाख ७० हजार ९२१ रहेको छ । त्यस्तै सूर्यविनायकदेखि कोटेश्वर र कोटेश्वरदेखि सूर्यविनायकसम्म यात्रा गर्ने यात्रुको सङ्ख्या ३ लाख ४३ हजार २१४ रहेको छ ।

विशेषगरी कोटेश्वर र सूर्यविनायक स्टेसनहरूमा यात्रु क्षमता र वितरण उल्लेखनीय रहेको विभाग बताउँछ ।

‘खासगरी रत्नपार्कदेखि माइतीघर, नयाँ बानेश्वर हुँदै कोटेश्वर पुग्ने सन्दर्भ होस् वा सूर्यविनायकबाट राधेराधे, ठिमी, गठ्ठाघर, कौशलटार हुँदै कोटेश्वर पुगेको सन्दर्भमा, सबैभन्दा बढी यात्रुले द्रुत बसबाट यात्रा गरेको देखिन्छ’, विभागका महानिर्देशक रिजाल भन्छन्, ‘उदाहरणका लागि जुन महिनामा कोटेश्वरमा ८० हजार ३६४ यात्रुले यो सेवा लिएका छन् । एक महिनामा ८० हजारभन्दा धेरैले यात्रा गर्नु कम होइन ।’

कसरी बनेको थियो द्रुत बस चलाउने योजना ?

नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७९ साल चैत ३० गतेको निर्णयानुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा समिति बनेको थियो । समितिले यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा उपत्यकाभित्र डेडिकेटेड लेनमा ठूला बस सञ्चालन गर्न अध्ययन प्रतिवेदन पेस गर्नेगरी कार्यदल गठन गरेको थियो ।

कार्यदलले तोकिएको कार्यसर्तबमोजिम २०८० साल असार २२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसमक्ष अध्ययन प्रतिवेदन पेस गरेको थियो । उक्त कार्यदलले पहिलो चरणमा कार्यालय समयमा द्रुत बस सञ्चालन गर्न सुझाएको थियो ।

कार्यदलले निश्चित रुटको पहिचान, भौतिक पूर्वाधार तथा व्यवस्थापकीय सुधार, यातायात प्रणालीमा सुधार तथा बस स्टपको सङ्ख्या निर्धारण, ट्राफिक व्यवस्थापनलगायतका विषयमा स्थलगत अवलोकन तथा अध्ययन गरी सञ्चालनको मोडालिटी तयार गर्ने तथा ट्राफिक व्यवस्थापनमा तत्काल सुधार गर्नुपर्ने विषय प्रतिवेदनमार्फत सिफारिस गर्नुपर्ने कार्यादेश पाएको थियो ।

डेडिकेटेड लेनमा ठूला बस सञ्चालनमा ल्याउने र पहिलो चरणमा रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन गर्नेलगायतका निर्णय गरिएको थियो । २०८० साल असोज ३ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवा सञ्चालनको उद्घाटन गरेका थिए ।

प्रारम्भिक चरणमा दुइटा बसबाट रत्नपार्क-सूर्यविनायक-रत्नपार्क द्रुत बस सेवा सुरु गरिएको थियो । त्यसपछि बस संख्या २५ वटा पुर्‍याइएको थियो । यातायात व्यवस्था विभागका अनुसार हाल द्रुत बस सेवाअन्तर्गत दैनिक ३९ देखि ५१ वटासम्म गाडी चल्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *