विशेष अदालतबाट दोषी ठहर भएका चूडामणि शर्माको मुद्दामा सर्वोच्चबाट कारण देखाऊ आदेश जारी – Nepal Press

विशेष अदालतबाट दोषी ठहर भएका चूडामणि शर्माको मुद्दामा सर्वोच्चबाट कारण देखाऊ आदेश जारी

काठमाडौं । भ्रष्टाचारको अभियोगको मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका सहसचिव चूडामणि शर्माको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले कारागारमा बन्दी राख्नुपर्ने कारण लिखित रूपमा पेस गर्न आदेश गरेको हो ।

सहसचिव एवम् आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक शर्माले भ्रष्टाचार मुद्दामा सर्वोच्चमा पुनरावेदनसँगै बन्दीको निवेदन दर्ता गरेकोमा उक्त निवेदनमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो ।

सर्वोच्चले विशेष अदालत, कारागार व्यवस्था विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आफ्नै रिट तथा मुद्दा महाशाखाका नाममा आदेश जारी गरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले जानकारी दिए ।

उनका अनुसार शर्माले आफू गैरकानूनी थुनामा परेको भन्दै सर्वोच्च अदालतमा निवेदन पेस गरेका थिए । बाहिरै बसेर विशेष अदालतको फैसलाविरुद्ध आफूले पुनरावेदन गर्न पाउनुपर्नेमा थुनिने परिस्थिति बनेको उनको निवेदन थियो ।

विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेका शर्माले आफू बिरामी समेत रहेको दाबीसहित बन्दी प्रत्यक्षीकरण निवेदन लिएर सर्वोच्च पुगेकामा सर्वोच्चले विशेषको फैसला त्रुटिपूर्ण रहेको जनाएको प्रवक्ता कुईकेलले बताए ।

विशेष अदालतले कर फर्स्यौट आयोगमा रहँदा शर्माले राज्यको सम्पत्ति दुरुपयोग गरी कर छुट दिएको भन्दै ९ वर्ष कैद सजाय र ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँको जरिवाना गराउने आदेश दिएको थियो । विशेष अदालतले उनलाई २०८० असारमा आदेश दिदैँ यस्तो सजाय गर्ने फैसला गरेको थियो ।

विशेष अदातलले शर्मासँगै तत्कालिन कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेशप्रसाद ढकाल पनि दोषी ठहर गरेको थियो । अख्तियारले उनीहरूसँग १ अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बराबर भ्रष्टाचार गरेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर