जसले धनगढीमा पुस्तक पारखी बढाइरहे – Nepal Press

जसले धनगढीमा पुस्तक पारखी बढाइरहे

पुस्तक लेख्ने र पुस्तक पढ्नेहरूको सहर बनाउने डिल्लीको सपना

कैलाली ।‘डिल्ली जी, आज केही नयाँ पुस्तक आएका छन् कि ?’

डिल्ली राज ओझा ‘समर्पण’लाई प्रत्येक दिन बिहान पख यस्तै फोनहरू आउँछन् ।

‘छन् सर’ नयाँ पुस्तक आएको दिन उनी उत्साहित हुँदै जवाफ दिन्छन् । केही दिनमा आउँदैछ भनेपनि उनी पाठकलाई धैर्य गर्न आग्रह गर्छन् ।
‘सर पुस्तक पुग्यो’ डिल्लीले पाठकलाई सम्झाउँछन् ।

पछिल्लो ८ वर्षमा धनगढीमा मात्रै होइन सुदूरपश्चिम प्रदेशमा डिल्लीले पुस्तक पारखीहरू निकै बढाएका छन् । साहित्यका नयाँ पुस्तक पढ्न पर्खिरहनुपर्ने धनगढीमा अहिले बजारमा आएकै भोलिपल्ट डिल्लीले पाठकहरूका लागि व्यवस्था गर्छन् । जसका कारण यहाँ पछिल्लो समय दैनिक पुस्तक पारखीहरू बढिरहेका छन् ।

२०७० मा दाहाल पुस्तक पसलमा काम गरेर पछि त्यहि पुस्तक पसल किनेर समर्पण पुस्तक पसल सुरु गरेका डिल्लीराज ओझा समर्पण धनगढीलाई साहित्य नगरी बनाउनुपर्ने बताउँछन् । सङ्घर्षले सुरु गरेको पुस्तक पसलमा अहिले पुस्तकसँगै पुस्तक लेख्नेहरू पनि पुग्न थालेपछि उनी उत्साहित छन् ।

‘ ९ लाखको हाराहारीमा पुस्तक पसल किन्नु पर्ने थियो तर, विद्यार्थी म त्यहि पैसा थिए । गोजीमा भएको एक हजार पाँच सय रुपैयाँले पुस्तक पसल किन्ने जमर्को गरे ’ उनले पुराना दिन सम्झँदै भने, ‘तीन वर्षमा तिर्ने सहमति थियो । तर, मैले २ वर्ष १० महिनामा तिरे । ’

उनलाई पुस्तक पसल खेल्दा साहित्य पसल खोलेको जस्तो लागेको थियो । ‘काठमाडौँमा निस्किएका पुस्तकहरू ल्याउन थाले ,साहित्यकारहरू जोडिँदै जानु भयो पुस्तक किन्नेहरूको सर्कल बढ्दै गयो ’ उनले भने ।

उनीकहाँ अहिले पुस्तक पारखी मात्रै होइन साहित्यकारहरू पनि पुग्छन् ।

‘पश्चिममा इजोरिया निकै राम्रोसँग पाठकसमक्ष पुर्‍याइदिनु भयो’ सुविन भट्टराईले डिल्लीलाई पसलमै आएर धन्यवाद दिएका थिए ।
उनले इजोरिया सबैभन्दा धेरै पाठकसमक्ष पुर्‍याएका थिए ।

‘करिब १ हजार प्रति मैले यहीबाट इजोरिया बिक्री गरे । त्यो किताब ५ हजार पाठकसम्म पुग्छ होला जस्तो लागेको थियो । मान्छेले अनलाइनमा पैसा हालिरहेका हुन्थे’ उनले भने, ‘झापा, दार्चुला ,मुम्बई दुबईसम्म पनि माग आएको थियो ।’

रामलाल जोशीको ‘बाआमा’ पनि निकै रुचाइयो । ‘सेतो धर्ती’, ‘चिना हराएको मान्छे’ अहिले पनि पाठकले खोजिरहेको उनी बताउँछन् ।सुविन भट्टराई. सरस्वती प्रतीक्षा, अमर न्यौपाने, हरिवंश आचार्य, प्रदीप रोदन, रमेश शायन, कपिल अञ्जान लगायत थुप्रैले उनको पुस्तक पसलमै पुगेर पुस्तक मोहप्रति सम्मान व्यक्त गरेका छन् । मदन पुरस्कार विजेता रामलाल जोशी धनगढी पुगेपछि डिल्लीसँग भेटेर सोध्छन् ‘अचेल कति बढेका छन् त पुस्तक पारखी ?’

‘बढिरहेका छन् सर ’ उनी उत्साहित हुँदै भन्छन् ।

उनीहरुबीच पुस्तककै विषयमा छलफल हुन्छ । पसलमा मदन पुरस्कार विजेता आएपछि एकएक गर्दे भीड बढ्दै जान्छ । जो आउँछ पुस्तक र लेखककै चर्चा गर्छ ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट पनि उनीकहाँ साहित्यका पुस्तक लिन आउने गरेका छन् । उनले भने, ‘ पहिले मैले दाहाल पुस्तकका काम गर्दा सुदूरपश्चिम प्रदेशमा साहित्यका पुस्तकहरू किन्न आउने मान्छेहरू नै भेट्न मुस्किल पर्ने गरेको थियो तर, अहिले यहाँ साहित्यका पुस्तकहरू सबै भन्दा धेरै रुचाएका छन्। ’

कम मूल्यमा धेरै पुस्तक धेरैले पढ्न पाउन भनेर डिल्लीले २ सय रुपैयाँमा पनि १० पुस्तकसम्म गोला प्रथाबाट वितरण गरिरहेका छन् । उनले विद्यार्थीहरूलाई केन्द्रित गरेर यस्तो योजना ल्याएको बताउँछन्।

‘विद्यार्थीहरू आउनु हुन्छ पुस्तकको मूल्य धेरै भएको जस्तो गरि किन्न अफ्ठेरो मान्नुहुन्छ । मैले त्यही बुझेर उहाँहरूलाई कम मूल्यमा धेरै पुस्तक मिलोस् भनेर यस्तो योजना ल्याएको हुँ’ उनले आफ्नो योजनाबारे प्रष्ट पारे ।

महिनामा दुई पटकसम्म उनी यसरी कम मूल्यमा धेरै पुस्तक पाउने व्यवस्था गर्छन् । कहिले एउटै साहित्यकारहरूको पुस्तकलाई गोला प्रथामा राख्छन् कहिले सुदूरपश्चिम प्रदेशका साहित्य पुस्तकहरू मात्रै राख्छन् ।यसो गर्दा पुस्तक र लेखक दुवैको पनि प्रचार भइरहेको उनी बताउँछन् ।

पछिल्लो पटक रामलाल जोशीको ‘सखी’, जनक रसिदको ‘दोरी’, लोकराज भट्टको ‘छाइल’, विवेक ओझाको ‘ऐठन’ र खेम बतासको ‘बुढीपोल्ली’ पुस्तकको राम्रो चर्चा भयो ।

‘हाम्रो सुदूरपश्चिमको आख्यानहरू ओझेलमा परेको बेला तपाइले निकै राम्रो गर्नु भयो भनेर लेखकहरूले पनि फोन गरेर धन्यवाद दिनुभएको थियो ’ डिल्लीले उत्साहित हुँदै भने, ‘ पढ्नेहरूले पनि राम्रो प्रतिक्रिया दिनुभएको थियो । ’

२ सय रुपैयाँमा ५ वटा भन्दा बढी पुस्तक दिँदै आएका उनले यस पटक पनि सोही मूल्यमा मदन पुरस्कारको सूचीमा परेका पुस्तकहरू हस्तान्तरण गर्ने लक्ष्य लिएका छन् । कृति बेचिँदा स्रष्टाहरूले पनि उनीसँग खुसी साटिरहेका हुन्छन्।

उनले ६ महिना अवधिमा स्किममार्फत मात्रै ५ सय बढी पुस्तक बेचिसकेका छन्। गोला प्रथामा पुस्तक लिन आउनेहरूले पनि थप अरू पुस्तक पनि लिएर जाने गरेका छन् ।उनी मध्ये पछिल्लो समय नियमित पुस्तक पढ्नेहरू छन् ।

उनले यसको उद्देश्य सुदूरपश्चिममा साहित्य पठन संस्कृतिको विकास गर्नु भएको बताए। पुस्तकले ज्ञान प्रदान गर्ने र ज्ञानले मानव जीवनलाई सार्थक तुल्याउने भएकाले विद्यार्थी जीवनदेखि नै पठन संस्कृति विकास हुनु आवश्यक रहेको समर्पण बताउँछन्।

उनी सुदूरपश्चिम प्रदेशका सबै लेखकहरूको पुस्तक उपलब्ध गराउने गरि आफू लागिरहेको बताउँछन् । आफ्नो पसलमा पनि उनले सुदूरपश्चिमका लेखकहरूले लेखेको कृतिलाई छुट्टै ढंगले राखेका छन् ।

‘सुदूरपश्चिमका लेखकहरूको सबै पुस्तक सबैले सहजै पढ्न पाउनुपर्छ भन्ने मेरो भनाइ हो ’ उनी भन्छन् ‘पढेर प्रतिक्रिया दिने जमात बढ्दै गएपछि लेखकहरूलाई पनि ऊर्जा मिल्दै जान्छ। ’

२०७३ फागुनमा बिनु समर्पणसँग वैवाहिक जीवनमा बाँधिएका ओझाले अहिले श्रीमतीको साथले व्यवसायमा निकै सहजता थपेको बताए । उनले पसलमा लोकसेवा, शिक्षक सेवालगायत विभिन्न फारमहरू पनि भर्दै आएको बताए ।

‘धनगढीका हरेक मान्छेले पुस्तक पढुन् भन्ने मेरो सपना हो । मेरो सपनामा उनीले (श्रीमती)ले ठुलो साथ दिएकी छन्’ डिल्ली भन्छन्, ‘अब धनगढीलाई साहित्यको बजार बनाउनु छ । यो पुस्तक, पुस्तक पारखी , पुस्तक लेख्ने र पुस्तक पढ्नेहरूको सहर होस् भन्ने मेरो कामना हो । ’


प्रतिक्रिया

One thought on “जसले धनगढीमा पुस्तक पारखी बढाइरहे

  1. It’s awesome dada padhda sunda Ni kasto proud lagyo Hjr dherae manxe haru jasle padhna rw Kei garna khojne haru ko inspiration bannu hune xa it’s too good astae gari agi padhdae janu❤️❤️
    Hope to see your wishes come true very soon ❤️

Leave a Reply

Your email address will not be published. Required fields are marked *