धरानमा प्रदेश सरकारको बजेटमा बन्दै गरेको तार जाली भत्काउने नगरप्रहरीका असईसहित ३ जना पक्राउ – Nepal Press

धरानमा प्रदेश सरकारको बजेटमा बन्दै गरेको तार जाली भत्काउने नगरप्रहरीका असईसहित ३ जना पक्राउ

विराटनगर । प्रदेश सरकारको लागतमा बाढी र कटान नियन्त्रणका लागि बनाएको तार जाली (ग्याविन) भत्काएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

धरानका मेयर हर्क साम्पाङको निर्देशनमा ग्याबिन भत्काएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा धरान नगर प्रहरीका असईसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार तार जाली भत्काएका आरोपमा धरान १३ की भारती राई राजकुमार राई र पारु राईलाई पक्राउ गरिएको हो । धरान १३ का वडा अध्यक्ष नेत्र काफ्लेले तार जाली भत्काएको भन्दै ५ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

उपभोक्ता समिति मार्फत प्रदेश सरकारको २० लाख बजेटबाट खहरे खोलाको पूर्वतर्फ तार जाली लगाइएको थियो । पक्राउ परेकी स्थानीय भारती राईले खहरेको बीचमा लगाएको भन्दै नगर प्रमुख साम्पाङलाई मौखिक उजुरी गरेपछि प्रमुख साम्पाङले डोजर लगेर भत्काउन नगर प्रहरीलाई निर्देशन दिएका थिए ।

नगर प्रहरी डोजर लिएर वडा १३ पुग्दा वडाध्यक्ष नेत्र काफ्ले र स्थानीयले विरोध जनाएपछि नगर प्रहरी फर्किएको थियो । केही दिनपछि साँझको बेला नगर प्रहरी पठाएर उक्त जाली भत्काइएको थियो ।

तार जाली भत्काउन नेतृत्व गर्ने नगर प्रहरीका असई सुरेश माग्रतीलाई भने आइतबार आफै कार्यालयमा हाजिर गराउने जनाएका छन् । उनलाई भने प्रहरीले हाजिर हुने शर्तमा छाडेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *