दुर्गा प्रसाईंका भान्जा रवि चुडाललाई शर्मिला वाइबाकी ‘बडीगार्ड’ ले उफ्रीउफ्री कुटिन्, कुटिने उल्टै खोरमा – Nepal Press

दुर्गा प्रसाईंका भान्जा रवि चुडाललाई शर्मिला वाइबाकी ‘बडीगार्ड’ ले उफ्रीउफ्री कुटिन्, कुटिने उल्टै खोरमा

झाँक्री प्रकाश भुजेलले गरेका थिए चुडालविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । युट्यूवमा भाइरल हुने क्रममा रहेका रवि चुडाल आफैंले कुटाइ खाएर उल्टै हिरासतमा पुगेका छन् । हिजो अनामनगरको सिलौटो रेस्टुरेन्टमा कुटिएका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

चुडाललाई एक युवतीले उफ्रीउफ्री मुखमा मुड्कीले र ढाडमा लात्तिले हानेको भिडिओ सार्वजनिक भएको छ । हेल्मेट लगाएर भित्र पसेका चुडालले हेल्मेट खोल्नासाथ पछाडिबाट कठालोमा समातेर युवतीले भकुरेकी थिइन् । चुडालले कुनै प्रतिरोध प्रयास गरेका छैनन् ।

भिडिओमा व्यवसायी दुर्गा प्रसाईंका समर्थक नरनाथ गौतमलगायत केही युवाहरू देखिएका छन् । उनीहरूले ‘दुर्गा प्रसाईंको विरोध गर्ने ? प्रकाश भुजेलको विरोध गर्ने ?’ भन्दै चुडालको झाँको झारेका थिए ।
केहीबेरपछि सिंहदरबार वृत्तबाट प्रहरी घटनास्थलमा आएको थियो । तर, पिट्नेलाई केही नगरिकन पिटाइ खाने चुडाललाई लिएर गयो ।

चुडाल चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंका भाञ्जा पर्छन् । यद्यपि, उनी प्रसाईंका खुंखार विरोधी हुन् । उनले प्रसाईंको खेदो खन्दै युट्यूवमा अन्तरवार्ताहरू दिने गरेका छन् । हालैमात्र प्रसाईंले दुबईबाट एक युवालाई मृत्युदण्डबाट जोगाएको दाबी गरेपछि त्यसको खण्डन गर्दै एउटा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । त्यसमा चुडालले प्रसाईंको निन्दा गरेका थिए ।

उक्त पत्रकार सम्मेलनपछि नरनाथ गौतमले चुडाललाई आफूले नछाड्ने भन्दै अन्तरवार्ता दिएका थिए । हिजोको घटनामा प्रसाईं र झाँक्री प्रकाश भुजेलको निर्देशनमा भएको आशंका समेत गरिएको छ । यद्यपि, घटनास्थलमा पछि पुगेका कलाकार जयकिशन बस्नेतले पिट्ने महिला शर्मिला वाइबाकी अंगरक्षक भएको बताए ।

‘म उनलाई राम्रोसँग चिन्छु, शर्मिला वाइबासँग धेरैपटक देखेको हुँ’ शर्मिलालाई आफ्नो बहिनी बताउँदै उनले भनेका छन् ।

शर्मिला वाइबासँग पनि बडीगार्ड छन् र ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘उहाँ ४-५ जना बडीगार्ड लिएर हिँड्नुहुन्छ ।’

प्रत्यक्षदर्शीका अनुसार घटनास्थलमा शर्मिला वाइबा पनि उपस्थित थिइन् । चुडाललाई पक्राउ गराउने योजनासहित सिलौटोमा बोलाएर कुटपिट गरिएको आशंका छ ।

झाँक्री प्रकाश भुजेलले चुडालविरुद्ध बौद्ध प्रहरीमा अभद्र व्यवहारमा उजुरी गरेका थिए । सोही उजुरीलाई लिएर सिंहदरबार प्रहरीले पक्राउ गरेर आफूहरुलाई बुझाएको बौद्धका प्रहरी उपरीक्षक राजु पाण्डेले नेपाल प्रेसलार्ई बताए ।

‘उहाँविरुद्ध उजुरी परेको थियो, त्यसैले हामीले हिरासतमा राखेका हौं,’ उनले भने । आक्रमण गर्नेलाई पक्राउ नगरिएको बारे उनले अनभिज्ञता दर्शाए ।

बुझिएअनुसार चुडाललाई आज म्याद थपको तयारी भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर