जेलमुक्त भएको सातौं दिनमा फेरि चोरी, सीसीटीभी फुटेजको सहयोगमा पक्राउ परे गिरी – Nepal Press

जेलमुक्त भएको सातौं दिनमा फेरि चोरी, सीसीटीभी फुटेजको सहयोगमा पक्राउ परे गिरी

कैलाली । कैलालीमा चोरीको आरोपमा पक्राउ परेर रिहा भएका एक युवक फेरि चोरी आरोपमा पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका- १ एलएन चोक बस्ने ३१ वर्षका हर्कबहादुर गिरीले छुटेको सातौं दिनमा धनगढी- ४ बसपार्क नजिक बस्ने योगेन्द्र ओझाको घरको ताला तोडेर १५ तोला सुन, ६० तोलाभन्दा बढी चाँदी र २५ हजार नगद चोरी गरेका छन् ।

भीमदत्त नगरपालिका- १८ कञ्चनपुर स्थायी ठेगाना भएका गिरीबाट ५५ तोला चाँदी र ६ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख पदमबहादुर विष्टले जानकारी दिए । उनका अनुसार सुन भने बरामद भएको छैन ।

२०७७ सालमा धनगढी उपमहानगरपालिका- ४ का महेशराज जोशीको मोबाइल चोरेका गिरीविरुद्ध जोशीले २०७७ साल कार्तिक २७ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता गरेका थिए । गिरीलाई जिल्ला अदालतले २०७७ साल चैत ४ गते चोरी मुद्दामा साढे ३ वर्ष कैद र ३० हजार जरिवाना तोकेको थियो ।

उनी साउन १७ गते जेलमुक्त भएका थिए । उनले जेलमुक्त भएको सातौं दिन साउन २३ गते ओझाको बसपार्क नजिकैको घरको २ वटा ताला तोडेर दराजभित्र राखिएको सुन, चाँदी र नगदी चोरी गरेको प्रहरीले जनाएको छ ।

ओझाको घर नजिकै रहेको सीसीटीभी क्यामेराबाट प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो । त्यही सीसीटीभी फुटेजको आधारमा बिहीबार गिरी पक्राउ परेका थिए ।

गिरीलाई शुक्रबार जिल्ला अदालत कैलालीबाट म्याद थप गरेर अनुसन्धान भइरहेको भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर