विपदका कारण हालसम्म १६७ जनाको मृत्यु, पछिल्लो २४ घण्टामा १२ जनाले ज्यान गुमाए
काठमाडौं । अविरल वर्षाको कारण विपद्का विभिन्न घटनामा परेर अहिलेसम्म १६७ जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका बुधबार दिउँसोसम्म बाढी, पहिरो लगायतका विपद्का घटनामा परेर उनीहरुको मृत्यु भएको हो ।
जसमा सबैभन्दा बढी गण्डकी प्रदेशमा ५२ जना, दोस्रोमा लुम्बिनी प्रदेशमा ३३ जना, बागमती प्रदेशमा ३० जना, कोशी प्रदेशमा २५ जना, सुदूरपश्चिम प्रदेशमा १० जना, कर्णाली प्रदेशमा ८ जना, मधेश प्रदेशमा ६ जना र काठमाडौं उपत्यकामा ३ जना गरेर जम्मा १६७ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।
साथै कर्णाली प्रदेशमा ५१ जना, गण्डकी प्रदेशमा ४४ जना, कोशी प्रदेशमा ३७ जना, बागमती प्रदेशमा १९ जना, सुदूरपश्चिम प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा १३ जना, मधेश प्रदेशमा १० जना र काठमाडौं उपत्यकामा ११ जना गरेर जम्मा १९९ जना घाइते भएका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने निको भइसकेकालाई घर फर्काइसकिएको छ ।
साथै कोशी प्रदेशमा ४९ जना, काठमाडौं उपत्यकामा २८ जना, गण्डकी प्रदेशमा १४ जना, बागमती प्रदेशमा १२ जना, सुदूरपश्चिाम प्रदेशमा ५ जना र कर्णाली प्रदेशमा २ जना गरेर जम्मा ११० जनाको उद्दार गरिएको छ ।
बाढी पहिरोमा परी बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा ४ जना, कोशी प्रदेशमा २ जना, कर्णाली प्रदेशमा र सुदूरपश्चिम प्रदेशमा प्रदेशमा १–१ जना गरेर ५० जना वेपत्ता रहेका छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए ।
बाढीको कारण जम्मा ३८४ घर डुबानमा परेका छन् भने २६८ वटा घर, १०० वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७६३ वटा पशु चौपायको मृत्यु भएको छ । यसै अवधिमा विपद्का घटनाबाट ४ हजार २७२ घर परिवार विस्थापित भएका छन् ।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य गरिएको प्रहरीले जनाएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै १२ जनाको मृत्यु
यसैबीच पछिल्लो २४ घण्टाको अवधिमा मात्रै पहिरोमा परेर १२ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरोमा परेर १२ जनाको मृत्यु भएको छ भने १३ जना घाइते तथा ४ जना बेपत्ता भएका छन् ।
जसमा बागलुङको बडिगाड गाउँपालिका १० आरुपाटा स्थित एक घर र गोठ माथीबाट पहिरो आएर घर बगाउदाँ ३ महिनाको बालिका सहित ३ जना महिला र २ जना पुरुष गरेर ६ जनाको मृत्यु भएको छ भने ४ जना पुरुष र ६ जना महिला गरेर १० जना घाइते तथा ३ बालक र एक बालिका बेपत्ता रहेका छन् । स्थानीय प्रहरी टोली, स्थानीय जनप्रतिनिधि समेतको टोली खटिएर उद्दार भएको प्राधिकरणले जनाएको छ ।
बागलुङकै बडिगाड गाउँपालिका ९ दर्लिङ काभ्राखर्क बस्ने २४ वर्षका एक पुरुष घर नजिकै हिड्ने क्रममा माथिबाट आएको पहिरोमा परेर पुरिदाँ घटनास्थलमा नै मृत्यु भएको छ ।
बडिगाउड गाउँपालिका ८ कै बलघाँस स्थित एक घर माथिबाट पहिलो आउदाँ १५ वर्षका एक बालकको पहिरोमा पुरिएर मृत्यु भएको छ भने घर समेत जोखिममा रहेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा नै गुल्मीको मुसिकोट नगरपालिका १ बिसौना स्थित २ घरमा माथिबाट आएको लेदो सहितको पहिरोले घर पुरिदाँ ६७ वर्षका एक पुरुष, उनका ४६ वर्षका छोरा, ६६ वर्षका बहिनी, साढे २ वर्षकी नानिती गरेर ४ जनाको मृत्यु भएको छ भने ३१ वर्षका एक पुरुष र उनका २३ वर्षका श्रीमती घाइते भएका छन् ।