पेरिस ओलम्पिकमा किन ढिलो दौडिन् सन्तोषी ? सुनाइन् यस्तो कारण (भिडिओ) – Nepal Press

पेरिस ओलम्पिकमा किन ढिलो दौडिन् सन्तोषी ? सुनाइन् यस्तो कारण (भिडिओ)

काठमाडौं । नेपाली खेलाडी सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिकअन्तर्गत महिला म्याराथनमा ७९ औँ स्थान हात पारिन्। उनले २ घण्टा ५५ मिनेट ६ सेकेन्डको समय निकालिन् ।

पहिलो भएकी नेदरल्यान्ड्सकी सिफान हसनले निर्धारित दुरी २ घण्टा २२ मिनेट ५५ सेकेन्डमा पुरा गरेर ओलम्पिक कीर्तिमान पनि तोडिन् । अर्थात सन्तोषीले सिफानभन्दा करिब ३३ मिनेट ढिलो गरी म्याराथन पुरा गरिन् । उनले विगतको आफ्नो प्रदर्शनसमेत सुधार गर्न सकिनन् । विगतको व्यक्तिगत सर्वोत्कृष्ट टाइमिङभन्दा झन्डै ९ मिनेट ढिला भइन् ।

गत वर्ष बंगलादेशमा आयोजना भएको बंगबन्धु म्याराथन उनले २ घण्टा ४६ मिनेट २३ सेकेन्ड समय निकालेकी थिइन् । आफ्नै नाममा रहेको राष्ट्य कीर्तिमान सुधार गर्ने सन्तोषीको लक्ष्य पुरा हुन सकेन । ‘मलाई निकै ग्याप राखेर राष्ट्रिय कीर्तिमान सुधार गर्छुजस्तो लागेको थियो तर यहाँ आएपछि स्थिती अर्कै भयो ।’

सन्तोषीका अनुसार दौड सुरु गर्दासम्म उनलाई शुभेच्छुकहरु भनिरहेका थिए, ‘जोखिम नमोल, रुट (दौडिने बाटो) निकै गाह्रो छ । छिटो दौडिँदा स्वास्थ्य खराब होला। ढिलो दौड तर दौड पुरा गर । ओलम्पिकमा दौड पुरा गर्नुको पनि आफ्नै महत्व हुन्छ ।’

उनलाई आफ्नो अन्तर्राष्ट्रिय प्रतियोगिताको व्यवस्थापन हेरिरहेको ग्लोबल स्पोर्ट्स म्यानेजमेन्टदेखि चिनजानका सबै जसो विदेशि प्रशिक्षक र खेलाडीले रुट खराब रहेकाले विचार गरेर दौडिन सुझाएको बताइन् ।

‘सुरुको १५ किलोमिटरसम्म राष्ट्रिय कीर्तिमान सुधार गर्ने मेरो लक्ष्यअनुसारको टाइमिङ निस्किरहेको थियो । तर बाटो उकालो र ओरालो अनि ढुंगा भएका कारण त्यसपछि गाह्रो हुन थाल्यो। कम्मरभन्दा माथी सबै ठिक भएजस्तो तर खुट्टा अगाडि बढाउनै गाह्रो भयो । इफोर्ट जति लगाएपनि केही हुन सकिरहेको थिएन’, उनले भनिन् ।

त्यसबीचमा विभिन्न देशका खेलाडीहरु घाइते भएर खुट्टा समाउँदै बसेको आफुले देखेको बताइन्। ‘मलाई दौडिरहँदा पनि बाहिरबाट बल नगर् भन्ने सुनिरहेको थिएँ। तर म त ओलम्पियन मात्र त बन्न आएको होइन भन्ने मनमनै लागिरह्यो। अर्कोतर्फ घाइते भएर गाडिमा राखेर लैजानु पर्यो भने के होला भन्ने डर पनि थियो ।

भिडिओ

करिब १९ किलोमिटरपछि मैले अर्को एक खेलाडी रोकिराखेको देखेँ । उनलाई पीडा भइरहेको थियो । त्यो देखेर चाहिँ मलाई डर लाग्यो। अनि मैले राष्ट्रिय कीर्तिमानको सपना त्यहीँ बिसाएँ। ढिलै होस् तर दौड पुरा गर्छु भन्नेमा चाहिँ अडिग थिएँ’, उनले भनिन् ।

स्वर्ण जितेकी सिफान सन्तोषीकी आइडल हुन् । उनीहरुलाई विदेशका प्रतियोगितामा ग्लोबल स्पोर्ट्स म्यानेजमेन्टले म्यानेज गर्छ । ‘सिफानसँग काम गरिरहेका धेरै अफिसियलले यो ओलम्पिकमा मलाई पनि सहयोग गरे। म नेदरल्यान्ड्समा गएर ग्लोबल स्पोर्ट्स म्यानेजमेन्टकै ग्लोबल हाउसमा सिफानलाई भेटेको हुँ। उनी पनि त्यहीँ बसेकी थिइन् । मेरो परिचय त्यहिँनिर भएको थियो’, उनले भनिन् ।

३ वर्षअघि जापानको टोकियोमा आयोजित ओलम्पिकमा सिफानले ५ हजार र १० हजार मिटरमा स्वर्ण जितेकी थिइन् । यसपटक उनी ५ हजार र १० हजार मिटरमा पनि दौडेकी थिइन् तर ती दुवैमा कास्य मात्र जितिन् र पहिलोपटक ओलम्पिक प्रतिस्पर्धा गरेको महिला म्याराथनमा उनलाई स्वर्ण हात लाग्यो। सन्तोषीले पनि एक वर्षयता मात्र म्याराथनमा प्रयाश गर्न थालेकी हुन्। त्यसअघि उनी पनि ५ हजार र १० हजार मिटरमा दौडिन्थिन्। १३ औँ दक्षिण एसियालि खेलकुद–सागमा उनले स्वर्ण पदक जितेकी थिइन् १० हजार मिटरमा ।

खासमा सिफानलाई सन्तोषीले आइडल मान्न थालेको सन् २०१८/१९ तिर हो। आठौँ राष्ट्रिय खेलकुदमा उनले १० हजार, ५ हजार र १५ सय मिटरमा दौडिएपछि आफ्नो क्षमतामाथी मानिसले गरेको आशंकालाई सिफानले त्यसको केही महिनापछि सिफानले दुबईमा भएको विश्व च्याम्पियनसिपमा तोडि दिएको उनले बताइन् ।

‘म १० हजार मिटरमा तेस्रो भएको थिएँ र त्यसको भोलीपल्ट १५ सय मिटरमा दौडिएर दोस्रो भएँ। मानिसहरु यो कसरी सम्भव हुन्छ भनेर प्रश्न गर्थे। ५ हजार मिटरमा स्वर्ण पनि जितेपछि मैले अनेकन आशंकाहरुको सामना गरेँ। तर सिफानले विश्व च्याम्पियनसिपको १० हजार मिटरमा स्वर्ण जितेको भोलीपल्टै १५ सय मिटरमा पनि स्वर्ण जितेर मेरा आलोचकलाई जवाफ दिइन्’, सिफानलाई आफुले आइडल मान्नुको कारण उनले खुलाइन्। सन्तोषीका अनुसार पेरिसमा पुगेपछि सिफानले आफु म्याराथनमा दौडिन लागेको जानकारी पाएपछि उनले छक्क लागेको भाव व्यक्त गरेकी थिइन्। ‘ तर आइतबार दौड पुरा गरेपछि मैले उनलाई भेटेँ। दौड पुरा गरेकोमा उनले मलाई बधाई भनिन्’, सन्तोषीले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *