प्रधानमन्त्रीको निर्देशन- मध्यपहाडी राजमार्ग दोरम्बाबाट मन्थली हुँदै लैजानुस्, अहिलेको नक्सा गलत छ (भिडिओ)
काठमाडौं । केही महिनाअघि मात्र झुलाघाटदेखि चिवा भन्ज्याङसम्म पदयात्रा अभियान सञ्चालन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले मध्य पहाडी राजमार्गका कतिपय एलाइनमेन्ट नमिलेको भन्दै सच्याउन निर्देशन दिएका छन् ।
भौतिक पूर्वाधार मन्त्रीसहित मन्त्रालयका अधिकारीहरूलाई राखेर प्रधानमन्त्रीले आफ्नो स्थलगत अनुभवसहित मध्य पहाडी राजमार्ग सोझ्याउन र सय वर्षपछिको अवस्था अनुमान गरेर मानव वस्तितर्फ लैजान निर्देशन दिएका हुन् ।
हलै सडक विभागको वार्षिक समीक्षा गोष्ठीमा ओलीले मध्य पहाडी पुष्पलाल राजमार्ग अन्तर्गत रामेछापमा अनावश्यक रूपमा बाटो घुमाइएकोले त्यसलाई सोझै निकाल्नु पर्ने बताए । उनले त्यसलाई दोरम्बाबाट मन्थली हुँदै सघन वस्तिबाट लैजान निर्देशन दिए ।
ओलीले रामेछापको वारी बीपी मार्ग र पारी पुष्पलाल मार्ग गरेर दुईवटा मार्ग सँगसँगै खनिएको भन्दै त्यो काम आवश्यकताको आधारमा नभएको बताए ।
ओलीले काभ्रेबाट चौँरीखोला झरेको सडक नेपालथोकको वारी घुमाएर नभई सोझै दोरम्बाबाट गाल्पा निकालेर मन्थली झार्न निर्देशन दिएको बागमती प्रदेशका पूर्व अर्थमन्त्री समेत रहेका एमाले बागमती अध्यक्ष कैलाश ढुंगेलले बताए ।
यसअघि ढुंगेल नेतृत्वको टोलीले भौतिक पूर्वाधार मन्त्रालयमा डेलिगेशन गएर राजमार्गको एलाइनमेन्ट परिवर्तन गर्न सुझाव दिएको थियो ।
त्यसलगत्तै प्रधानमन्त्री ओलीले आफूले यसअघि मध्य पहाडी यात्राका क्रममा गलत ठाउँमा राजमार्ग लगेको देखेर बाटो परिवर्तन गरी दोलालघाटबाट दोलखा हुँदै रामेछापको यात्रा तय गरेको बताए ।
ओलीले भने- पुष्पलाल हाइवेको एलाइन्मेट चेञ्ज गर्नै पर्छ । वरी बिपी मार्ग, पारी पुष्पलाल मार्ग । खोलावारी एउटा राजमार्ग, पारी अर्को, त्यो खोलाको व्युटिफिकेशनको लागि हो कि आवश्यकताको लागि ? खोला आफैँ सुन्दर छ । बाटो भनेको मानव वस्ति जता छ त्यताबाट लगे हुन्छ । मैले त्यसको नक्सा र बाटो हेरेपछि त्यसलाई छाडेर बाटो बदलेर दोलालघाट हुँदै दोलखाबाट गएँ । अहिले पिच गरेको छैन,केही भएको छैन अहिले नै सय वर्षपछि त्यो चल्ने गरी बाटो सोझो बनाउनुस् । त्यो भीमार अब बस्ती बस्नेवाला छैन । बाँदरको समेत संख्या बढ्नेवाला छैन, किनकि त्यहाँ रुखापात केही छैन । किन लाने त्यहाँ बाटो ? माथि दोरम्बातिरबाट शैलुङको फेदी दलबाट मन्थलीतर्फ लैजाने हो ।
ओलीले नेताको दबाबमा होइन आवश्यकता अनुसार काम गर्न निर्देशन दिँदै अहिलेको सरकारकै पालामा राजमार्ग सोझ्याउन निर्देशन दिए । कसैका दबाब आए आफूलाई भन्न समेत प्रधानमन्त्रीले आग्रह गरे ।
ठिकभनेछन।मानव वस्तीका लागि हाे बाटाे।