आँप बगैंचा मासेर सौर्य प्लान्ट स्थापना नगर्न धनुषाका किसानहरुको चेतावनी (भिडिओ)
धनुषा । धनुषाको बटेश्वर गाउँपालिका- १ चित्रपुरमा ८० बिघा क्षेत्रफलमा लगाएको आँपको बगैंचा फडानी गरेर सौर्य प्लान्ट स्थापनाको तयारी गरेसँगै स्थानीय विरोधमा उत्रिएका छन् ।
काठमाडौं महानगरपालिका- ३२ जडीबुटीस्थित जन्दादेवी सोलार प्रालिले आँप पकेट क्षेत्रमा सौर्य प्लान्ट स्थापनाको काम अगाडि बढाउने तयारी गरेको हो । कम्पनीले ५० मेगावाट सौर्य विद्युत उत्पादन गर्ने प्लान्ट स्थापना गर्न १२ जना किसानसँग १६ बिघा जग्गा ३० वर्षका लागि भाडामा लिने सम्झौता गरेको थियो । कम्पनीले असार २९ मा किसानसँग गरेको सम्झौतामा वार्षिक प्रतिकठ्ठा ८ हजार रुपैयाँ र प्रत्येक दुई वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्ने उल्लेख छ ।
संघीय सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागले त्यहाँ कुनै सिंचाइ आयोजना नरहेको भन्दै ती जग्गा सिंचाइयोग्य नरहेको प्रमाणित गरिदिएको बटेश्वर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष अशोककुमार महतोले जानकारी दिए ।
जन्दादेवी सोलार प्रालिले लिन खोजेको सबै जग्गामा आँप खेती रहेको वडाध्यक्ष महतो बताउँछन् । उनका अनुसार बर्सेनि यस क्षेत्रबाट लाखौं रुपैयाँको आँप बिक्री हुन्छ ।
आँप खेती फडानी गरेर सोलार प्लान्ट स्थापना गर्ने विषयमा किसान विभाजित छन् । कुनै वर्ष आँपखेतीमा क्षति भोग्दा सरकारले राहत नदिएको भन्दै कतिपय किसान सोलार प्लान्ट स्थापनाका लागि जग्गा दिनु बाध्यता रहेको बताउँछन् । त्यसैले केही किसान जन्दादेवी प्रालिलाई जग्गा दिन सहमत भएको बताउँछन् ।
किसान रामउदगार महतोले आँप पकेट क्षेत्रमा आँप खेती फाँडेर सोलार प्लान्ट स्थापना गर्नु खेदजनक रहेको भन्दै यसलाई रोक्नुपर्ने बताए । रामउदागरले यो जन्दादेवी प्रालिले पछि गएर के गर्छ थाहा नभएको तर अहिले आफूहरुको आश्रय आँप रहेकाले आँपको बगैंचा फडानी गर्न नदिने अडान लिए ।
सोलार प्लान्टका लागि अन्यत्र खाली जग्गा खोज्न सकिने बताउँदै उनले आँप खेती फाँडेर सोलार प्लान्ट राख्न खोजे आन्दोलन हुने चेतावनी दिए ।
उनले भने, ‘आँप पकेट क्षेत्रमा आँप खेती फाँडेर सोलार प्लान्ट स्थापना गर्नु खेदजनक छ, यसलाई रोक्नुपर्छ । पहिले यहाँ धान खेती हुन्थ्यो, तर यहाँ आँप उत्पादन हुन थालेपछि किसानहरुको आयको स्तरमा वृद्धि भएको छ ।’
अर्का किसान विनोदकुमार सिंहले सो स्थानमा सोलार प्लान्ट खोल्ने वा नखोल्ने भन्ने विषयमा गहन छलफल हुनु आवश्यक रहेको बताए । प्लान्ट स्थापना हुँदा गाउँ तथा वरपरको वातावरणमा असर नगर्ने निश्चित भएपछि मात्रै त्यसको काम अगाडि बढाउन सकिने उनी बताउँछन् ।
यी दुई स्थानीयभन्दा पृथक विचार स्थानीय किसान रामखेलावन महतोको छ । उनकाअनुसार आँप खेतीबाट खासै आम्दानी नहुने गरेकाले आफूहरु सम्झौता गर्न तयार भएको बताए ।
उनले भने, ‘आँप खेतीबाट कुनै कुनै वर्ष आम्दानी हुन्छ, तर अधिकांश वर्षमा घाटै व्यहोर्नु परिरहेको छ, आँप कुनै वर्ष नफल्ने, आँपमा कीरा लाग्ने, बजार नपाउने जस्ता समस्या हामीसँग छ, त्यसैले म यो प्लान्टको पक्षमै छु ।’
जल्दादेवी सोलार प्रालिले भने अन्यत्र जग्गा नपाएकाले सो स्थानमा प्लान्ट स्थापना गर्न लागेको स्पष्ट पारेको छ । बटेश्वरको आँप पकेट क्षेत्रका किसानले दिन मानेपछि त्यहाँ प्लान्ट स्थापनाको तयारी गरेको उनीहरुको भनाइ छ ।