सरकार फेरिएपछि सुदूरपश्चिममा योजना आयोग उपाध्यक्ष र मुख्य न्यायाधिवक्ताले दिए राजीनामा
कैलाली । अघिल्लो मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले नियुक्त गरेका सुदूरपश्चिमका नीति तथा योजना आयोगका उपाध्यक्ष गणेशबहादुर विश्वकर्मा र मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् ।
मङ्गलवार मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर उनीहरूले राजीनामा दिएका हुन् ।
पूर्व मुख्यमन्त्री सोडारीले गत असार ३ मा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्यसमेत रहेका बझाङका विश्वकर्मालाई नीति तथा योजना आयोगको उपाध्यक्ष र डडेलधुराका शाहीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए ।
योजना आयोग उपाध्यक्ष विकले असार ६ गते मुख्य न्यायाधिवक्ता शाहीले असार ५ गते शपथ ग्रहण गरेका थिए ।
नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता समेत रहेका सोडारीले शुक्रवार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि सुदूरपश्चिममा कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
शाह मुख्यमन्त्री नियुक्त भएको केही दिनमै योजना आयोग उपाध्यक्ष र मुख्य न्यायाधिवक्ताले राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री शाहले दुबैका राजीनामा आएपछि स्वीकृति भने नभएको बताए ।