सुदूरपश्चिममा कर संकलनको गाँठो फुकाइँदै, सरकारद्वारा अध्यादेश पारित – Nepal Press

सुदूरपश्चिममा कर संकलनको गाँठो फुकाइँदै, सरकारद्वारा अध्यादेश पारित

कैलाली । सुदूरपश्चिम प्रदेशमा रोकिएको कर संकलन आजबाट सुचारू गर्ने सरकारले तयारी गरेको छ । प्रदेश सरकारले कर संकलनसम्बन्धी अध्यादेश पारित गरेसँगै कर संकलनको गाँठो फुकेको हो । प्रदेशमा दैनिक करिब ४० लाखभन्दा बढी कर संकलन रोकिएको थियो ।

तत्कालीन दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि असार १ गते संसद्‍मा प्रस्तुत बजेट पारित हुन नसकेपछि साउन १ देखि प्रदेश बजेट शून्यताको अवस्था आएको थियो ।

बजेट र सम्बन्धित ऐनहरू असार मसान्तभित्र प्रदेशसभाबाट पारित भएमात्र सरकारले साउनबाट राजस्व उठाउन र खर्च गर्न पाउने कानूनी व्यवस्था छ । अहिले दुवै रोकिएको छ । ठूला खर्चहरू नभए पनि सामान्य खर्च भने उधारोमै चलिरहेको छ ।

आज सरकारले अध्यादेश ल्याएसँगै कर संकलनको बाटो खुलेको आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले जानकारी दिए । उनका अनुसार प्रमाणीकरणको लागि आजै प्रदेश प्रमुखसमक्ष अध्यादेश पुर्‍याइने छ । अध्यादेश प्रमाणीकरणपछि राजपत्रमा प्रकाशित गर्ने कर संकलन सुरू गर्ने तयारी गरिएको सचिव अधिकारीले बताए ।

सुदूरपश्चिम प्रदेशमा अघिल्लो वर्ष साउन महिनामा मात्रै साढे १२ करोड राजस्व संकलन भएको थियो । तर,अहिले समयमा बजेट पारित नहुँदा राजश्व संकलन ठप्प छ ।

प्रदेश सरकारले ल्याउन लागेको अध्यादेशमा गत आर्थिक वर्षकै करका दरहरू राखिएका छन् । यसपालि प्रस्तुत भएको बजेटमा यातायात करमा केही संशोधन गरिएको भएपनि, बजेट पास नभएकाले तत्कालका लागि अध्यादेशमा पुरानै करका दरहरू समावेश गरिएको आर्थिक मामिला मन्त्रालय स्रोतले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *