प्रचण्डको घोषणा- अब म प्रधानमन्त्री बन्दिनँ, २०८४ मा एक नम्बर पार्टी भयो भने सोचौंला (भिडिओ)
'मेरो जोस २२-२५ वर्षको जस्तो छ, माओवादी एक्लै लड्दा कांग्रेस-एमालेसँग मिलेको भन्दा धेरै सीट आउँछ'
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुट्दैछ भन्ने सोच्न आवश्यक नभएको बताएका छन् ।
पेरिसडाँडामा आयोजित हुम्ला-काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीबाट फुटेकाहरु जुट्ने ठाउँमा आइपुगेको बताए ।
उनले भने, ‘तपाईंहरुलाई चिन्ता छ, पार्टी के हुन्छ, गुटहरू छन्, गुटैगुट, पार्टी फेरि फुट्ने पो हो कि ? म के भन्न चाहन्छु भने पार्टी अब फुटतिर होइन, हिजो फुटेकाहरू पनि सबै जुट्नेतिर आएका छन् । छिट्टै तपाईंहरूले समाचार सुन्नुहुनेछ । हिजो माओवादीबाट अलग भएर धेरै गर्छौं भन्ने सपना बोकेका साथीहरूले पनि अब एकता गर्नुको विकल्प छैन भन्ने निर्णय गर्नुभएको छ ।’
उनले माओवादी छाडेर गएकाहरु छिट्टै पार्टी एकतामा आउने विश्वास व्यक्त गरे ।
प्रचण्डले थपे, ‘यो पार्टी फुट्ने होइन, फुटेका साथीहरू पनि जुट्ने परिस्थिति बन्छ, म त्यसको एक पटक फेरि नेतृत्व गर्ने आँट मैले गरेको छु । हाम्रोभित्र तपाईंहरूले सुन्नुभएको छ, यस्तो भयो, त्यस्तो भयो आदि इत्यादि । यो पार्टीलाई कुनै हालतमा फुट्न दिइँदैन । फुटेकालाई जुटाइन्छ । फुटहरू जो छन्, तिनलाई यो पटक कार्यक्रममार्फत अन्त्य गरिन्छ ।’
उनले सशक्त कार्यक्रममार्फत गुटबन्दीको अन्त्य गर्ने सुरुवात गरेको बताए । उनले भने, ’मैले एकचोटी विद्रोहको झण्डा उठाइसकें, प्रतिक्रान्तिविरुद्ध क्रान्तिको झण्डा हो । प्रतिनिधिसभाको मेरो वक्तव्य समाजवादी क्रान्तिको लागि मेरो विद्रोह हो भन्ने बुझे हुन्छ । हामीले जित्नुको विकल्प छैन ।’
उनले आफू जीवनको उत्तरार्द्धतिर भए पनि जोस २२-२५ वर्षको भन्दा कम नभएको जिकिर गरे ।
२०८४ सम्म जनतामा गएर पार्टी बनाउने संकल्प गरेको बताउँदै उनले भने, ‘कतिपयलाई लाग्ला मौका मिल्नेबित्तिकै प्रचण्ड फेरि प्रधानमन्त्री बन्न गइहाल्छ कि भन्ने ! अब म यो कार्यकालमा प्रधानमन्त्री हुन्न । पार्टी बनाउने संकल्प मैले लिएको छु । प्रधानमन्त्री अब पुग्यो अहिलेलाई । भोलि एक नम्बर पार्टी भयो भने के गर्ने त्यही बेलामा सोचौंला ।’
उनले अब आफूहरु जनता र कार्यकर्ता खोज्न हिँड्दै गर्दा सरकार नै माओवादीलाई खोज्दै आउँछ कि भन्ने डर रहेको बताए । उनले अब जस्तो स्थिति भए पनि नआत्तिकन जनता र कार्यकर्तामा जाने बताए ।
प्रचण्डले अहिलेको गठबन्धन डरमा आधारित रहेको भन्दै भ्रष्टाचारीलाई संरक्षणका लागि बनाइएको जिकिर गरे ।
उनले भने, ‘हाम्रो बहिर्गमन जीतको हो, हारको होइन । हामीले भ्रष्टाचारको फाइल खोलेकै कारण जबरजस्ती नेतृत्वबाट हटाइएको हो । मैले संसद्मा गरेको सम्बोधन एउटा सम्बोधनमात्रै होइन, त्यो प्रतिक्रान्तिका विरुद्ध नयाँ क्रान्तिको लागि गरिएको अर्को अपिल पनि हो ।’
सरकारले भ्रष्टाचारका फाइल खोलेपछि भ्रष्टाचारीहरु डराएर षड्यन्त्र गरेर हराएको उनले जिकिर गरे । आफूहरु सरकारबाट जितेको महसुस गर्दै बाहिरिएको जिकिर गर्दै सरकारमा बस्नेहरु थरथर कामेर गएको प्रचण्डले सुनाए ।
उनले अग्रगमनको लागि भए आफूहरु संविधान संशोधनको लागि तयार रहेको बताए । उनले थपे, ‘हामी पटकपटक अरुसँग मिलेर चुनाव लड्दा कताकता हाम्रो पहिचान, माओवादी भनेको त साँचै सिंह हो नि, एक पटक गर्जेपछि सबैको सात्तो जानुपर्ने हो। त्यसकारण मैले भनेको छु छलफल हुँदैछ हामी २०८४ मा सिंगल चुनाव लड्ने हो । आफ्नो खुट्टामा उभिएर १६५ वटै क्षेत्रमा चुनाव लड्ने हो । सबै प्रदेशमा चुनाव लड्ने त्यसो गर्दा अहिलेको भन्दा त्यसै पनि बढी सीट आउँछ ।’
उनले कहिले सूर्यलाई, कहिले रुखलाई भोट हाल्दा घटेर माओवादीको ३२ सीटमात्रै भएको जिकिर गरे । प्रचण्डले थपे, ‘अब तपाईंहामीले पनि आँट गर्नुपर्यो, हामी पनि एक्लै लड्ने । चाहिएन बैशाखी । एक्लै लड्दा बढी सीट ल्याइन्छ । २०६४ मा पनि एक्लै लड्यौं, ल्यायौं, विभाजन भयो हार्यौं, अहिले एकता हुँदैछ, जित्छौं । आउँछन् सबै माओवादीमा, सबैसँग कुरा भइरहेको छ । सबैलाई चाहिएको छ एकता । सबैलाई प्रचण्डको विकल्प छैन भन्ने परेको छ ।’
उनले आफू नेतृत्व छाड्न तयार रहे पनि अहिले अर्को विकल्प नभएको सुनाए । प्रचण्डले थपे, ‘मैले छाड्छु भन्दा पनि सुख पाउने स्थिति छैन । छिटोभन्दा छिटो राम्रो उत्तराधिकारीको टीम बनाउनेतिर छु । म चाहिँ अलि अर्को भूमिकामा जान पाए खुसी हुनेमा छु । मैलै लिएर बस्न खोजेको छ भन्ने बुझ्नुभयो भने ममाथि अन्याय हुन्छ, तर अहिले बेला अलि भएको छैन । त्यो बेला ल्याउनुपर्छ ।’
चौरासीको चुनावमा एक्लै गठबन्धन नगरी चुनाव लड्यो भने र माओवादीले १० सिट जित्यो भने म मुलुक छोड्छु।
सही प्रतिज्ञा ।
एक्लै निर्वाचनमा जाँदा माओवादीले प्रत्यक्ष तर्फ बढिमा ३ र समानुपातिक ५ गरेर १० सिट हुन्छ।
खै काेनी है । तेति चाहिँ हुन्छ ?
म बच्चा जन्माउन्न भनेर नि घोषणा गरे हुन्छ प्रचण्ड कमरेड! आखिर बच्चा जन्माउने पुरुषले होईन पनि! 😂😂