देउवा र प्रचण्डसँग भारतीय विदेश सचिव मिस्रीको भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले भेटवार्ता गरेका छन् ।
सभापति देउवाको निवास बुढानिलकण्ठमा आइतबार भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।
भेटमा नेपाल-भारत सम्बन्ध र पारस्परिक हितकारी सहयोगलाई अगाडि बढाउने तथा थप सुदृढीकरण गर्ने विषयमा छलफल भएको थियो ।
त्यस्तै, अध्यक्ष दाहाल निवास खुमलटारमा भएको भेटमा दुई देशको आपसीहितका विषयमा कुराकानी भएको अध्यक्ष दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।
उनीहरूबीच पारस्परिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा महत्वपूर्ण छलफल भएको बताइएको छ ।
भारतीय सचिव मिस्री परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका हुन् ।
सचिव मिस्रीको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गरेको जनाइएको छ । विदेश सचिव मिस्री भ्रमण सम्पन्न गरी भोलि साउन २८ गते काठमाडौँबाट प्रस्थान गर्नुहुने तालिका छ ।