नेपालमा २० वर्षमुनिको जनसंख्यामा महिलाभन्दा पुरुष बढी
डोटी । नेपालमा २० मुनिको जनसंख्यामा पुरुषको संख्या बढी देखिएको छ । राष्ट्रिय जनगणना, २०७८ को प्रतिवेदन अनुसार २० वर्षमुनिको जनसंख्या एक करोड १० लाख ८१ हजार नौ सय ८७ रहेको छ । यो संख्या नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ को करिब ३८ प्रतिशत हुन आउँछ ।
२० वर्षमुनिको जनसंख्यामा पुरुषको संख्या ५७ लाख २४ हजार ४ सय १५ अर्थात् करिब ५१.६६ प्रतिशत रहेको छ । सोही उमेर समूहका महिलाको संख्या ५३ लाख ५७ हजार ५ सय ७२ अर्थात् करिब ४८.३४ प्रतिशत रहेको छ ।
जनगणनाको अन्तिम प्रतिवेदन अनुसार शून्यदेखि ४ वर्ष उमेर समूहमा बालकको संख्या १२ लाख ९० हजार पाँच सय २५ र बालिकाको संख्या ११ लाख ४८ हजार सात सय ५८ रहेको छ ।
५ देखि ९ वर्ष उमेर समूहका बालकको संख्या १४ लाख ४३ ४३ हजार चार सय १३ र बालिकाको संख्या १३ लाख २३ हजार २२ रहेको छ ।
यस्तै, १० देखि १४ वर्ष उमेर समूहका बालक १४ लाख ९५ हजार नौ सय ५४ र बालिकाको १४ लाख १३ हजार नौ सय ११ रहेको छ । १५ देखि १९ वर्ष उमेर समूहका पुरुष १४ लाख ९४ हजार पाँच सय २३ र महिला १४ लाख ७१ हजार आठ सय ८१ रहेको प्रतिवेदनले देखाएको छ ।
२० वर्षभन्दा माथिको जनसंख्यामा पुरुषभन्दा बढी महिलाको संख्या रहेको प्रतिवेदनले देखाएको छ । कुल जनसंख्यामा महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१.१ प्रतिशत र पुरुषको संख्या एक करोड ४२ लाख ५३ हजार पाँच सय ५१ अर्थात् ४८.९ प्रतिशत रहेको छ ।