बेलायतमा हिंसा किन भड्किरहेछ ? आठ प्रश्नोत्तर
काठमाडौं । नेपालको परराष्ट्र मन्त्रालय तथा नेपाली राजदूतावासहरुले पछिल्लो समयमा तीन देशमा भएका हिंसा तथा प्रदर्शनहरुबाट जोगिन नेपालीलाई आग्रह गरे । सम्पर्क गर्न विभिन्न सूत्रहरु दिए । सुरुमा बंगलादेश, त्यसपछि लेबनान र बेलायत । बंगलादेशमा भएका नेपालीहरुलाई नेपाली राजदूतावासले साउन २ गते सूचना जारी गरेर सतर्क गराएको थियो ।
लेबनानमा भएको नेपालीहरुको सुरक्षा सतर्कता अपनाउन परराष्ट्र मन्त्रालयले साउन २१ गते सूचना जारी गर्यो । सूचना जारी गरेर समस्या आइपरेमा परराष्ट्र मन्त्रालयमा सम्पर्क गर्न आग्रह गर्यो ।
बंगलादेश र लेबनानका बारेमा आएका सूचनाबाट नेपालमा आममान्छेमा चासो र चिन्ता धेरै प्रकट भए । बेलायतमा भएको घटनाको भने तुलनात्मक रुपमा कम चर्चा, चासो र चिन्ता भएको पाइयो, तर परराष्ट्र मन्त्रालयले साउन २२ गते जारी गरेको आफ्नो सूचनामा बेलायतमा भएको समस्याको जानकारी प्रस्टसँग दिँदै भनेको थियो, ‘हालै केही दिनदेखि बेलायतका विभिन्न शहरमा प्रदर्शन/हुलदङ्गा चलिरहेको हुँदा बेलायतमा रहनुभएका एवं बेलायत भ्रमण गर्न लाग्नुभएका सम्पूर्ण नेपाली नागरिकलाई यस्तो हुलदङ्गा भएको स्थानमा भ्रमण नगर्न तथा प्रदर्शनमा सहभागी नहुन अनुरोध गरिन्छ ।’
नेपाली राजदूतावास लण्डनबाट जारी सूचनाले बेलायतमा भएको हिंसाको औपचारिक जानकारी दिएको छ । यो सामग्रीमा त्यही बेलायती हिंसाको बारेमा आठ प्रश्नोत्तरमा जानकारी दिइएको छ ।
१. हिंसाको खास कारण के हो ?
हिंसाको मूल कारण आप्रवासनविरोधी मुद्दा हो । गैरश्वेत नागरिकलाई घृणा गर्ने मनस्थिति बोकेर उग्र नारा लाउनेहरुको चेतना हो । बेलायत एवं युरोप तथा अमेरिकामा मात्रै होइन, क्यानडा, अस्ट्रेलिया हुँदै न्यूजिल्याण्डलगायत धेरै देशमा शरणार्थी, आप्रवासी आदि समुदायप्रति घृणा देखिन्छ । त्यो घृणा अरु देशमा पनि छन् । बेलायतमा पनि थियो । छ, तर अहिले जारी हिंसाको मुख्य ताजा जरो भने हालसालै बेलायतको उत्तरी लण्डनको एक शहरमा तीन बालिकाको हत्या हुनु हो ।
साउन १४ गते बेलायतको साउथपोर्ट क्षेत्रको टेलर स्विफ्ट थिमको एक नृत्य कक्षामा १७ वर्षीय युवकले तीन बालिकाको हत्या गरेका थिए । हत्या भएका तीन बालिका उमेरले ६, ७ र ९ वर्षका थिए । ती बालिकाहरु गर्मी बिदाको छुट्टीको समयमा नृत्य कक्षा लिइरहेका थिए । तीन बालिकाकाे हत्याको विरोधमा भएको प्रदर्शन शुरुमा साउथ पोर्ट क्षेत्रहरुमा भयो । त्यसपछि बेलायतभर हिंसा बढेर गयो ।
राजधानी लण्डनमा भने अहिलेसम्म ठूलो आकारको हिंसा भएको छैन, तर बेलायतका धेरै शहर तथा उत्तरी आयरल्याण्ड अनि वेल्समा हिंसाको डढेलो फैलिएको छ । गोरा अनुहार तथा ईसाई अनि यहुदी धर्म मान्ने बाहेककालाई आक्रमण गरिएको घटना सार्वजनिक भएका छन् । होटल, घरदेखि सार्वजनिक स्थानहरुमा आक्रमण गरिएका घटना सार्वजनिक भएका छन् ।
कतारी विश्व च्यानल अलजजिराका अनुसार मुख्य हिंसा भएका शहरहरुमा एल्डरसट, बेल्फास्ट, बर्मिङ्घम, लिभरपुल, लेस्टर, सन्डरल्याण्ड, मेन्चेस्टरलगायत छन् । बेलायती समाचार एजेन्सी रोयटर्सका अनुसार बेलायतका २० भन्दा धेरै स्थानमा हिंसा भएको छ ।
२. हिंसा भड्काउने तर्क किन गल्ती छ ?
हिंसा भड्काउनेहरुले तीन बालिका हत्या गर्ने १७ वर्षका युवकलाई मस्लिम भनेका थिए । डुंगा चढेर बेलायत आएका उनले तीन बालिकालाई चक्कुले हानेको भनेर सूचना फैलाइएको थियो, तर उनी मुस्लिम थिएनन् । उनी डुंगा चढेर बेलायत आएका पनि थिएनन् । उनी ईसाई नै थिए ।
एक्सेल रुदाकुबाना नाम गरेका उनी आप्रवासी थिएनन् । बेलायतको वेल्समा जन्मिएका थिए । यो कुरा अहिले विभिन्न सामाजिक सञ्जाल तथा आमसञ्चारमा आइसकेको छ ।
३. हिंसा भड्काउन राजनीतिक दल कति जिम्मेवार छन् ?
बेलायतमा बढेको हिंसामा राजनीतिक दलहरुको पनि हात भएको बताइएको छ । सत्ताधारी दल लेबर र प्रमुख प्रतिपक्षी टोरिज भनेर चिनिने परम्परागत दलको भने यसमा हात छैन । हालसालै बेलायती चुनावमा उदाएको दल रिफर्म यूकेलाई पनि दोषी बनाइएको छ । रिफर्म यूकेको पटकपटक लागेको नारा ‘डुंगा बन्द गर’ भन्ने हो । डुंगाबाट बेलायतमा आउने आप्रवासीहरुको विरोधमा यो नारा लागेको हो ।
आप्रवासीहरुको विरोध गर्ने यो दलका नेता नाइजल फराज छन् । उनी कट्टर आप्रवासीविरोधी हुन् । हालसालै भएको बेलायती चुनावमा पाँच सीट ल्याएको यो दलको आप्रवासी मुद्दाको कारणले पनि जारी हिंसाले मलजल पाएको बताइएको छ ।
४. सञ्चारमाध्यमले हिंसा रोक्न वा भड्काउन के के गरिरहेका छन् ?
बेलायतका सञ्चारमाध्यमहरुमाथि हिंसा बढाउन बल पुर्याइएको आरोप लागेको छ । यस्तो आरोप लाग्नेहरुमा सबै सञ्चारमाध्यमहरु छैनन् । खासगरी परम्परागत विचार पक्षधर मिडियाहरुमा यस्तो समाचार आएका थिए ।
यसको अग्र भागमा डेली मेललाई लिइएको छ । पछिल्ला समयमा डेली मेलले आप्रवासीविरोधी धेरै हेडलाइन बनाएको थियो । डेली मेलले बनाएका केही हेडलाइन यस्ता थिए:
- हरेक नयाँ चार जागिरमध्ये तीन विदेशी कामदारले पाउँछन् ।
- आप्रवासीहरुले बढाए हाउजिङ संकट
- बेलायतको सीमा भत्कियो
- प्रधानमन्त्री : हामीले किन आप्रवासीका तीन हजार बालबालिका लिनु हुँदैन ?
- दश लाख आप्रवासीहरु बाटोमा आइसके
- आप्रवासीहरु : अझै कति धेरै हामी लिन सक्छौं ?
- बेलायतमा पन्ध्र लाख टर्किस लिने षड्यन्त्रमा व्यापक विरोध
- प्रधानमन्त्री : बेलायती मुसलमानहरुले जिहाजलाई सहयोग गरिरहेका छन्
यो त डेली मेलको व्यानर बनेर आएका केही हेडलाइन हुन् । यीभन्दा धेरै कडा कुरा सामाजिक सञ्जाल तथा सडकमा पोखिएका थिए । केही दिन अगाडि बेलायतको सडकमा जुलुस प्रदर्शन भएको थियो । मुसलमानविरोधी नारा लगाउँदै उनीहरुले व्यानरमा लेखेका थिए, ‘यो लण्डन हो । लण्डनिस्तान होइन ।’
सामाजिक सञ्जालमा हिंसा भड्काउने आरोप एलन मस्कलाई पनि लागेको छ । उनले बेलायती हिंसालाई बल पुग्नेगरी आफ्नो सामाजिक सञ्जालमा लेखेका थिए, ‘बेलायतमा गृहयुद्ध निश्चित’ छ । यतिमात्रै होइन एक्स (साबिकको ट्विटर) मालिक मस्कले बेलायती उदार राजनीतिक दल लेबरलाई कम्युनिष्ट पार्टी जस्तै र लेबरले नेतृत्व गरेको बेलायतलाई सोभियत संघ भन्दै व्याख्या गरेका छन् । बेलायती प्रहरीलाई प्रदर्शनकारीहरुले प्रहार गरेको भिडिओ सार्वजनिक गरेर मस्कले लेखेका छन्, ‘यो बेलायत हो कि सोभियत संघ हो ?’
मस्कमात्रै होइन बेलायतका चर्चित सामाजिक सञ्जालकर्ता टोमी रोबिन्सनले पनि आगोमा घ्यू थप्ने काम गरेका छन् । मस्क र डेली मेलहरुको विरोध भने व्यापक भएको छ । सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म यस्ता विरोध भएका छन् ।
५. हिंसा रोक्न बेलायतका नागरिक समाज तथा संघसंस्थाहरुले के गरिरहेका छन् ?
हिंसा रोक्न बेलायतका नागरिक तथा संघसंस्थाहरु धेरै सक्रिय छन् । बेलायतका ८० वटा संघसंस्थाले प्रधानमन्त्री केइर स्टार्मरलाई पत्र लेखेर तत्काल संसद बोलाएर, प्रहरी व्यापक परिचालन गरेर सम्बोधन गर्न माग गरेका छन् । यस्तो आग्रह गर्ने संस्थाहरुमा एम्नेस्टी इन्टरनेसनललगायतका छन् ।
यस्तै बेलायतका विभिन्न ठाउँमा प्रदर्शनी पनि भएका छन् । घृणा अभिव्यक्ति दिने तथा आप्रवासीको विरोध गर्नेहरुको विपक्षमा यस्ता प्रदर्शन भएका छन् । प्रदर्शनमा हजारौं सहभागी भएको यूरोन्यूजले उल्लेख गरेको छ ।
६. हिंसा रोक्न बेलायत सरकार के गरिरहेछ ?
हिंसा रोक्न बेलायत सरकार प्रतिबद्ध देखिएको छ । प्रधानमन्त्री स्टार्मरले बेलायतमा बढेको हिंसालाई दक्षिणपन्थीहरुको ठगी भन्दै सार्वजनिक आलोचना गरेका छन् । बेलायतले हिंसामा जोडिएकाहरुलाई थुन्न थप ६०० जेलका क्षेत्र बनाएको छ ।
न्यू योर्क टाइम्सका अनुसार ४ हजार अतिरिक्त विशेषज्ञ प्रहरी अधिकारी थप गरिएको छ । ४०० भन्दा धेरै पक्राउ परेका छन् । बेलायती सरकारको विज्ञानमन्त्री पिटर केलले मेटा, टिकटक, गुगल तथा एक्सका अधिकारीहरुसँग भेटेका छन् । अनलाइनमा फैलिएको हिंसा रोक्न उनको भेट भएको बेलायती समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।
मिथ्या खबर फैलाउने तथा हिंसा फैलाउने अकाउन्टवालाहरुलाई खोज्न बेलायती विज्ञानमन्त्रीले सामाजिक सञ्जाल तथा एपहरुका प्रतिनिधिहरुसँग भेटघाट गरेका छन् । यस्तै ताजा सजायहरु पनि सुनाइएका छन् । त्यसमा एक हो- ५८ वर्षका बेलायती पुरुषलाई तीन वर्ष जेल सजाय सुनाइएको छ ।
गत बुधबार लिभरपुल क्राउन अदालतबाट यस्तो फैसला सुनाइएको थियो । सरकारले फेसबुकमा घातक धम्की तथा शब्द लेख्नेहरुलाई पनि कानूनी दायरामा ल्याउने बताएको छ । बेलायतको स्काई न्यूजको एक समाचारअनुसार लिड्समा चार पुरुषलाई क्यामेरा अगाडि राखेर सजाय सुनाइने भएको छ ।
यस्तै बेलायतको मेन्चेस्टर तथा मर्सिसाइड क्षेत्रमा हिंसामा जोडिएकाहरुको तस्विर सार्वजनिक भएको छ । उनीहरुलाई चाँडै पक्राउ गरिने भएको स्काई न्यूजले लेखेको छ । बेलायत सरकारले धेरैलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ११ वर्षका बालकसम्म छन् । एक ११ वर्षे बालक हाट्लेपोलमा प्रहरीको गाडीमा आगजनी गरेको कसुरमा पक्राउ परेका छन् ।
७. बेलायतमा यस्तो हिंसा पछिल्लो समयमा कहिले घटेको थियो ?
अहिले भएको हिंसा बेलायतमा नयाँ होइन । यस अगाडि पनि यस्ता हिंसा भएका थिए । १३ वर्ष अगाडि सन् २०११ को अगस्तमा यस्तै हिंसा भएको थियो । त्यो हिंसा बेलायती राजधानी लण्डनमा भएको थियो । चार दिन चलेको हिंसामा बेलायतका धेरै पसल लुटिएका थिए । धेरै घाइते भएका थिए ।
त्यो हिंसाको कारण भने एक अश्वेत युवाको प्रहरीले गोली हानेर हत्या गर्नु प्रमुख कारण थियो । मार्क डुगन नामका ती युवाको गोली हानेर बोलयती प्रहरीले अगस्त ४ मा हत्या गरेको थियो । उनको न्यायको लागि भन्दै ३०० जना लण्डनको ब्रोडवाटर टावनको फार्मबाट टोटनह्याम प्रहरी कार्यालयमा पुगे । न्याय नपाएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिए । चार दिन चलेको प्रदर्शनमा २० हजार सहभागी थिए । ४ हजार पक्राउ परेका थिए । कैयौं घरबारविहीन भएका थिए । पाँच जनाको मृत्यु भएको थियो ।
लण्डन इभिनिङ स्टान्डर्डका अनुसार त्यो बेला सार्वजनिक अभियोजनका निर्देशक थिए अहिलेका प्रधानमन्त्री स्टार्मर । उनकै अगुवाइमा बेलायती अदालत २४ घण्टा खुला गरिएको थियो र द्रुत गतिमा फैसला सुनाइएको थियो ।
८. बेलायतका नेपाली के भन्छन् ?
बेलायतमा भएको हिंसामा परेर नेपालीहरुलाई कस्तो भइरहेको छ ? योबारेमा नेपालप्रेसले बेलायतमा भएका नेपाली युवा अमित थेबेसँग कुरा गरेको छ ।
बेलायती हिंसाबारे थेबे भन्छन्ः
संयुक्त अधिराज्य (यूके) मा पछिल्लो पटक भएको प्रदर्शन र हुलदङ्गाले एसियाली मूलका समुदाय पनि सशङ्कित भएका छन् । उत्तर पश्चिमबाट फैलिएको प्रदर्शनमा इङ्ल्यान्ड डिफेन्स लिग जस्ता घोर दाहिनेपन्थी सङ्गठनले आप्रवासी र मुस्लिमविरोधी आन्दोलनमा रुपान्तरण गर्ने कोसिस गरेको छ ।
यूकेमा करिब अढाई लाख नेपाली रहेको विश्वास गरिन्छ । यद्यपि आधिकारिक तथ्यांक डेढ लाखमात्रै छ । नेपाली समुदायलाई ‘गोरखा’ को विरासतका कारण केही सहज जस्तो भए पनि ‘आइडेन्टेटी क्राइसिस’ भएको कारण अन्य एसियाली मूलका ठानेर ह्यारेसमेन्ट सहने वातावरण भने हुनसक्छ ।
यद्यपि गोरखा/नेपाली समुदायमात्रै नभएर समग्र आप्रवासी मूलप्रति उदार नीति राख्ने लेबर पार्टीको उदय भएकोले स्थिति साम्य हुने आँकलन छ । यद्यपि केही समय सतर्कता अपनाउँदै सुरक्षित रहन र बेलायतमा रहेका नेपालीहरूलाई अनावश्यक यात्रा नगर्न, हुलदङ्गा हुने सम्भावित ठूला शहर र नगरमा नजान, नेपाली समाजसँग नजिकको सम्पर्क र समन्वयमा रहन आग्रह गर्दछु ।