नेपालमा कति बने प्रसारण लाइन, कुनको अवस्था कस्तो ? – Nepal Press

नेपालमा कति बने प्रसारण लाइन, कुनको अवस्था कस्तो ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२ केभी प्रसारण लाइनबाट चलिरहेको नेपालको राष्ट्रिय प्रणाली हाल ४०० केभी र २२० केभीबाट चल्न थालेको बताएको छ । सामान्यतया प्रसारण लाइन भनेको बिजुली हिँड्ने बाटो हो । जसका माध्यमबाट विद्युत खपत हुने स्थानसम्म पुग्छ ।

कोशी, तामाकोशी तथा कालीगण्डकी करिडोर, मर्स्याङ्दी–काठमाडौं, त्रिशूली–काठमाडौं र विभिन्न कारणले जीर्ण बनेको हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

हेटौंडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइनअन्तर्गत ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । काबेली करिडोर, सोलु करिडोर, चमेलिया करिडोरलगायतका धेरै १३२ केभी प्रसारण लाइन सञ्चालनमा छन् ।

यता खिम्ती-बाह्रबीसे-काठमाडौं ४०० केभी, मर्स्याङ्दी करिडोर २२० केभी र चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण कार्य अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ । यीबाहेक १३२ केभीका धेरै प्रसारण लाइन निर्माणाधीन छन् । प्राधिकरणका अनुसार आठ वर्षअघि २ हजार ९०० सर्किट किलोमिटर रहेको प्रसारण लाइन अहिले बढेर ६ हजार ५०० सर्किट किलोमिटर पुगेको छ । प्रसारण लाइनको विकाससँगै विद्युतीकरणको पहुँच पनि करिब ९९ प्रतिशत पुगेको छ ।

यता बुटवलबाट पश्चिम अत्तरियासम्म ४०० केभी प्रसारण लाइन र देशका प्रमुख लोड सेन्टरहरु भएर जाने साउथ करिडोर प्रसारण लाइनका लागि विभिन्न दातृ निकायहरुबाट लगानी सुनिश्चित गरी निर्माण प्रक्रिया अगाडि बढाइएको प्राधिकरणले जनाएको छ । देशका प्रमुख शहरहरुलाई ११ वटा क्लस्टरमा विभाजन गरी सन् २०५० सम्मको मागलाई आपूर्ति गर्नसक्ने प्रसारण र वितरण संरचनाको गुरुयोजना तयार गरी कार्यान्वयनमा लगिएको छ ।

भारतसँगको विद्युत व्यापारका लागि ढल्केबर-मुजफ्फरपुर ४०० केभी पहिलो अन्तरदेशीय प्रसारण लाइन यसअघि नै बने पनि ढल्केबरमा २२० केभी सबस्टेसन अलपत्र थियो । प्राधिकरणका अनुसार ८ वर्षभित्र २२० केभी सबस्टेसन निर्माण भएको छ । यस्तै ४०० केभीका हैटौंडा र इनरुवा सबस्टेसन पनि यही बीचमा निर्माण गरी सञ्चालन गरिएका छन् ।

नयाँ खिम्ती, बाह्रबीसे र लप्सीफेदीमा ४०० केभीका सबस्टेसन निर्माणाधीन अवस्थामा छन् । २२० केभीका हेटौंडा, ढल्केबर, इनरुवा, त्रिशूली ३ बी हब, चिलिमे हब, मातातीर्थ, नयाँ कुश्मा, नयाँ बुटवल, भरतपुर, तुम्लिङटार, वसन्तपुर, तातोपानी दाना, नयाँ खिम्ती, मार्कीचोक निर्माण सम्पन्न भएको छ । उदीपुर सबस्टेसन पनि बनिसकेको प्राधिकरणले जनाएको छ ।

१३२ केभीका धेरै सबस्टेसन निर्माण गरिएका छन् । आठ वर्षअघि २ हजार २०० एमभीए रहेको सबस्टेसन क्षमता बढेर १३ हजार एमभीए पुगेको छ ।

भारतसँगको विद्युत व्यापारका लागि करिब २ हजार ५०० मेगावाट विद्युत प्रवाह गर्न सक्ने नयाँ बुटवल-गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन बनिरहेको छ । नेपाल-भारतबीचको विद्युत आयातनिर्यातका लागि आठ वर्षअघि करिब ३५० मेगावाट विद्युत प्रवाह गर्नसक्ने प्रसारण लाइन क्षमता रहेकोमा हाल करिब २ हजार मेगावाट पुगेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार इनरुवा-पूर्णिया र लम्की-बरेली ४०० केभी प्रसारण लाइन कार्यान्वयनका चरणमा छन् । नेपाल र भारतबीच थप प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन भइरहेको प्राधिकरणले जनाएको छ ।

नेपाल, भारत र बंगलादेशबीचको विद्युत व्यापारलाई थप सहज बनाउन इनरुवाबाट अनारमनीसम्म ४०० केभी प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाइएको छ । यसलाई आधार मान्दा सन् २०३५ सम्ममा २० हजार मेगावाट विद्युत निर्यात गर्नसक्ने प्रसारण लाइन सञ्जाल विस्तार हुने प्राधिकरणको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *