ट्रम्प-ह्यारिसबीच सेप्टेम्बर १० मा बहस हुने
वासिङ्टन डीसी । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिसबीच सेप्टेम्बर १० मा बहस हुने भएको छ । उनीहरु सेप्टेम्बर १० मा बहस गर्न सहमत भएका हुन् ।
रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार ट्रम्प र उनका डेमोक्रेटिक समकक्षी ह्यारिस दुवैले बहसमा आफ्नो सहभागिता पुष्टि गरेका छन् । ९० मिनेटको बहस फिलाडेल्फियामा हुने अपेक्षा गरिएको छ ।
एबीसी एन्कर डेभिड मुइर र लिन्से डेभिस मध्यस्थकर्ताको रूपमा रहनेछन् । बहस सम्भवतः प्रत्यक्ष दर्शकहरूविना आयोजित हुनेछ, तर सही ढाँचा र आधारभूत नियमहरू अझै पनि निर्धारण भइरहेका छन् ।
यो घोषणा फ्लोरिडाको पाम बीचमा ट्रम्पको समाचार सम्मेलनपछि भएको हो । जसमा उनले ह्यारिससँग तीन बहसको प्रस्ताव राखेका छन् । ट्रम्प यसअघि सेप्टेम्बर १० मा राष्ट्रपति जो बाइडेनसँग बहस गर्न सहमत भएका थिए, तर बाइडेनले डेमोक्रेटिक टिकट फिर्ता लिएपछि ह्यारिससँग बहस गर्न ट्रम्प सहमत भएका हुन् । -सिन्ह्वा