बर्खाको भेलमा जोखिमपूर्ण यात्रा गर्न बाध्य (भिडिओ)
सुर्खेत । सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग निर्माण भएको झन्डै दुई दशक पुगेको छ । सुर्खेत बाङ्गेसिमलबाट जुम्ला राजमार्गको लम्बाइ २३२ किलोमिटर रहेको छ ।
विसं २०६३ चैत ३१ गते पहिलोपटक जुम्लामा गाडी पुगेको थियो । साँघुरो बाटो र भिरालो जमिन भएका कारण यो मार्गमा यात्रुले सास्ती भोग्दै आइरहेका छन् । राजमार्ग जोडिएपछि कर्णालीका नागरिकको जीवनस्तरमा पनि परिवर्तन भएको छ ।
राजमार्गको यात्रा यति कष्टकर छ कि कर्णालीमा यात्रा गर्न यात्रुहरुले मृत्युको मार्गको रुपमा नामकरण गर्छन् । किनकी यो मार्गमा यात्रा गर्दा भगवान् पुकार्नुपर्छ । कर्णालीको राजमार्गको अवस्था झन दयनीय छ ।
हिउँदको समयमा सडक डिभिजनले हरेक वर्ष बिग्रेको ठाउँमा राजमार्गका खाल्डाखुली टालटुल गर्छ । यस्तै, बर्खामा पहिरोले सडक अवरुद्ध भइरहन्छ । यस राजर्मागमा कतिपय स्थानहरूमा एक गाडीले अर्को गाडीलाई साइड दिने ठाउँ नपुग्दा घण्टौं जाम हुनेगर्छ ।
कर्णाली राजमार्गको स्तरोन्नति नहुँदा सधैं उही समस्या भोग्नुपर्छ । यति मात्रै नभएर राजर्मागमा बन्दै गरेका पुल पनि बर्षाैदेखि अलपत्र छन् ।
जसमा आर्थिक वर्ष २०६८–६९ देखि निर्माण कार्य सुरु भएको दैलेख आठबीस नगरपालिकाको ज्याक्सी खोलामाथिको पुल भने ११ वर्षसम्म पनि बन्न सकेको छैन ।
२ करोडमा निर्माण सुरु गरिएको सुर्खेतदेखि ११३ किलोमिटर चेनिजमा पर्ने उक्त पुल निर्माण कम्पनीको लापरवाहीका कारण ढिला भएको सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी इञ्जिनीयर टोप नारायण पौडेलले नेपाल प्रेसलाई जनाकारी दिए ।
पविर–सुनकोशी–सिरुवा जेभीले निर्माणकार्यको जिम्मा लिएको बताउँदै उनले कार्यालयलाई जानकारी नगराएर पुल ढलान गरि यतिकै छोडेको बताए ।
कन्ट्रायाक्टरले अन्य काम केही नगर्दा सडक डिभिजन कार्यालय सुर्खेतले ठेक्का तोडेको सूचना अधिकारी इन्जिनियर पौडेले भने,’पछि कन्ट्रायाक्टरले मुद्दा लाग्यो । त्यसले गर्दा पनि काममा बाधा भयो । अहिले मुद्दाको टुङ्गो लागि सकेको छ । तर, पनि त्यसबाट गाडी सञ्चालन गर्यो भने दुर्घटना भयो भने समस्या हुन्छ । त्यति मात्रै नभएर काम ठिक छ या छैन चेक गर्नका लागि समस्या भएको छ । चेक गर्ने प्रयास पनि गरेको हो । उसले मुद्दा हाल्यो । अहिले कुनै कन्ट्रायाक्टरले हात हाल्न खोज्दैनन् ।’
उक्त पुलको अध्ययन गरेर ठिक छ छैन भनेर मात्रै गाडी सञ्चालन गर्ने उनले बताए ।
पहिलो ठेक्का अनुसार गरेको पुलमा गरिएको सेटिङ्ग केही समयभित्र भत्केको स्थानीय नरु जोशीले बताए । दोस्रो पटकको ठेकेदारले पनि पुल ढलान गरेर अलपत्र छोडेको उनको भनाइ छ ।
‘हामीले सुने अनुसार दोस्रो पटकको ठेकेदारको फर्म नै कालोसूचीमा राखेको सुनेको हो’ उनले भने,’ त्यो ठेकेदार पनि कहाँ छ कहाँ छ । पुलमा काम गरेका कामदारले अहिलेसम्म ज्याला पाएका छैनन् । यसमा कसैको पनि ध्यान गएको छैन ।’
वीरेन्द्रनगर नगरपालिका सुर्खेतका नरेन्द्र भट्टराई कालिकोट जाँदै गर्दा ज्याक्सी खोलामा आएको भेलका कारण घण्टौ रोकिएका थिए । खोला माथि बनेको पुल सञ्चालनमा नआउदा बर्खाको भेलमा जोखिमपूर्ण यात्रा गर्नु पर्दा समस्या भोग्नु परेको बताए ।
उनले भने,’ खोला घट्ला र हामी पारी तरौला भनेको दुई घण्टा बितिसक्यो अझै घटेको छैन् । स्थानीय सरकारले यात्रुले भोक्नु परेको समस्या समाधान गर्न आग्रह गर्छु ।’
यस्तै, नेपाल सरकार ग्रामीण क्षेत्र विकास कार्यक्रमअन्तर्गत जुम्ला र कालीकोटको सिमानामा विसं २०७४ देखि निर्माणाधीन अवस्थामा रहेको नाग्म पुलको काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी इञ्जिनीयर टोप नारायण पौडेलले नेपाल बताए ।
उनका अनुसार पुलको सबै निर्माण कार्य सम्पन्न भएको तर पुल वारिवारि सडक र फिनिसिङ्गको काम मात्रै बाँकी रहेको जानकारी दिए ।
पुल निर्माणको काम २०७८ मा सम्पन्न भएको थियो उनले भने,’पुलको ढलान सकेपछि स्टेचिङ्ग गर्नुपर्छ । टेन्डनहरु तनाउनु पर्ने हुन्छ । लोट दिएर तन्काएपछि पुल पड्किएको थियो । त्यसपछि पुल भत्काउन लगायौ । फेरि बनाएर ढलानको काम सम्पन्न भएको छ । यसको समाप्त म्याद २०८१ चैत ३० गते सम्मको लागि हो । त्यसलगत्तै सञ्चालनमा आउँछ ।’
नाग्म पुल र त्यससँगै तिलागुफा नगरपालिकाको छिडाना पुल गरेर ११ करोडमा सम्झौता भएको उनले बताए । हालसम्म यी दुई पुलमा ९ करोड लगानीमा निर्माण भइरहेको जानकारी दिए ।