एआईजीपीमा बढुवा भएका जोशीलाई दर्ज्यानी चिन्ह प्रदान – Nepal Press

एआईजीपीमा बढुवा भएका जोशीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डीआईजीपी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी)मा बढुवा भएका रामदत्त जोशीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले जोशीलाई डीआईजीपीबाट एआईजीपीमा बढुवा गरेको थियो ।

यस्तै प्राविधिक प्रहरी नायव उपरीक्षक (डीएसपी) बाट प्राविधिक प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका प्राविधिक प्रहरी उपरीक्षक इन्जिनियर दिपेश जोशीलाई समेत प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । गृह मन्त्रालयको जेठ १३ गतेको सचिवस्तरीय निर्णयअनुसार जोशी डीएसपीबाट एसपीमा बढुवा भएका थिए ।

दर्ज्यानी चिन्ह प्रदान गर्दै प्रहरी महानिरीक्षक कुँवरले बढुवा भएका प्रहरी अधिकृतलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । उनले आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा प्रदर्शन गरेको दक्षता, कुशलता, इमानदारिता र राष्ट्र, जनता एवम् संगठनप्रति पुर्या्एको योगदानको उच्च मूल्याङ्कनको आधारमा बढुवा भएको बताए ।

प्रहरी महानिरीक्षक कुँवरले सांगठनिक सुदृढिकरण र संगठनको बृहत्तर हितको लागि पदोन्न्ति भएका प्रहरी अधिकृतले अझ बढी क्रियाशील र समर्पित भएर विशिष्टिकृत ढंगबाट कार्यसम्पादन गर्ने विश्वास लिएको उल्लेख गर्दै व्यक्तिगत स्वार्थ भन्दा पनि सांगठनिक हितको लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको बताए । नेपाल प्रहरीको कार्यसम्पादनको स्तरलाई नविनतम प्रविधिको प्रयोगसँगै समायानुकूल परिमार्जन गर्दै लैजानुपर्नेमा उनले जोड दिए ।

प्रहरी सेवा प्रतिको अपेक्षा एवम् गुनासो बढिरहेको र त्यसका लागि उच्च मनोबल भएको प्रहरी आवश्यक रहेको हुँदा यसतर्फ हामी सबैले मनन गरी अगाडि बढ्न जरूरी रहेको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भने, ‘हामीले चाहेको खण्डमा हामी प्रतिको समाजको दृष्टिकोण, समाजमा परिवर्तन र सुधार ल्याउन सम्भव भएकोले यो कार्यको शुरूवात आफैबाट हुन जरूरी छ । तसर्थ यो वर्दीको इज्जत बढाउनेतर्फ हरदम केन्द्रीत हुनुहोस् । यो नै हामी सबैको हितमा हुन्छ । परम्परागत सोँचाइ र शैलीलाई त्यागेर आ(आफ्नो स्थानबाट व्यावसायिक इमानदार, निष्ठावान् र कर्तव्यनिष्ठ प्रहरीको छवि बनाउने गरी दृढतापूर्वक काम गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

समारोहमा बढुवा भएका प्रहरी अधिकृतको तर्फबाट मन्तव्य राख्दै एआईजीपी रामदत्त जोशीले संगठनको नीतिलाई अंगिकार गर्दै कार्यसम्पादन गर्ने बताए । बढुवासँगै थपिएको जिम्मेवारीमा जवाफदेहिता, पारदर्शिताका साथ आफ्नो भूमिका निर्वाह गर्ने एवम् संगठनको श्रीवृद्धिमा सदैव कटिवद्ध रहने प्रतिवद्धता उनले जनाए ।

दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानको उपस्थिति रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *