हवाई उड्डयन क्षेत्रको समस्या र समाधान खोजीका लागि आयोग गठनको तयारी (भिडिओ)
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समग्र हवाई उड्डयनको क्षेत्रमा अध्ययन गर्नका लागि सरकारले आयोग बनाउन लागेको बताएका छन् ।
बिहीबार सिंहदरबारमा संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाबारे जानकारी गराउँदै उनले समग्र हवाई उड्डयनको क्षेत्रमा देखिएको समस्या समाधानका लागि पनि प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद् बैठकले मन्त्रालयलाई आयोगमार्फत् समग्र अध्ययन गर्न निर्देशन दिएको बताए ।
गएराति पनि अबेरसम्म प्रधानमन्त्री ओलीले आफू र मन्त्रालयका सचिवसँग सो विषयमा छलफल गरी त्यस क्षेत्रको समस्या समाधान हुनेगरी आयोग बनाउन निर्देशन दिएको पाण्डेको भनाइ छ ।
उनले भने, ‘अब चाहीँ यसलाई समग्रमा अध्ययन गर्नुपर्छ, हाम्रो सिष्टममाथि नै अध्ययन गर्नुपर्छ । त्यसैले यसको समग्र अध्ययनका लागि अव मन्त्रालयले प्रश्ताव गरोस । आउने क्याविनेटको बैठकमा हाम्रो सिस्टममाथिकै के समस्या हो, नीतिगत समस्या हो कि, कानूनी समस्या हो कि ? संरचनागत समस्या हो कि ? प्राविधिक समस्या कहाँ छन्, जनशक्ति दक्ष हुनका लागि हुने विभिन्न प्रकारका प्राविधिक तालिमहरूको स्थिति के हो ? अनुगमनको स्थिति के हो ? यो नियमनको स्थिति के हो ? भन्नेमा समग्र अध्ययनाका लागि एउटा आयोग बनाएर नै अध्ययन समिति बनाएर नै अघि बढ्ने गरी मन्त्रालयलाई उहाँहरूले निर्देशन दिनुभएको छ । त्यसपछि पनि म र सचिवज्युसमेत राति प्रधानमन्त्रीज्युसँग समेत यो विषयमा थप छलफल पनि गरेका छौं । हामी धेरै रातिसम्म छलफलमा नै थियौं ।’