काठमाडौंको मुटु कमलादीः कहिले सडकमा भ्वाङ, कहिले घरभित्रै पानी – Nepal Press

काठमाडौंको मुटु कमलादीः कहिले सडकमा भ्वाङ, कहिले घरभित्रै पानी

सडक भ्वाङ परेपछि निरीक्षणमा पुगेका मन्त्री दाहालको निर्देशन- सडक र सार्वजनिक यातायात सुरक्षित बनाउनू

काठमाडौं । करिब ११ वर्षपछि यस वर्ष आफ्नो घरको भुईतल्लामा पानी पसेको काठमाडौं महानगर २८ का मधुप श्रेष्ठ बताउँछन् । निकै होचो कोठाहरुमा अघिल्ला सालमा पनि पानी पस्ने गरेको भएपनि गतवर्ष कोलोनीमा ढल निर्माण गरेपछि यसको समाधान हुने विश्वास उनमा थियो । गतवर्ष होचा कोठाहरुमा लिक भएर पानी पसेपनि भुईंतल्लाका अन्य कोठाहरुमा भने पानी नपसेको उनी बताउँछन् । तर यसपालि भने हल्का वर्षा हुँदै भुईंतल्लामा ड्याम्मै पानी भरिएपछि उनी चिन्तित छन् ।

यसो हुनुमा भने ढलकाे उचित व्यवस्थापन नभएर भएकाे श्रेष्ठ बताउँछन् । ‘पहिला जमल, लाजिम्पाट, दरबारमार्ग धेरै डुबानमा हुन्थे । पछिल्लो समय त्यहाँको ड्रेन टुकुचामा मिसाउने हुँदा कमलादी एरिया डुबेको हो’, उनले भने, ‘यसको दीर्घकालीन समस्याका लागि महानगर मात्रै नभएर संघीय सरकारले चासो दिनुपर्छ ।’ ढलको निकास ठीक तरिकाले नहुँदा वर्षायाममा पानी ओभरफ्लो भएर आएको उनको बुझाइ छ । वडा कार्यालयसहित सम्बन्धित निकायले विशेष ध्यान नदिएको उनले बताए ।

साउन २२ गते मंगलबार दिउँसाे परेकाे पानीले डुबानमा परेकाे कमलादीस्थित शान्तमार्ग काेलाेनी

त्यस्तै, कोलोनीमै आफ्नो कन्सल्टेन्सी चलाएर बसेका राजभाइ श्रेष्ठ आफ्नो कार्यालयभित्रै पानी पसेपछि आजित छन् । उनले ११ वर्षसम्म यस्तो अवस्था भोग्नु नपरेपनि यो वर्ष करिब ५ पटकभन्दा बढी अफिसभित्र पानी पसेर कार्पेट, फर्निचर र कतिपय महत्वपूर्ण डकुमेन्टहरु बिग्रिएको गुनासो गरे । आफ्नो समय झरीका कारण ओभरफ्लो भएर अफिसमा पसेको पानी सफा गर्दै बित्ने उनको भनाइ छ ।

त्यस्तै, कमलादी गणेश मन्दिर नजिकै चिया पसल सञ्चालन गरिरहेकी एकजना आमा पनि यसपालि पानीले साह्रै दुःख दिएको बताउँछिन् । ‘हुन त पहिला पहिला पनि झन ठूलो पानी पर्थ्यो तर यस्तो अवस्था थिएन’, उनले भनिन्, ‘तर यो वर्ष पानी भित्रै पसेर दुःख दिएको छ । जसरी हुन्छ यसको छिट्टो समाधान गर्नुपर्यो । नत्र कसरी बाँच्नु ? कसरी पसल चलाउनु ?’

पछिल्लोपटक सक्रिय भएको मनसुनी वर्षाले आम नागरिकको मात्रै नभएर राष्ट्रिय सभागृहस्थित मेयर बालेन्द्र शाह बालेन बस्ने कार्यालय पनि डुबानमा परेको थियो । अविरल वर्षाको समयमा कमलादी, बागबजार, दरबारमार्ग तथा पुतलीसडक क्षेत्र डुबानमा परेको प्रत्यक्ष देखिएको छ । कतिपय घरहरुको भुईं तल्लामा करिब २ फिटसम्म पानी प्रवेश गर्छ ।

साउन २२ गते मंगलबार दिउँसाे परेकाे पानीले डुबानमा परेकाे कमलादीस्थित शान्तमार्ग काेलाेनी

काठमाडौंको मुटु क्षेत्र भनिएका यी क्षेत्रहरुमा यसवर्ष पानीले धेरै दुःख दिनुको कारणबारे वडाध्यक्ष भाइराम खड्गीले त्यहाँ रहेको खोलाको उचित निकास हुन नसकेर त्यस्तो भएको बताए ।

‘त्यसकाे समाधान हामी आफैं गर्छाैं । त्यहाँकाे निकासका लागि के कसरी गर्न सकिन्छ हामी हेरेर मिलाउँछाैं’, उनले भने ।

काेलानी डुबानबारे तपाईंहरुले भौतिक विकास तथा पूर्वाधार मन्त्रीलाई जानकारी नै गराउनु भएको रहेनछ त ? भनेर सोध्दा उनले यसकाे समाधान महानगरले नै गर्ने बताए । ‘वडाबाट ढलको पाइप ल्याएर समाधान गर्छौ । मान्छे डुब्ने अवस्था आउन दिन्नौं’, उनले जिकिर गरे ।

त्यस्तै, आज सडक भ्वाङ परेकाे विषयमा वडाले के गर्दैछ भन्ने जिज्ञासामा उनले उक्त सडकको व्यवस्थापन सडक विभागले गरिरहेको बताउँदै आइतबार आफूहरु सडक विभाग गएर समस्याबारे जानकारी गराउने बताए । ‘हामी आइतबार सडक विभाग जान्छौं । किनकी त्यो सडक विभागअन्तर्गत पर्दछ । यदि उहाँहरुले गर्न सक्दैनौं भन्नुभयो भने वडाले जे गर्न सक्छ त्यही गर्छौं’, उनले नेपाल प्रेससँग भने ।

काठमाडाैं महानगर वडा नं. २८ का वडाध्यक्ष भाइराम खड्गी

त्यस्तै, वडाले काठमाडौं महानगरलाई पनि जानकारी गराएको उनको भनाइ छ । जानकारी गराएर मात्रै समाधान हुन्छ त ? भन्ने प्रश्नमा उनले भने, ‘यस्तो समस्या नआउने गरी हामी काम गर्छौं । महानगरलाई नगर प्रहरी राखिदिन पनि आग्रह गरेका छौं ।’

बिहीबार राति दरबारमार्ग-काठमाडौं प्लाजाबीचको सडकमा कल्भर्टकाे टेकाे भत्किँदा भ्वाङ पर्यो । स्थानीयले सडकको अवस्थाबारे जानकारी गराएपछि निरीक्षण गर्न पुगेका प्रहरी इन्स्पेक्टर भूपेन्द्र बुढाथोकी घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । निधार र हातमा चोट लागेका उनको वीर अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् ।

भ्वाङ परेपछि रातिदेखि नै यहाँ सवारी आवागमन रोकिएको छ । ट्राफिकले अहिले यो सडक खण्ड बन्द गरेको छ । दरबारमार्गबाट काठमाडौं प्लाजातर्फ जान मिल्ने गरी यो बाटो एकतर्फी छ ।

त्यही भ्वाङ परेको सडकको अवस्था अवलोकन गर्न भौतिक विकास तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल पुगे । उक्त निरीक्षणका क्रममा उनले सडक तथा सार्वजनिक यातायातलाई सुरक्षित बनाउन मन्त्रालयका सचिव तथा सडक विभागका महानिर्देशकलाई निर्देशन दिए । अहिले वर्षायाम रहेको र विभिन्न स्थानमा सडक खाल्डा पर्ने, पहिरो जाने जस्ता समस्या भइरहेकोले सजग बनेर सुरक्षामा ध्यान दिन मन्त्री दाहालले निर्देशन गरे ।

टुकुचा छोपेर बनाइएको दरबारमार्ग-काठमाडौं प्लाजाबीचको सडकमा बिहीबार राति परेकाे भ्वाङ ।

उनले टुकुचाको उक्त कल्भर्ट भासिएकोबारे कारण पहिचान गरि दिगो समाधान गर्न निर्देशन दिएका छन् । यसलाई कसरी समाधान गर्ने भन्ने नेपाल प्रेसको जिज्ञासामा दाहालले भने, ‘पहिला यसको अध्ययन गरेर रिपोर्ट तयार गर्छौं । त्यसपछि के के गर्दा दिगो समाधान हुन्छ । त्यहीअनुसार हामी अघि बढ्छौं । पहिलो विषय यसको अध्ययन नै हो ।’

भाैतिक विकास तथा पूर्वाधार विकासमन्त्री देवेन्द्र दाहाल दरबारमार्गस्थित सडक भ्वाङ परेकाे अवस्थाकाे निरीक्षण गरेर आवश्यक निर्देशन दिएका छन् ।

त्यस्तै, मन्त्री दाहालले सडक तथा सडक किनारामा खाल्डाखुल्डी हुन नदिन र भएकालाई तुरुन्तै पुर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिए । कमलादी, बागबजार क्षेत्रमा पानी पस्ने गरेको विषयमा मन्त्रीलाई कुनै जानकारी नआएको उनका स्वकीय सचिव मनोज दाहालले बताए । यद्यपी आज सडक भ्वाङ परेको तथा पानी पस्ने विषयमा शनिबार सडक विभागका महानिर्देशक लगायतसँग थप छलफल गर्ने दाहालले बताए ।

त्यस्तै, मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा सडक विभागका महानिर्देशक रामहरि पोखरेलले संघीय राजधानीका सडकहरुलाई सुरक्षित बनाउन मन्त्रालय र विभागले प्राथमिकता सहित काम गरि रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर