लुम्बिनीको सिंगै मन्त्रीमण्डल प्रधानमन्त्री निवासमा, विष्णु र शंकरलाई साक्षी राखेर के भने ओलीले ?
रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न काठमाडौंमा ४ दिनदेखि कुरेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहितका सबै मन्त्रीले आइतबार दुई घण्टा समय पाए । प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशबाटै प्रतिनिधित्व गर्ने एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, लुम्बिनीका संस्थापक मुख्यमन्त्री तथा एमाले महासचिव शंकर पाखरेलसमेतलाई साक्षी राखेर मन्त्रीहरूसँग सामूहिक छलफल गरेका छन् ।
प्रधानमन्त्रीसँगको भेटमा मुख्यमन्त्री आचार्यसहित एमालेका ५ र कांग्रेसका ४ मन्त्री सहभागी थिए । लुम्बिनीमा संसदीय दलका नेता लीला गिरीलाई पन्छाएर उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्रीमा अघि सारिएपछि सरकारको कामको ‘स्पिरिट’ लाई लिएर अनेकन टिप्पणी भइरहेका बेला ओलीले पूरै मन्त्रिमण्डललाई भेटेको विषयमा धेरैको चासो थियो ।
सानातिना विषयमा नअल्झी नतिजामुखी काम गरेर देखाउन प्रधानमन्त्रीले निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले दुई दलको संयुक्त सरकार रहेको र यो सरकारसँग जनताका धेरै अपेक्षा रहेको पनि बताएको सहभागी एक मन्त्रीले बताए ।
बिहान ११ बजे बालुवाटारमा पुगेको टोलीलाई प्रधानमन्त्री ओलीले प्रदेशका मुख्य समस्याबारे चासो राखेका थिए । सुरूमा ओलीले प्रदेशका मुख्य समस्याका विषयमा चासो राखेका थिए भने त्यसपछि प्रदेशले अगाडि बढाउनुपर्ने तत्कालीन र दीर्घकालीन योजनाका विषयमा आफ्नो धारणासहित निर्देशित गरे ।
‘एमाले कांग्रेसको संयुक्त सरकार हो, सानासाना नियुक्तिका विषय, अन्य जिम्मेवारी विभाजनका विषयमा अल्झने छुट छैन, दुई दलको साझा एजेण्डा पहिले नै तय गरेर परिणाममुखी काम देखाउनुहोला, यो केन्द्रको स्पष्ट निर्देश बुझेर काम गर्नुहोला, सरकारका विषयमा प्रश्न उठाउने विषय नल्याउनुहोला’, ओलीको भनाइ उद्धृत गर्दै भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले नेपाल प्रेसलाई भने ।
अहिलेको समीकरण र सरकार मुलुकको विशेष अवस्थाका कारण बनेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले एमाले र कांग्रेस मिल्दा पनि देश बनाउन नसकिए कसले बनाउँछ ? भन्दै प्रश्न उठेकाले त्यसमा सजग रहन पटक पटक ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्रीले हाल घाटा बजेटमा सरकार सञ्चालन भएकाले आफूहरूले छोडेर जाँदा यस्तो अवस्थाको अन्त्य गराउने गरी काम गर्न आग्रह गरे ।
ओलीले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारी वृद्धितर्फ ध्यान केन्द्रित गर्न आग्रह गर्दै उपयुक्त माटोमा उन्नत जातका बाली लगाएर कृषिलाई औद्योगीकरण गर्दै त्यसको बजार विस्तार गर्न तत्काल योजना बनाउनुपर्ने बताए ।
‘अहिले समग्र अर्थतन्त्र ओरालो लागेको छ । भवन, कार्यालय आदि संरचनामा खर्च गरेर तत्काल उत्पादन वृद्धि हुन सक्दैन । हामीसँग उर्वर धर्ती, पानी र हावापानी छ । मेहनत गरेर उत्पादन र रोजगारी बढाउन सकिने धेरै आधार छन्’, ओलीको निर्देशन स्मरण गर्दै ढकालले भने, ‘यस्ता काममा हाम्रा राजनीतिक दलका संगठन र कार्यकर्ता पनि लाग्नुपर्छ । तीनिहरूले जनतासँग नङ र मासुको सम्बन्ध बनाउनुपर्छ । हामीहरू नियुक्तिमा को जानेर नजाने खालको साना विषयमा अल्झनु हुँदैन । मुख्य कुरा, देशको विद्यमान समस्याको समाधान कसरी गर्ने भन्नेमा हाम्रो ध्यान जानुपर्छ ।’
भेटमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले संचालन गरेका गौरवका चार आयोजना स्थायी राजधानी देउखुरीको व्यवस्थापन, पाल्पाको रामपुरबाट रोल्पाको जिनावांग जोड्ने सडक, बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र बाँकेस्थित लुम्बिनी प्राविधिक विश्वविद्यालयमा प्राथमिकताको साथ बजेटको व्यवस्था गर्न माग गरेका थिए ।
त्यसैगरी प्रदेश सरकारको तर्फबाट भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालन, प्रदेशले तयार गरेको तर संघले नबनाएको प्रहरी तथा कर्मचारी ऐनका कारण भएको समस्या लगायत अन्य ऐन संघबाट तयार नहुँदा भएका समस्याका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको थियो ।
मन्त्रीहरूसँग प्रधानमन्त्री ओलीले छिट्टै प्रदेशसभालाई सम्बोधन गर्न आउने प्रतिवद्धता पनि जनाएका छन् ।
प्रधानमन्त्रीको भेटसँगै मुख्यमन्त्री आचार्यसहित सबै मन्त्री आइतबार नै फर्किएपनि मन्त्री ढकाल भने केही काम भएकाले सोमबार मात्रै फर्कने जनाएका छन् ।
प्रधानमन्त्री ओले यसअघि बागमतीका सबै मन्त्रीहरूलाई यसैगरी भेटेका थिए । उनले प्रदेशका सबै मन्त्रीहरूको सामूहिक धारणा पनि बुझ्ने र छलफल पनि हुने भएकाले यस्तो कार्यक्रमको तय गरेको बताएका थिए ।