भोजपुरमा ‘लाखे नाच’ को जगेर्ना गर्दै युवा पुस्ता – Nepal Press

भोजपुरमा ‘लाखे नाच’ को जगेर्ना गर्दै युवा पुस्ता

टक्सार (भोजपुर) । स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु भएको छ । रीतिरिवाज, भोषभूषा र संस्कृति जोगाउन युवाको सक्रियता बढेको हो ।

नेवार समुदायको मात्र लाखे नाच भन्ने परम्परा तोड्दै अहिले सबै समुदायको सहभागितामा भोजपुरमा परम्परागत जोगाउने अभियान सुरू गरिएको युवा नवीन बुढाथोकीले बताए । नागपञ्चमीका दिनदेखि सुरू हुने लाखे नाच जिल्लामा पनि आजदेखि विधिवत्‌रूपमा सुरू भएको उनको भनाइ छ ।

यसअघि नेवारी समुदायको बसोबास रहेको क्षेत्रमा यो नाच निकाल्ने गरिएकामा पछिल्लो समय परम्परा जोगाउने उद्देश्यले सामूहिक सहभागितालाई जोड दिन थालिएको उनी सुनाउँछन् ।

प्रत्येक वर्ष निकालिने लाखे नाच यस वर्ष आजदेखि सुरू भएको स्थानीय विकल श्रेष्ठले बताए ।

उनी भन्छन्, ‘विगतको परम्परागत संस्कृतिलाई निरन्तरता दिने काम युवाले गर्नुपर्छ, यसले पुस्तान्तरण हुनुका साथै परम्पराको संरक्षण र प्रवर्द्धनसमेत हुन्छ ।’

केही ठाउँमा गठे मङ्गलदेखि नाच सुरू हुने गरेको भन्दै भोजपुरमा नागपञ्चमीदेखि नचाउने प्रचलन रहेको अभियन्ता विनम श्रेष्ठले बताए । स्थानीय युवाको पहलमा परम्परादेखि चल्दै आएको संस्कृतिको संरक्षण र प्रवर्द्धनमा लागिएको उनको भनाइ छ । जिल्लाका स्थानीय मठमन्दिरको पूजाअर्चना गरी लाखे नाच सुरू गरिएको छ ।

लाखे नाचमा विभिन्न नाम दिइएका जात्रामा ढोल, झ्याम्टा बजाउँदै, ठाकठुके नाच, रोपाइँ नाच, विभिन्न हास्य व्यङ्गयात्मक कार्यक्रम, जातीय संस्कृति र परम्परा अनुसारको नाच प्रदर्शन गर्दै बजारको परिक्रमा गर्ने चलन रहँदै आएको छ ।

परम्परादेखि चल्दै आएको संस्कृतिको जर्गेना गर्नका लागि युवालाई प्रशिक्षणसमेत गर्ने गरिएको छ । बाजाको ताल, गीतको सुर, नृत्य ताल लगायत विषयमा युवालाई प्रशिक्षण दिने गरिएको स्थानीय बताउँछन् । नेपाली कला, संस्कृति, पराम्पराको संरक्षण गर्दै लाखे नाच प्रव्रद्धनमा सबै जुटनु पर्ने स्थानीयको माग छ ।

भोजपुर नगरपालिकाभित्र, बजारका साथै पानी ट्याङ्की, टक्सार, डाँडागाउँ, बोखिम दाँवालगायत क्षेत्रमा लाखे नाच नचाउने गरिन्छ । अरुण गाउँपालिका, षडानन्द नगरपालिका क्षेत्रका विभिन्न वडामा समेत लाखे नाच नचाउने परम्परा रहँदै आएको छ ।

नागपञ्चमीका दिनदेखि सुरु भएको लाखे नाच कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले कङ्सलाई नाश गरेको दिनसम्म नचाउने प्रचालन रहँदै आएको स्थानीय नवीन प्रधानले बताए । परम्परा बोकेको लाखे नाच नयाँ पुस्तालाई हस्तान्तरण गर्न युवाले ‘भोजपुर लाखे समाज’ बनाएर अग्रसरता लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर