नमागिएको एउटा सल्लाह प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा – Nepal Press

नमागिएको एउटा सल्लाह प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा

प्रधानमन्त्री केपी शर्मा ओलीज्यू
सादर नमस्कार

जीवनको सात दशक उमेर पार गरिसक्नु भएको छ । तथापि देश र जनताका लागि भन्दै खटिरहनु भएकै छ । सूचना हासिल गर्ने तथा सामाजिक सञ्जालमा समेत अभ्यस्त तपाईंको जीवनशैली देख्दा लोभ लागेर आउँछ । हेर्दा लाग्छ- तपाईंले नजानेको, नबुझेको, थाहा नपाएको र गर्न नसक्ने विषयवस्तु नै यहाँ केही छैन । समकालीन राजनीतिका खेलाडीमध्ये ‘चतुर’ तपाईंका बारे विशिष्ट परिस्थितिको ‘कलेवर’ मा निर्मित वर्तमान सरकारसँगै जोडेर तपाईंले नमागे पनि र ग्रहण नगरे पनि जबरजस्त ‘नमागिएको सल्लाह’ का केही हरफहरु कोर्ने धृष्टता गर्दैछु । अन्यथा लिएर ‘बालेन र कुलमान’ लाईं झैं ‘बक्र नजर’ ले हेर्नुहुने छैन भन्ने कुरामा समेत विश्वस्त छु ।

सर्वप्रथम मध्यरातमा सरकार निर्माण गरेर प्रचण्ड सरकार ढाल्ने पक्षमा तपाईंहरु पुग्नुका पछाडि पक्कै पनि विशिष्ट कारणहरु छन् । त्योमध्येको मुख्य कारण तपाईंहरुले सार्वभौम संसदमा व्यक्त गरेकै आधारमा पनि ‘संविधान संशोधन’ लाई लिन सकिन्छ । हो, संसारमै उत्कृष्ट भनिएको हाम्रो संविधानले राजनीतिक स्थिरता दिनै सकेन ! संविधान ‘बाइबल’ र ‘कुरान’ झैं नचलाइराख्ने हो भने हजार वर्षमा पनि नेपालमा कुनै पनि पार्टीको बहुमत आउने सम्भावना न्यून देखिन्छ । निर्वाचन प्रणालीलगायतका अन्तरवस्तुलाई निर्वाचन प्रणाली चलायो कि विरोध हुन्छ भन्ने नाममा नचलाइराख्ने हो भने भोलि गणतन्त्रविरुद्ध नै ‘बंगलादेशी हावा’ ले नछोला भन्न सकिन्न । मलाई भरपूर विश्वास छ- प्रचण्ड सरकार ढाल्नमात्र ‘काग्रेस-एमाले’ गठबन्धन भएको होइन भने संविधान संशोधन तपाईंहरुको पहिलो एजेण्डाभित्रै पर्नुपर्छ, तर अस्थिर राजनीतिको धमिलो पानीमा माछा मार्न पल्केकाहरु ‘छद्म रुप’ मा तपाईंको बेडरुमसम्मै संविधान संशोधनको एजेण्डा अगाडि सार्‍यो कि मुलुक थेग्नै नसक्ने अवस्थामा पुग्नसक्छ भन्ने ‘हवाई कल्पना’ बोकेर आइपुग्न सक्छन् । यसमा तपाईंको नेतृत्वको सरकार पक्कै सचेत होला भन्ने विश्वास छ ।

केही दिनअघि पुनः पानीजहाजको विषय अगाडि सार्नुभयो । जहाज चलाउनुस्, रेल चलाउनुस्, नेपालीलाई ‘केरुङदेखि कुस्मा’सम्म पुर्‍याउनुस्, घरघरमा ग्यासको पाइप जडान गरिदिनुस् । यी यावत विषयमा तपाईंलाई शुभकामना छ, तर सम्भाव्यता अध्ययन नै नगरी, स्रोतको समेत व्यवस्थापनबेगर नै एकाएक कार्यान्वयन तहमा लैजानै नसकिने विषयमा हल्का टिप्पणी गरेर आफैं ‘ट्रोल’ नबनिदिनुस् भन्ने नै हो । जहाज चढ्न पुस १६ गते लाइन लाग्नुस् भन्नुभएको याद नै होला । तपाईंका ती भाषणमा तपाईंका पार्टीका कार्यकर्ताले उत्साहपूर्वक मात्र होइन, शंकारहित तरिकाले ताली बजाए, तर आज एमाले मुख्यालयमा बाढी पसेर जलमग्न हुँदा अब जहाज चलाउनु भन्ने तपाईंका हिजोका ती भनाइलाई ‘ट्रोल’ बनाइरहेछन् । अब तपाईंको उमेर र इतिहासले पनि तपाईंमाथि सुम्पेको कार्यभार पूरा गर्ने समय हो यो । यतिबेला तपाईंले आफैं ‘ट्रोल’ बन्नेगरी समय व्यतित गर्ने छुट कम्तीमा तपाईंलाई छैन । अरु स्टन्टका निम्ति सुविधा सम्पन्न गाडी घरमै छाडेर बस चढून्, त्यो बेग्लै कुरा हो । किनकि इतिहासले तपाईंलाई यतिबेला बन्ने नै हो भने साँच्चै ‘नायक’ बन्ने अवसर प्रदान गरेको छ । भलै त्यो अवसर तपाईंहरुले मध्यरातमै सिर्जना गरेको किन नहोस् !

हो, संसारमै उत्कृष्ट भनिएको हाम्रो संविधानले राजनीतिक स्थिरता दिनै सकेन ! संविधान ‘बाइबल’ र ‘कुरान’ झैं नचलाइराख्ने हो भने हजार वर्षमा पनि नेपालमा कुनै पनि पार्टीको बहुमत आउने सम्भावना न्यून देखिन्छ । निर्वाचन प्रणालीलगायतका अन्तरवस्तुलाई निर्वाचन प्रणाली चलायो कि विरोध हुन्छ भन्ने नाममा नचलाइराख्ने हो भने भोलि गणतन्त्रविरुद्ध नै ‘बंगलादेशी हावा’ ले नछोला भन्न सकिन्न ।

प्रधानमन्त्रीज्यु,

यतिबेला राज्यमा चौतर्फी निराशा छाएको छ । केहीलाई छाडेर मन्त्रीमण्डलमा प्रतिनिधित्व गर्ने संघ तथा प्रदेशका मन्त्रीको अनुहार हेर्दा ‘विधि र पद्धति’ का विरुद्ध काम गरेबापत दक्षिणबाहु नै दिनुपर्ने स्थिति देखिन्छ । दाग नलागेकै व्यक्ति पनि भोलि मन्त्रीमण्डलबाट फिर्ता हुँदा कुन रुप लिएर फिर्ता होलान् ? अनुमान लगाउन कठिन छ । तपाईंका सामु उभिएर सत्य कुरा बोल्ने आँट कतिले गर्लान् ? त्यो म अनुमान पनि लगाउन सक्दिनँ, तर तपाईंमाथि पनि तपाईंले चित्रगुप्तकै सामुन्ने खडा भएर घण्टौं जवाफ दिन तयार छु भने पनि ‘गिरीबन्धुदेखि गोकर्ण फरेस्ट’सम्मका प्रकरणले तपाईंलाई लखेटी नै रहनेछ । हिजोका मुद्दामा स्पष्टीकरण वा हिजो उठाएका ‘जहाज-रेल-ग्यास’ हुँदै दमकमा निर्मित भ्यूटावरदेखि धरहरासम्मको विषय अहिलेलाई इतिहासलाई सुम्पिदिनुस् । यी विषय उठाउनुभयो कि तपाईं बन्ने भनेको ‘ट्रोल’ नै हो । कल्पना गर्नुस् त प्रधानमन्त्रीज्यु, २०६२/०६३ को ऐतिहासिक जनआन्दोलन आफ्नै जीवनकालमा नभएको भए र त्यो आन्दोलनको नेतृत्व आफैंले नगरेको भए नेपालको इतिहासमा ‘गिरिजा बाबु’ को स्थान कति अप्रिय हुने थियो होला ! धन्न त्यो आन्दोलनले गिरिजा बाबुलाई शिखरमै पुर्‍याइदियो ।

युवा मनोविज्ञानका भरोसा बन्दै गएका बालेन, ३४ अर्ब ६१ करोड नोक्सानीमा रहेको विद्युत प्राधिकरणलाई ४७ अर्ब ४१ करोड सञ्चित नाफामा पुर्‍याउने कुलमान र टीयूका भीसीका पछाडि नलागी इतिहासमा दर्ज हुने काम गरेर पुग्न चाहेमा शिखरमा पुग्ने पालो अब तपाईंको हो । हुन त राष्ट्रिय-अन्तर्राष्ट्रिय विश्वास आर्जन गरेर ‘संविधान संशोधन’को कार्यभार पूरा गरेर राष्ट्रिय राजनीतिको अभिभावकीय भूमिकामा देखा त कांग्रेस सभापति शेरबहादुर देउवा पर्नसक्नु पर्थ्यो, तर घरैमा नायबी शासन चलिरहेकाले त्यो भूमिकामा सभापति देउवा देखिने सम्भावना न्यून छ । त्यो भूमिकामा देखापर्दा इतिहासले सम्झनेछ भन्ने कुराको हेक्का कांग्रेस महामन्त्रीद्वय ‘गगनकुमार थापा र विश्वप्रकाश शर्मा’ मा देखिन्छ, तर पार्टीमा परम्परागत गुठियारहरुको ‘बोलवाला तथा घेराबन्दी’ रहेकाले आजै ‘गगन-विश्व’ले क्षमता देखाउने ठाउँ पाइहाल्लान् भनेर विश्वस्त हुने ठाउँ छैन ।

तसर्थ, सत्ताको क्याप्टेन तपाईं भएकै नाताले गिरिजाप्रसादपछि शिखर पुरुष बन्ने अवसर ‘संविधान संशोधन’ का माध्यमबाट तपाईंको काँधमा आएको छ । यतिबेला धरहराको बेसमेन्टको विषयलाई लिएर ‘बालेन’ तथा डेडिकेटेड लाइनको विषयलाई लिएर ‘कुलमान’सँग ‘कि तँ छैन, कि म छैन’ को शैलीमा लडाइँ लड्नु भनेको समयको वेग नबुझ्नु नै हो । तपाईं आफैंले यी हरफहरु पढ्नुभयो भने मेरा यी हरफहरुले तपाईंलाई आक्रोशित बनाउन सक्छ, तर पनि आजका मितिको तपाईंको लडाइँको विषय भनेको ‘संविधान संशोधन’का माध्यमबाट ‘राजनीतिक स्थायित्व’ खोज्ने नै हो न कि ‘बालेन-कुलमान’सँग पौंठेजोरी !

युवा मनोविज्ञानका भरोसा बन्दै गएका बालेन, ३४ अर्ब ६१ करोड नोक्सानीमा रहेको विद्युत प्राधिकरणलाई ४७ अर्ब ४१ करोड सञ्चित नाफामा पुर्‍याउने कुलमान र टीयूका भीसीका पछाडि नलागी इतिहासमा दर्ज हुने काम गरेर पुग्न चाहेमा शिखरमा पुग्ने पालो अब तपाईंको हो ।

प्रधानमन्त्रीज्यू,

तपाईंका सामुन्ने धेरैले उभिएर तपाईंले नरुचाउने सुझाव दिने आँट गर्नै सक्दैनन्, जसले त्यो आँट गर्छ, ऊ तपाईं सामुन्ने पुग्ने सम्भावना छँदैछैन । यो कुरा लेख्दै गर्दा मुगल सम्राटको हात्तीको एउटा कथाको याद आयो । सन्दर्भ मुगल सम्राटले अत्यन्त मन पराएको उनको प्रिय हात्तीको हो । हात्तीका सौखिन मुगल सम्राटले आफ्नो सोखका लागि हात्ती पालेका थिए । अचानक एक दिन उनको प्रिय हात्ती मर्‍यो, तर मुगल सम्राटका लागि अप्रियकर उनको प्रिय हात्ती मर्‍यो भन्ने समाचार हात्तीसारका कर्मचारी, पशु चिकित्सकलगायत कसैले पनि सम्राटलाई सुनाउने आँट गरेनन्, तर नसुनाउँदा पनि आफ्नै ज्यान खतरामा पर्ने भयले सांकेतिक रुपमा घुमाउरो पाराले मुगल सम्राटसामु हात्ती जीवित रहेको सन्देश दिन थाले । कसैले भने- ‘हात्ती आँखा हेर्दैन’ । कसैले भने- ‘हात्तीमा जीवित जनावरमा हुने तापक्रम छैन’ । कसैले भने- ‘हात्ती उठ्नै सक्दैन’ । यी सबै सुनिरहेका सम्राटले आफ्ना एक जना कर्मचारीलाई हात्तीको अवस्थाका बारे जाहेर गर्न आदेश दिए । फर्केर आएर उनले पनि भने– ‘सरकार, हात्ती चल्नु चटपटाउनु, केही नगरी लम्पसार छ ।’ सम्राटले प्रश्न गरे- ‘मेरो प्रिय हात्ती मरेकै हो त ?’ हात्तीको अवस्था बुझ्न गएका कर्मचारीले जवाफ फर्काए- ‘सरकारको प्रिय हात्ती मर्‍यो नै त म बबुराले कसरी भनुँ, तर स्थिति त्यही हो ।’ प्रधानमन्त्रीज्यु, तपाईंका सामु आइपुग्ने जोकोहीको पनि स्थिति भनेको हात्तीसारका कर्मचारीको जस्तै हो ।

अहिले कांग्रेससमेत सम्मिलित भएर तपाईंको नेतृत्वमा सरकार निर्माण भएका कारण जनतामा संविधान संशोधनका माध्यमबाट राजनीतिक स्थिरता हुन्छ कि भन्ने आशा पलाएको छ । हुन त तपाईंले ७३ वर्षदेखि बोकेर ल्याउनुभएको ‘नेचर’ अब बुढ्यौली लागिसक्दा परिवर्तन कति नै गर्न सक्नुहोला र ! तथापि प्रतिनिधिसभाको दुई तिहाइ मतसँगै चौथो पटक देशको कार्यकारी पदमा तपाईं पुग्दा आमनागरिकको अपेक्षालाई धेरथोर तपाईंले सम्बोधन गर्नुहोला भन्ने नै हो । छिमेकीको बधाई, नेप्से र उहीबेला ठडिएको धरहरा हेर्नमात्र नेपाली जनताले तपाईंलाई प्रधानमन्त्रीको रुपमा पाएका होइनन् । न प्राधिकरणका अर्काका दुई सञ्चालक हटाएर आफ्ना दुईलाई नियुक्ति दिन नै तपाईंको चौथो ‘इनिङ’ भएको हो ! हनिमुन पिरियड रहेकै समय यहाँ तपाईंका बारे कटाक्ष गर्न खोजिएको होइन ।

तपाईंको चौथो इनिङ सुशासनको प्रत्याभूति, संविधान संशोधनमार्फत निर्वाचन प्रणालीमा परिवर्तनसँगै राजनीतिक स्थिरताका निम्ति हो भन्ने हाम्रो बुझाइ हो, तर अहिलेसम्म त ‘अनियमितताका शिरोमणि’लाई राष्ट्रपति सामुन्ने ‘तँ मन्त्री भइस्’ भन्नमात्र देखियो ! ढिलो-चाँडो सम्मानित अदालतले संविधान मिचेर निर्माण भएको सरकार भनेर तपाईंको सरकारलाई नजिर बनाइदियो भने तपाईंसँग न ‘संविधान संशोधन’ न त ‘रेल’ को विषय नै बाँकी रहन्छ ! संसदको अंकगणितले गर्दा पाइला-पाइलामा कानून उल्लंघन गर्ने व्यक्ति नै कानून निर्माण गर्ने थलोमा पुगेर ‘ठाँटले गफ लगाउँदैछन् !’ तथापि तपाईं र तपाईंले नेतृत्व गरेको सरकारप्रतिको अपेक्षा भनेको एउटै पार्टीले बहुमत ल्याएर ५ वर्षे स्थिर सरकार दिन सक्नेगरी संविधान संशोधन गर्न पूर्वाग्रहरहित अभिभावकीय भूमिका खेल्नुहोला कि भन्नु नै हो । ‘राम्रा’ मानिसलाई जोडबल लगाएर निकाली ‘हाम्रा’ मात्र खोजेर देश कहिले बन्ला प्रधानमन्त्रीज्यु ?

तपाईंको चौथो इनिङ सुशासनको प्रत्याभूति, संविधान संशोधनमार्फत निर्वाचन प्रणालीमा परिवर्तनसँगै राजनीतिक स्थिरताका निम्ति हो भन्ने हाम्रो बुझाइ हो, तर अहिलेसम्म त ‘अनियमितताका शिरोमणि’लाई राष्ट्रपति सामुन्ने ‘तँ मन्त्री भइस्’ भन्नमात्र देखियो !

प्रधानमन्त्रीज्यूलाई कत्तिको हेक्का छ- बिचौलियाहरु कहिले उद्योगी र कहिले आईटीविज्ञका रुपमा बालुवाटारमा प्रवेश गरिरहेका हुन्छन् ! नयाँनयाँ ‘आकाशे प्लान’ बोकेर कहिले नेपालीको आफ्नै ‘स्याटेलाइट’ त कहिले ‘रासायनिक मल, गोकर्ण रिसोर्टको जग्गा लिज, दरवार संग्रहालय’ हुँदै कोभिड महामारीका समय ‘यती र ओम्नी’ का नाममा बालुवाटार प्रवेश गर्ने कथित ‘विज्ञ’ लाई चिन्न सक्नुभएन भने तपाईंको कार्यकाल पनि नेपाली जनताका लागि उपलब्धिमूलक रहन्न । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई ‘सर्प’, माधवकुमार नेपाललाई ‘बालुवाटारदेखि पतञ्जली’ हुँदै तपाईं स्वयंलाई ‘गिरीबन्धु’देखि अर्का पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई ‘वाइड बडी’सम्मको ‘भाष्य’ ले जीवनभर छाड्ने स्थिति देखिन्न ।

जीवनको उत्तरार्द्धमा कति ‘भाष्य’ निर्माण गर्ने ? तपाईंसामु हवाई सपना बोकेर आउने २-४ थान ‘बिचौलिया’ लाई बालुवाटारबाटै टंगाल पठाइदिनुस् । टेरामक्स होस् कि टि-इस्टेट, टीकापुर होस् कि सहकारी, यी विषयमा सापेक्षता नदेखाइ ‘राजनेता’ का रुपमा उभ्याउन सक्दामात्र इतिहासमा नाम लेखिन सम्भव छ । हुन त नमागिएको सल्लाह दिइएको हो । यी हरफहरु हेर्न तपाईंसँग समय नहुन पनि सक्छ, तर भू-राजनीतिक सन्तुलन कायमै राख्दै सत्तारुढ अन्य दलले पनि ‘थेग्न’ र ‘झेल्न’ सक्ने तथा कुलमान हुँदै आमकर्मचारीले पनि आफ्नो अभिभावक मान्नसक्ने प्रधानमन्त्री तपाईं बन्न सक्नुभयो भने चित्रगुप्तले पनि तपाईंलाई ‘स्वर्ग र नर्क’ को बीचैमा रोकेर दर्जनौं प्रश्न गर्ने आँट नराख्नसक्छ । अन्यथा संविधान संशोधनको मुद्दा छाडेर ‘बालेन-कुलमान’ सँगै पौंठेजोरी खेलेर बस्नुभयो भने दर्जनौं प्रश्नको सामना गर्न ‘चित्रगुप्त’ सम्म पुग्नैपर्दैन ।

समग्रमा प्रधानमन्त्रीज्यूलाई इतिहासले साँच्चै ऐतिहासिक कार्यभार सुम्पेको छ । संसारकै इतिहासमा संसदको प्रथम र द्वितीय पार्टी मिलेर सरकार निर्माण गर्ने घटना कमै हुन्छ । अपोजिसनबाट दर्जनौं ‘भाष्य’ सरकारविरुद्ध निर्माण गर्ने प्रयत्न हुन्छ, ती भाष्य मिथ्या थिए भनेर प्रमाणित गर्ने दायित्व तपाईंहरुको हो । संघ तथा प्रदेशमा सामेल कतिपय मन्त्रीको पृष्ठभूमि हेर्दा ‘पञ्चायत बिर्साउने’ देखिन्छ । जीवनमा नाजायजबाहेक जायज काम एउटै नगरेकाहरु पनि मन्त्रीमण्डलमा पुग्न सफल भएका छन् । त्यस्ता मन्त्रीबाट रिजल्ट निकाल्नु भनेको ‘जोक्स’ जस्तै हो । तसर्थ, यतिबेला घुमाइफिराइ तपाईंले भन्नुभए झैं ‘कति ह्याण्डसम’ भन्नेहरुको बालुवाटारमा बेपत्ता भीड नै होला ! यतिबेला तपाईंले कथित ‘उद्योगी-व्यापारी’देखि बहुरुपी ‘बिचौलिया’सम्मलाई चिन्न सक्नुभएन भने राजनीतिक स्थिरताका लागि ‘संविधान संशोधन’को बाटो मुलुकले समाउन त सक्नेछैन नै, त्यतिबेला तपाईं र तपाईंसँगको समकालीन बाँकी नेतृत्वलाई ‘हसिना’ बन्नबाट समेत कसैले रोक्न सक्नेछैन ।

उही संघीय लोकतान्त्रिक व्यवस्थाको शुभचिन्तक


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *