विद्यार्थी आन्दोलन थेग्न नसकेपछि बुटवल क्याम्पसका प्रमुखले दिए राजीनामा – Nepal Press

विद्यार्थी आन्दोलन थेग्न नसकेपछि बुटवल क्याम्पसका प्रमुखले दिए राजीनामा

रुपन्देही । बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपाने राजीनामा दिएका छन् । नेपाल विद्यार्थी संघको आन्दोलन नरोकिएपछि बिहीबार उपकुलपतिसमक्ष उनले राजीनामा पेश गरेका हुन् ।

क्याम्पस प्रमुखबाट हस्ताक्षर गरिएको पत्रमा अस्वस्थका कारण राजीनामा दिएको उल्लेख छ । यता नेविसंघका रुपन्देही अध्यक्ष सन्दीप पाण्डेले भने आफूहरूको आन्दोलन थेक्न नसकेर क्याम्पस प्रमुखबाट राजीनामा आएको दाबी गरे ।

विद्यार्थी संगठनबीच भएको विवादका बीच प्रहरीद्वारा भएको लाठीचार्जप्रति आपत्ति जनाउँदै नेपाल विद्यार्थी संघले क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको थियो ।

बुधवार भएको लाठीचार्जमा नेविसंघका केन्द्रीय सदस्य प्रदीप घर्ती मगरसहित विद्यार्थी नेता तथा विद्यार्थीहरू घाइते भएका थिए ।

क्याम्पस प्रमुख भने ५ बजेसम्म सम्पर्कमा नआएको भन्दै तालाबन्दी गरेको बताए ।

तालाबन्दीपश्चात् इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितको नेतृत्वमा तालाबन्दी फोरेर सहायक क्याम्पस प्रमुखहरूलाई बाहिर निकाल्न खोज्दा नेविसंघले रोकेको थियो ।

बुधवार लाठीचार्ज गरेको प्रहरीले बिहीबार भने बल प्रयोग नगरी नेविसंघको छेकथुनलाई साम्य बनाउने प्रयास गरेको थियो । सोही क्रममा बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखले राजीनामा पेस गरेपछि नेविसंघले आफैँ तालाबन्दी खोलेको छ ।

यता स्ववियु अध्यक्ष दुर्गा एमसीले क्याम्पसमा बाहिरी विद्यार्थीलाई लिएर आन्दोलनको नाममा गलत प्रचार गरेको बताएका छन् ।

उनले केन्द्रीय विषयमा यहाँ तालाबन्दी गर्नुपर्ने केही नभएको र यसले सरकारी क्याम्पसमा अनावश्यक आन्दोलन हुन्छ भन्ने भ्रम फैलाएको दाबी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर