कोटीहोममा आचार्य कृष्ण दमाईको सम्बोधन- पशुपतिको चरणमा स्वर्गको महसुस भएको छ (भिडिओ) – Nepal Press

कोटीहोममा आचार्य कृष्ण दमाईको सम्बोधन- पशुपतिको चरणमा स्वर्गको महसुस भएको छ (भिडिओ)

काठमाडौं । पशुपतिमा आयोजित कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाईले ब्यासबाट सम्बोधन गरेका छन् । कोटीहोममा ब्यासमा आसिन हुने उनी दलित समुदायका पहिलो व्यक्ति हुन् ।

दमाईलाई समारोहमा भव्य स्वागत र सम्मान गरिएको थियो । सम्बोधनको सुरुवातमा उनले आफूलाई यो स्थानसम्म पुर्‍याउने गुरुहरुलाई धन्यवाद दिए । दलित समुदायमा जन्मेर पनि कसरी संस्कृत शिक्षामार्फत आकर्षित भए भन्ने उनले वर्णन गरे ।

दमाईको मन्तव्यका केही अंश उनकै शब्दमा

मलाई यो क्षेत्रमा पुर्‍याउने गुरुहरुप्रति आभार प्रकट गर्न चाहन्छु । एउट सुद्र भएर संस्कृत साहित्यलगायत अन्य कर्महरुमा मलाई समावेश गराउने आदरणीय गुरुहरुमा नमन गर्छु । मानिसले स्वर्ग जानुपर्छ भन्छन्, तर मेरो लागि त नेपाल राष्ट्रको राष्ट्रदेव पशुपति देवको चरणमा स्वर्गको महसुस भएको छ । मैले स्वर्ग प्राप्त गरेको छु ।

म विद्यालयमा पढ्दा सधैं प्रथम हुन्थें । २०६४ सालमा एसएलसी उत्तीर्ण गरें । हरेक ठाउँबाट बधाई आयो । साइन्स, म्याथ पढ्ने इच्छा नभएको होइन, तर मेरो कर्म र मेरो भाग्यले यो क्षेत्रमा डोर्‍यायो, जसले गर्दा मेरो शरीर नरहे पनि म महान गुरु ईश्वरदत्त भट्टलाई सधैं सम्झिरहनेछु । ती गुरुले मलाई शारदा विद्यापीठ महेन्द्रनगरको संस्कृत विद्याश्रममा पठाउनुभयो । भाषा प्रशिक्षण उत्तीर्ण गरेपछि छात्रवृत्ति पाएर सोचेको ठाउँमा पढ्न सक्छस् भनेर बाटो देखाउनुभयो । त्यो पवित्र ठाउँमा पुगेपछि गुरुहरुको आशीर्वादले माया र प्रेरणाले यहाँसम्म पुगें । गुरुहरुलाई पुनः शीर झुकाइ अर्पण गर्न चाहन्छु ।

कतिपय मानिसहरुले धरै कुरा भने । यो दमाईको छोराले संस्कृत पढेर हाम्रो कर्मकाण्ड गर्ने हो र भन्थे । मलाई गुरुले धेरै कुरा भनेर जानुभएको छ । मैले धेरै भन्नुपर्ने अवस्था छन् । मैले कर्मकाण्डका लागि होइन, आफ्नो विद्वताका लागि, आफ्नो सनातनका लागि जन्मभूमिका लागि यो विषय अध्ययन गरेको हुँ ।

मैले आफ्नो माता र पिता गुमाइसकेको अवस्था हो । १२ मा पढ्दा माताको मृत्यु भएको थियो । साह्रै भौतारिएको थिएँ । ८ वर्षपछि २०७८ सालमा बुवाले पनि देहत्याग गर्नुभयो । बुवाले भन्नुहुन्थ्यो- कृष्णबाबु तिमी एक दिन असल मान्छे बन्नू । म आज प्रत्येक शुभकार्यमा मातापिता र गुरुदेवलाई कोटीकोटी प्रणाम गर्छु ।

मैले प्रस्ट रुपमा गुरुजीलाई भनेको थिएँ । मलाई यहाँसम्म पुर्‍याउनुभयो, यसरी बिराजमान गराउनुभयो । पूर्वतयारी नगरेको अवस्था थियो । यसर्थ म आत्मप्रवचनको व्यवस्था गर्छु । दलित समुदायको एउटा व्यक्तिले संस्कृत शिक्षा, वेद अध्ययन पढ्नुपर्ने रहेछ भन्ने आजको यस ऐतिहासिक कोटीहोमले गरेको हुनाले म श्री विजयकृष्ण मुर्तिज्यू महाराजलाई कृतज्ञता प्रकट गर्छु । यस्तो पवित्र स्थलमा पुग्छु र बोल्छु भन्ने कल्पनै थिएन ।

हामीमा धार्मिक रुपले विध्वंस मच्चाइ एक-अर्कामा विभाजित गरी सनातनलाई सिध्याउने षड्यन्त्र भएको छ । अहिलेसम्म हिन्दू सनातनले सहँदै आएको छ । अब हामी हिन्दूत्वका लागि, सनातनका लागि एकबद्ध रहनुपर्छ । हिन्दू संस्कारलाई बचाउनु छ भने सभ्य नागरिक बनाउनु छ भने संस्कृत अभियानमा जुट्न जरुरी छ । सबैले आआफ्नो ठाउँबाट कम्मर कसेर उठ्नु जरुरी छ । एकएक शब्द होइन, लाखौं शब्दले पूर्व-पश्चिम, उत्तर-दक्षिण सबैतिर धर्मको दियो जलाउनु जरुरी छ । मेरा लागि यो एतिहासिक कोटीहोम स्वर्गमय बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर