बंगलादेशी प्रधानमन्त्री युनुसका साथी ओझा भन्छन्- उनी गरिबीलाई संग्रहालयमा मात्रै देख्न चाहन्छन्
काठमाडौं । शेख हसिनाले सयभन्दा धेरै मुद्दा लगाएर तनाव दिएपछि विदेश निर्वासनमा रहेका मुहम्मद युनुस बिहीबार स्वदेश आउने भएका छन् । देश छोड्दा राजनीतिक रुपमा पीडित युनुस स्वदेशमा राजनीतिक रुपमा पुरस्कृत भएर आउँदैछन् ।
मंगलबार बंगलादेशी अन्तरिम सरकारको प्रमुख सल्लाहकार हुने चर्चा गरिएका उनी बुधबार प्रधानमन्त्री भएको सार्वजनिक भयो । बंगलादेशका आरक्षणविरोधी आन्दोलनबाट उदाएका विद्यार्थी नेताहरुले उनलाई प्रधानमन्त्री प्रस्ताव गरे । बंगलादेशको सेना तथा राष्ट्रपतिले स्वीकारे ।
सन् २००६ का नोबेल शान्ति पुरस्कार विजेता युनुस त्यस्ता रोचक व्यक्ति भएका छन्, जसले पुरस्कार पाएपछि सत्तामा पुग्ने अवसर पाएका छन् । त्यो पनि राजनीतिभन्दा बाहिर हुँदाहुँदै । नोबेल पुरस्कारको सूची हेर्दा सत्तामा हुँदाहुँदै इथियोपियाका प्रधानमन्त्री अभि असमदले सन् २०१९ मा पुरस्कार पाए । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २००९ मा पाए ।
अतिततर्फ जाँदा पनि पुँजीवादी दुनियाँका विन्स्टन चर्चिलदेखि समाजवादी दुनियाँका मिखाइल गोर्वाचेभले पनि नोबेल पुरस्कार पाएका छन् । युनुस जस्तै सत्तामा पुग्नु अगाडि नोबेल पुरस्कार पाउनेहरुमा आङ सान सुकी, नेल्सन मण्डेलादेखि जिम्मी कार्टरसम्म छन्, तर उनीहरु राजनीतिमा भने थिए । राजनीतिमै नभएका युनुसलाई बंगलादेशमा नोबेल पुरस्कार पाएपछि प्रधानमन्त्री पद खोज्दै आएको छ ।
युनुसका एक नेपाली साथी हुन रञ्जन ओझा । युनुससँग उनको पारिवारिक, व्यक्तिगत, आत्मीय र व्यवसायिक सम्बन्ध छ । कतिसम्म भने ओझाले आयोजना गरेका सानो व्यानरका कार्यक्रममा पनि युनुस आएका छन् । उदाहरणको लागि कोभिड कालमा शेखर कोइराला र स्वर्णिम वाग्ले वक्ता भएको कार्यक्रममा वक्ता भएर नेपाल आएका थिए युनुस ।
युनुसकी छोरी मोनिका पनि ओझाकी आत्मीय साथी हुन् । मोनिका ओझाले सञ्चालन गरेको नेपाल म्युजिकल फेस्टिभलकी सद्भावना दूत हुन् । यस्तै नेपाल स्कुल अफ एप्लाइड म्यानेजमेन्टको संरक्षकमध्ये एक हुन् मोनिका । मोनिकाको सिङ्ग फर होप र ओझाको नेपाल म्युजिकल फेस्टिभलको सहकार्यमा विभिन्न कार्यक्रम भएका छन् ।
युनुस परिवारसँगको ओझाको सम्बन्ध सन् २०१२ मा भएको थियो । भूपरिवेष्ठित देश अस्ट्रियाको भियनामा उनीहरुको जम्काभेट भएको थियो । त्यो भेट जुराउने कार्यक्रम ग्लोबल सोसल बिजनेस समिट थियो । आफ्ना साथी युनुस प्रधानमन्त्री भएकामा खुशी छन् ओझा । अहिले पनि उनी युनुससँग सम्पर्कमा छन् । युनुसले देश छोड्नुपर्दा चिन्ता लिएका ओझा स्वदेशमा प्रधानमन्त्री भएर फर्कंदा खुशी नहुने कुरै भएन ।
नेपाल म्युजिक फेस्टिभल, नेपाल स्कुल अफ आन्ट्रप्यनरसिप तथा नेपाल स्कुल अफ अप्लाइड म्यानेजमेन्टका संस्थापक ओझा युनुसको आर्थिक साक्षरता, महिलालाई सबल बनाउने कार्यक्रम, उद्यमशीलता प्रवर्द्धन तथा गरिबी निवारणका क्षेत्रमा गरेको नेतृत्वदायी कामको तारिफ गर्छन् ।
‘मेरो लागि युनुस हाम्रो समयका सबैभन्दा महान सामाजिक उद्यमी हुन् । उनको ग्रामीण बैंक सामाजिक अभियानले लाखौं रोगजारी सिर्जना गरेको छ । धेरै महिलालाई गरिबीबाट बाहिर ल्याएको छ’, उनी भन्छन्, ‘उनले धेरै सामाजिक उद्यमी, परिवर्तनका संवाहक, सरकारी नीति निर्माताहरु, संस्थाहरु तथा प्राज्ञिक क्षेत्रमा ठूलो प्रेरणा दिएका छन् ।’
युनुसको सबैभन्दा ठूलो चिन्ता चैँ गरिबी निवारणमै भएको ओझा बताउँछन् । उनको सरकारले पनि यही कुरालाई ख्याल गर्नेमा ओझा ढुक्क छन् । भन्छन्, ‘मुहम्मद युनुस गरिबीलाई संग्रहालयमा मात्रै देख्न चाहन्छन् ।’