भासिएको कमला पुल अलपत्र : इन्जिनियरहरूले थाले वारपारको आन्दोलन
जनकपुरधाम । हुलाकी राजमार्गलाई मधेशको जीवनरेखा मानिन्छ । सिरहा र धनुषामा हुलाकी राजमार्ग कालोपत्रे भइसकेको छ । तर सिरहा–धनुषा जोड्ने कमला नदीमा अझै पुल निर्माण भएको छैन ।
लामो समयसम्म कमला पुल निर्माण नभएपछि त्यसको प्रत्यक्ष मार यहाँको विकास निर्माणमा परेको छ । यस भेगका बासिन्दाको जीवनपद्धति नै संकटमा परेको छ । बाढीको बेला असार–साउनमा सिरहा र धनुषाको सम्बन्ध नै विच्छेद हुन पुग्छ ।
सिरहा सदरमुकामबाट मधेशको राजधानी जनकपुरधाम मात्र ३० किलोमिटर दुरीमा छ । तर कमला पुल नबन्दा महेन्द्र राजमार्ग भएर जनकपुरधाम पुग्नुपर्ने बाध्यता छ । महेन्द्र राजमार्ग भएर आवतजावत गर्दा करिब एक सय किलोमिटरको दुरी तय गर्नुपर्ने सिरहा र धनुषावासीको बाध्यता छ ।
१३ वर्ष अगाडी कमला नदीमा पुल निर्माण सुरु भएपछि अब यस भेगको कायापलट नै हुने सपना सिरहा र धनुषाका बासिन्दाले देखेका थिए । तर विडम्बना– जनताले देखेको सपना सपनै रह्यो । ४२ महिनामा निर्माण गर्नुपर्ने पुल १० वर्षमा मात्र ९९ प्रतिशत पुरा भयो, त्यो पनि ०७८ साउनमा सामान्य बाढीमै भासियो ।
पुल भासेपछि अविलम्ब पुनर्निर्माण गर्नुपर्ने भन्दै कैयौँ नेता र मन्त्री कमला आए । पुल भासिएदेखि चार वटा भौतिक पूर्वाधार यातायात मन्त्री फेरिए । मन्त्री रहेका बेला नारायणकाजी श्रेष्ठ र रघुवीर महासेठ पनि कमला आए, पुल निरीक्षण गरे । निर्माण कम्पनीलाई पुल अविलम्ब पुनर्निर्माण गर्न दुवै मन्त्रीले दिएको निर्देशन बोलीमै सीमित बनेको छ । पुलको अवस्था ज्यूँको त्यूँ छ ।
निर्माण कम्पनीको बदमासी, सरकारको रवैया पनि उस्तै
कमला पुल निर्माणका लागि ०६८ जेठ ३१ मा पप्पु–लुम्बिनी जेभीले ठेक्का सम्झौता गरेको थियो । लगत्तै निर्माण कार्य सुरु भयो । तर निर्माण काम कछुवाको गतिमा चल्यो । ठेक्का सम्झौताको समय बितिसक्दा पनि पुल निर्माण २५ प्रतिशत पनि भएन ।
निर्माण कम्पनीले सुस्त गतिमा काम गर्दा पनि सरकार मौन बसे । सरकारले भने निर्माण कम्पनीलाई पटक पटक म्याद थपिरहे । ७ वर्षपछि पप्पुले हात झिक्यो । त्यसपछि पुल निर्माण अलपत्र पर्यो ।
पप्पु कालोसूचीमा परेपछि हुलाकी राजमार्ग निर्देशनालयले पुल निर्माणको जिम्मा लुम्बिनी बिल्डर्सलाई दियो । बिल्डर्सले पुल निर्माणको काम ९९ प्रतिशत सकेर फिनिसिङको काम मात्र बाँकी रहेको अवस्थामा ०७८ साउनमा पुलको दुई वटा पिलर भासियो ।
पिलर भासेर पुल निर्माण अलपत्र परेको बेला गत चैत १८ मा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ठेकेदारलाई असार १५ सम्म पुल पुनर्निर्माण सक्न निर्देशन दिएका थिए । तर बीमा कम्पनीसँगको विवादका कारण निर्माण कम्पनीले पुल पुनर्निर्माणको काम अगाडी बढाउन सकेको छैन ।
लुम्बिनी बिल्डर्सले बाढीले पुर्याएको क्षति बापत १२ करोड रुपैयाँ माग दाबी गरेको छ । बिमा कम्पनीले माग दाबी अनुसार भुक्तानी गर्न तयार छैन । बिल्डर्सका प्रबन्ध निर्देशक विष्णु शर्मा भन्छन्, ‘बिमा कम्पनीलाई १ करोड रुपैयाँ उच्च दरको प्रिमियम तिरेका छौँ । तर बिमा कम्पनीले बेइमानी गर्न खोजेको छ । कसरी काम गर्न सक्छौँ ? हामीबाट अब सम्भव छैन ।’
नयाँ पुल निर्माण गर्न इन्जिनियरहरू आन्दोलित
कमला नदीमा नयाँ पुल निर्माण गर्नुपर्ने भन्दै सिरहाका इन्जिनियरहरू आन्दोलित भएका छन् । इन्जिनियरहरूले सिरहा नगरपालिकाका इन्जिनियर प्रवीण कुमार यादवको संयोजकत्वमा संघर्ष समिति गठन गरेर आन्दोलन थालेका हुन् ।
साउन २४ मा समितिको आह्वानमा सिरहा सदरमुकाममा प्रदर्शन गरियो । उनीहरू हस्ताक्षर पनि संकलन गरेका छन् । कमलामा नयाँ पुल निर्माणका लागि मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापनपत्र बुझाउने समितिको तयारी छ । त्यसका लागि इन्जिनियरहरू आइतबार कमला नदीबाटै हुलाकी राजमार्ग भएर जनकपुरधामसम्म पैदल मार्च गर्ने घोषणा गरेको छ ।
सिरहा नगरपालिकामा सब–इन्जिनियर पदमा कार्यरत प्रदीप यादव भन्छन्, ‘इन्जिनियर एशोसिएनको चुनाव आउन लाकेको छ । त्यसका लागि हामी बैठक बसेका थियौँ । त्यो बैठकमा हामीले समाजका लागि केहि गर्न सकिरहेको छैन भन्ने विषयमा पनि छलफल भयो । त्यही क्रममा कमलामा नयाँ पुल निर्माणका लागि आन्दोलन गर्नुपर्छ भन्ने लाग्यो । र, संघर्ष समिति बनाएर आन्दोलन आह्वान गरेका छौँ ।’
पिलर भाँसिएर अलपत्र परेको पुलको इस्टिमेट र डिजाइन नै गलत रहेको तथा निर्माणमा पनि लापरबाही गरिएको उनले बताए । उनले भने, ‘यही कमला नदीमा महेन्द्र राजमार्गमा ७ सय मिटर मिटर पुल छ । महेन्द्र राजमार्ग यता करिब ६ वटा नदी कमलामा मिलेको छ । हुलाकी राजमार्गमा आएर कमला झन् विशाल बनेको छ । तर अहिले भासिएको पुलको लम्बाई मात्र ४ सय मिटर छ । कसरी थेग्छ ? यहाँ त झन् ठूला पुल बन्नुपर्छ ।’
अहिलेको पुल काम नलाग्ने भएको भन्दै उनले नयाँ पुल निर्माणका लागि भोली मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै माग पुरा गर्न सात दिने अल्टिमेटम दिने जानकारी दिए । उनले माग पुरा गर्न मुख्यमन्त्री तयार नभए मुख्यमन्त्री कार्यालयमा आमरण अनसन बस्ने निर्णय गरेको पनि बताए ।
आन्दोलनमा सिरहाका युवा, बुद्धिजीवी र जनप्रतिनिधिहरूको पनि समर्थन छ । सब इन्जिनियर यादवका अनुसार सिरहा नगरपालिका ६ का वडाध्यक्ष इन्द्रजीत कुमार यादव, सिरिहा नगरपालिका १२ का भोगेन्द्र साह, इन्जिनियर शैलेश गोइत, इन्जिनियर रुपेश कुमार यादव, इन्जिनियर शिवशंकर यादव र सिरहा नगरपालिका २ का मनिष कुमार यादव आमरण अनसन बस्ने घोषणा पनि गरिसकेका छन् ।
सब इन्जिनियर यादव भन्छन्, ‘अहिलेको पुल पुनर्निर्माण गर्दा पनि लगभग १५ करोड खर्च लाग्छ । निर्माण कम्पनीले इन्स्योरेन्ससँग पैसा माग्छ । तर इन्स्योरेन्स कम्पनी पैसा दिन तयार छैन । यदि सरकारले नै पैसा दिए पनि पुल पुनर्निर्माण गर्दा त्यो कति वर्ष टिक्छ ? गाडी नचलेको अवस्थामा त भासियो । गाडी चलेपछि त दुई÷चार महिना पनि टिक्दैन ।’
असफल भएको पुलमा लगानी गरेर झन् बर्बाद हुने भन्दै अब नयाँ पुल बनाउनुको विकल्प नरहेको उनको भनाई छ ।
प्रदेश सरकारले कमलामा नयाँ पुल निर्माण गर्न सम्भव छ भन्ने जिज्ञासामा उनले भने, ‘गत वर्ष प्रदेशमा १४ अर्ब रुपैयाँ फ्रिज भयो । नयाँ पुल बनाउन करिब ७०/८० करोड बजेट आवश्यक पर्छ । यति बजेट प्रदेशले खर्च गर्न सक्दैन र ? बहुवर्षीय योजनामा राखेर वर्षमा २०/२५ करोड बजेट विनियोजन गर्दा पनि नयाँ पुल बन्छ । सोच हुनुपर्छ । प्रदेशले पनि पुल बनाउन सक्छ । त्यसकै लागि हामी मुख्यमन्त्री कार्यालयमै अब आमरण अनसन बस्नेसम्मको तयारी गरेका छौँ ।’
कमला पुल नबने अब अनहोनी हुने रामरिझनको चेतावनी
कमला पुल निर्माणका लागि वरिष्ठ पत्रकार रामरिझन यादव पटक पटक आन्दोलन गरे । उनी हुलाकी सडक संघर्ष समिति बनाएर पुल निर्माणका लागि सिरहामा महिनौँसम्म अनसन बसे ।
पटक पटक मन्त्रीहरू र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई कमलामा नयाँ पुल निर्माणका लागि ज्ञापनपत्र बुझाए । उनको आन्दोलनलाई सरकारले पनि बेवास्ता गरिरहे । केहि दिनदेखि मौन बसेका उनलाई इन्जिनियरहरुको आन्दोलनले उत्साहित बनाएको छ ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विगत आधा दशकभन्दा बढी समयसम्म मेरो नेतृत्वमा रहेको कमला पुल संघर्ष समितिलाई सिरहाका क्रान्तिकारी युवाहरूले मोर्चा सम्हालिसकेका छन् । त्यसैले म ढुक्क छु । अब नयाँ कमला पुल निर्माण नहुन्जेलसम्म मेरा बालबच्चाहरूले संघर्षलाई विराम दिने छैन ।’
कमला पुल नबनाए अब अनहोनी हुन सक्ने चेतावनी दिँदै उनले भनेका छन्, ‘परिस्थितिले कोल्टे फेर्दैछ भन्ने हेक्का सम्बन्धित निकायलाई होस् । जसरी बंगलादेशमा शेख हसिनाले युवाहरूको मागलाई बेवास्ता गरेपछि उसलाई देश छोड्नु पर्यो त्यसरी नै सरकारले नयाँ कमला पुल नबनाए सिरहामा संघीय सांसद र मन्त्री प्रवेश प्रतिबन्धित हुने सम्भावना बढ्दो छ ।’