बरफले ढाकिएको अन्टार्टिका पुग्ने पहिलो नेपाली भुवनसिंहको अनुभव- सुरुमा धेरैले पत्याएनन् (भिडिओ)
रुपन्देही । बाग्लुङका भुवनसिंह विश्वकर्मा अन्टार्टिका पुग्ने पहिलो नेपाली हुन् । बाग्लुङमा २०११ सालमा जन्मिएका उनी भारतीय सेनामा कार्यरत रहँदा दुई पटक अन्टार्टिका पुग्न सफल भए ।
लोकसेवा आयोगको पुस्तकमै अन्टार्टिकामा पुग्ने पहिलो नेपाली को हुन् भनेर सोधिने प्रश्नको उत्तर बनेका छन् भुवनसिंह । अहिले बुटवलमा स्थायी बसोबास गर्ने उनले सेवा निवृत्त जीवनमा यही विषयमा जानकारी दिँदै विभिन्न अध्ययन तथा सामाजिक काममा बिताइरहेका छन् ।
अन्टार्टिका भ्रमणको अनुभवबारे सोधखोज गर्दै धेरै नेपाली र विदेशीहरुले उनलाई भेटिरहन्छन्, विभिन्न शैक्षिक संस्थाहरुले विद्यार्थीहरुलाई यो विषयमा जानकारी दिन बोलाइरहन्छन् ।
उनको अनुभवलाई जोडेर ‘अन्टार्टिकामा नेपाली माटो’ नामक फिल्म नै बनिसकेको छ । पृथ्वीको सबैभन्दा जोखिम, कठिन र खर्चालु मानिने महाद्वीप भएकाले पनि त्यहाँ पुग्नु र सकुशल फर्किनु सामान्य कुरा थिएन, तर यस्तो चुनौतीलाई अवसरका रुपमा लिए र नाम लेखाउन सफल भए भुवन ।
अहिले अन्टार्टिका पुगेर फर्किने नेपाली कति होलान् भन्ने प्रस्ट तथ्यांक नभए पनि पहिलो पटक पुगेको रेकर्ड उनले राखेका छन् । कसरी त्यहाँ पुग्ने अवसर मिल्यो भन्ने प्रश्नमा भुवन भन्छन्- ‘म बाग्लुङको दुर्गम गाउँमा जन्मेको मान्छे, कसो कसो गरेर भारतीय सेनामा भर्ना भएँ, भारतीय सेनाको प्राविधिक टोली त्यहाँ अनुसन्धानमा जाने प्रस्ताव सुनेपछि यस्तो ठाउँमा जानुपर्छ भन्ने लाग्यो र म इच्छुक भएको विषय मेरो हाकिमलाई राखेँ, स्वास्थ्यलगायतका सबै परीक्षणमा फिट भएपछि जान पाइयो ।’
सुरुमा त आफ्नोबारे भन्दा धेरैले नपत्याएको उनको भनाइ छ ।
‘तर अहिले खोजी खोजी मान्छे भेट्न आउँछन्, कार्यक्रममा बोलाउँछन्, यस्तो जोखिम मोलेर नेपालको नाम उच्च बनाएको भनेर सम्मान गर्छन् । यसैले धेरै खुसी लाग्छ’, उनी भन्छन्, ‘पहिले धेरैले पत्याउँदैनथे, धेरै पछि मात्र खोज्न र सम्मान गर्न थालेका हुन् । स्थानीय, प्रदेश तथा केन्द्र सरकारले पनि सम्झेको छ ।’
सेनामा रहँदा उनी भारतको छैटौं वैज्ञानिक अभियान दलका ९० जनाको टोलीमा रहेर सन् १९८६ नोभेम्बरमा पहिलो पटक अन्टार्टिका पुगेका थिए । उनी त्यहाँ ६ महिना बसेका थिए । ६ महिने बसाइ त्यहाँ अँध्यारो भएको देख्नै नपाएको उनी बताउँछन् ।
‘पहिलो पटकमा म ६ महिना उज्यालो हुने समयमा पुगेको थिएँ, सबै समयमा उज्यालोमात्रै भयो, सुरु सुरुमा त निदाउन पनि समस्या हुने, तर पनि जसोतसो कोठा अँध्यारो बनाएर सुत्ने गरिन्थ्यो’, उनले भने, ‘उज्यालो समयमा अलिक चिसो कम हुने रहेछ, तर पनि माइनस २५ डिग्रीसम्म थियो, बाहिर हिँड्ने पूरै सेफ्टी कपडाले जेलिनुपर्थ्यो, कतैबाट हिउँले भेटायो भने खाइहाल्थ्यो, जोखिम धेरै थियो ।’
दोस्रो पटक जाँदा उनी १४ महिना बसेका थिए । दोस्रो पटक जाँदा उनी अँध्यारो समयमा परेका थिए । अँध्यारो समयमा चिसो धेरै बढ्न र यस समयमा माइनस ६० डिग्रीसम्म पाइएको उनले सुनाए ।
‘चिसोको कुरै नगरौं, माइनल ६० डिग्रीमा कसरी बसियो होला ? कल्पना गर्नुस्, यहाँ दुई दिन कुहिरो लायो भने अत्तालिनुपर्छ’, विश्वकर्माले भने ।
वैज्ञानिक टोलीमा प्राविधिक भएर दुई पटक अन्टार्टिका पुगेर २० महिना बिताएका विश्वकर्माले फर्कंदा ढुंगा र पेन्गुइनको अण्डाको बोक्रा ल्याएका थिए । ती वस्तु अहिले पनि उनले सुरक्षित राखेका छन् ।
‘म भारतबाट गएँ, तर जाँदा नेपाली झण्डा, यहाँको माटो लगेर गएको थिएँ, यो मेरो अवसर थियो भनेर लगेको हुँ’, उनले सुनाए । हिन्द महासागर हुँदै त्यहाँ पुग्दाका अनेकौं अनुभव उनीसँग छन् । भुवनसिंह १५ वर्षकै उमेरमा भारतीय सेनामा भर्ना भएका थिए । सेवा निवृत्त उनी अहिले बुटवलको कालिकानगरमा बसिरहेका छन् ।
अन्टार्टिका मानव बस्ती र वनस्पतिरहित महाद्वीप हो, जहाँ ज्वालामुखी चट्टान निर्मित पर्वतहरू छन् । ती सधैं बाक्लो हिउँले ढाकिइरहन्छन् । विश्वका विभिन्न देशहरुबाट यहाँ अनुसन्धानका लागि टोलीहरु खटाइने गरिन्छ । ती देशहरुले त्यहाँ पनि आफ्नो क्षेत्र तोकेर बस्ने व्यवस्था मिलाएको र त्यहीअनुसारको व्यवस्थापन गरेका छन् ।
‘अत्यधिक चिसो हुने भएकाले त्यसलाई रोक्नेगरी कार्यालय र बस्ने ठाउँको सबै देशहरुले व्यवस्थापन गरेका हुन्छन्, सबैको आआफ्नो ठाउँ बनाइएको छ’, विश्वकर्माले सुनाए । त्यहाँ रहँदा परिवारलाई खबर पुर्याउने कुनै माध्यम नभएको बताउँदै उनले ५-६ महिनामा बाग्लुङको आर्मी अफिसमा फोन गरेर जानकारी दिने गरेको सुनाए ।
करिब ५४ लाख वर्ग माइल क्षेत्रफलमा फैलिएको अन्टार्टिकाको ९८ प्रतिशत भूभाग बाक्लो हिउँले ढाकिएको हुने र यो महाद्वीपको सबै हिउँ पग्लिएमा समुद्रको सतह ६० मिटरसम्म बढ्नसक्ने वैज्ञानिकहरूको अनुमान छ । पृथ्वीमा सबैभन्दा पछि पत्ता लागेको अन्टार्टिका महाद्वीपमा ६ महिना पूरै अँध्यारो र ६ महिना पूरै उज्यालो हुन्छ । त्यहाँको दुई भागमा बेलह र रोस नामका दुई विशाल समुद्र छन् । तापक्रम माइनस ८९.३ डिग्री सेल्सियससम्म पुग्छ । हावाको वेग भने प्रतिघण्टा १६० किलोमिटरको रफ्तारमा हुन्छ ।
विश्वकर्माका अनुसार मानव र वनस्पतिरहित अन्टार्टिकामा पेन्गुइन, क्रिललगायतका जीवमात्र पाइन्छन् । अन्टार्टिकालाई शक्ति राष्ट्रहरूले साझा अनुसन्धान थलोका रुपमा प्रयोग गरिरहेका छन् । खनिज, युरेनियमलगायतको अनुसन्धानका लागि विश्वका ४० भन्दा बढी देशका अनुसन्धान टोली अन्टार्टिका पुग्ने गर्छन् ।
उनले अन्टार्टिका यात्रा गर्ने पहिलो नेपालीका रूपमा तत्कालीन राजा वीरेन्द्रबाट प्रबल गोरखा दक्षिण बाहु दोस्रो पाएका छन् । त्यसैगरी विश्वकर्माको नाममा बुटवल र हेटौंडामा केही सडकको नामकरण गरिएको छ । यसले उनलाई आनन्द अनुभूति भएको उनको भनाइ छ ।
‘बुटवलमा त म बस्ने भएकाले नाम राखिदिनुभयो, तर हेटौंडामा पनि मेरो नाममा बाटो राख्नुभएछ, पछि बोलाएर गएँ, निकै खुसी लाग्यो’, विश्वकर्माले भने ।
अन्टार्टिकाको बाक्लो हिउँमा पनि वेल्डिङ गर्ने, तापक्रम बढाइ हिउँ पगालेर पानी निकाल्ने, तापक्रम बढाएर दिसापिसाब विसर्जन गर्ने जस्ता सीप जानेका उनी अहिले फुर्सदमा छन् र आफ्नो अनुभव सुनाउँछन्