पत्रपत्रिकाको वर्गीकरणको विषयमा प्रेस सेन्टर नेपालद्वारा प्रेस काउन्सिलको ध्यानाकर्षण
काठमाडौं । प्रेस सेन्टर नेपालले पत्रपत्रिकाको वर्गीकरणको नतिजालगायतका विषयमा प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराएको छ ।
संगठनका वरिष्ठ उपाध्यक्ष कमल गिरीको नेतृत्वमा उपाध्यक्ष लक्ष्मण खडका, ओपेन्द्र शर्मा, दिपेन्द्र रावल र महासचिव सन्तोष पौडेललगायत करिब २० जनाको टोलीले काउन्सिलको कार्यालयमा नै पुगेर अध्यक्ष बालकृष्ण बस्नेतको ध्यानाकर्षण गराएको हो ।
पछिल्लो समय प्रेस काउन्सिल नेपालले गरेको पत्रपत्रिका वर्गीकरण, पुरस्कार वितरणलगायतमा पक्षधरता देखिएको गुनासो आएको संगठनका वरिष्ठ उपाध्यक्ष गिरीले बताए । उनले काउन्सिलको विषयमा यस्तो टिप्पणी आउनु समग्र पत्रकारिताकै लागि नराम्रो हुने भन्दै गिरीले यसबारेमा काउन्सिल नेतृत्वले गम्भीर भएर सोच्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको बताए ।
पछिल्लो पटक पत्रपत्रिकाको वर्गीकरणको विषयमा आफूहरूको असहमति रहेको र त्यसलाई सच्याएर काउन्सिल अघि बढ्नुपर्ने गिरीको भनाइ थियो । कार्यक्रममा उपाध्यक्ष लक्ष्मण खडका, ओपेन्द्र शर्मा , दिपेन्द्र रावल, महासचिव सन्तोष पौडेलले लगायतले पत्रपत्रिका वर्गीकरण न्यायोचित नभएको सच्चाउनुपर्नेमा जोड दिएका थिए ।
काउन्सिल अध्यक्ष बस्नेतले काउन्सिलको सफलतामा प्रेस सेन्टर जस्ता पत्रकारका संगठनको सहयोग आवश्यक रहेको बताए । यसपटकको पत्रपत्रिकाको वर्गीकरणका विषयमा बढी गुनासो आएको उल्लेख गर्दै उनले त्यसमा पुनर्विचार गर्ने प्रतिबद्धता जनाएका छन् ।