धरान खानेपानी विवाद : दलहरूलाई वार्तामा आउन हर्कले पठाए पत्र
विराटनगर । धरानमा खानेपानीको शुल्क र महसुल वृद्धिको आन्दोलन चर्किँदै गएपछि मेयर हर्क साम्पाङ्गले १० दलहरूलाई वार्ताका लागि औपचारिक आव्हान गरेका छन् । खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका मेयर साम्पाङ्गले पत्र पठाएर वार्तामा बोलाएका हुन् ।
उनले वार्ताका लागि आव्हान गरेसँगै दलहरूले पनि तयारी थालेका छन् । यसअघि बिहीबार साम्पाङले आन्दोलन भएकै ठाउँमा उभिएर वार्तामा बोलाएका थिए ।
उनले वार्ताका लागि आव्हान गरिरहँदा दलसहित विद्यार्थीहरूले धरान उपमहानगरको कार्यालयमा घेराउ गरेका थिए । बिहीबार विद्यार्थीहरूले खानेपानीको धारा जडान, नामसारी र महसुल वृद्धिको विरोधमा उप महानगर घेराउ गर्दा तोडफोडसमेत भएको थियो । आज पनि कार्यालय खुल्न साथ कार्यालय घेराउ सुरू भएको थियो ।
नेकपा एमाले धरानका अध्यक्ष हर्कजङ्ग एभेङ्गले औपचारिकरूपमा आव्हान भएसँगै अब १० दलको बैठक बसेर वार्तामा जाने बताए ।
उनले भने, ‘हामी वार्ताका लागि तयार छौं । मेयरले वार्तामा बोलाउनुभएको छ अब बैठक बसेर जान्छौं ।’
खानेपानी व्यवस्थापन बोर्डले धरानमा खानेपानीको धारा जडान, मृतकबाट नामसारी लगायतको धारा जडानको शुल्कमा मनपरी शुल्क बढाएका थिए । यस्तै खानेपानीको महसुलमा समेत साउन १ गतेबाट लागू हुने गरी वृद्धि गरिएको छ । दररेट बढाएपछि धरानमा निरन्तर आन्दोलन भइरहेको छ ।