शिक्षामन्त्रीज्यू, नयाँ प्राविधिक शिक्षालय खोल्ने आधार के हो ?
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईज्यू
तपाईं अध्यक्ष रहेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले नयाँ शैक्षिक सत्रका लागि एक साता अगाडि प्रवेश परीक्षा सञ्चालन गरेको थियो, तर विडम्बना सीटीईभीटीको इतिहासमै सबैभन्दा कम प्रतिशत विद्यार्थीले यस पटक प्रवेश परीक्षा दिए । सामान्य भाषामा प्रवेश परीक्षा भन्नाले कुनै पनि कार्यक्रम अध्ययन गर्न आधार भएको या नभएको भनेर जाँच्ने भन्ने बुझिन्छ, तर हाम्रा प्रवेश परीक्षाहरुमा विद्यार्थीलाई तानेर सहभागी बनाउने गरिएको छ । यसो भनौं, सीटीईभीटीको प्रवेश परीक्षा केवल आन्तरिक स्रोत वृद्धि गर्ने माध्यममात्रै भएको छ । अहिले स्वास्थ्य कार्यक्रमबाहेक १० प्रतिशत विद्यार्थीमात्रै प्रवेश परीक्षामा सामेल भएका छन् । स्वास्थ्य कार्यक्रममा प्रवेश परीक्षा दिने विद्यार्थीको संख्यालाई लिएर सीटीईभीटीका पदाधिकारीहरुले आत्मरति गरिरहेका छन्, तर त्यो तथ्यांक भ्रमपूर्ण र तथ्यरहित छ । हामीले यसलाई वस्तुनिष्ठ ढंगले स्वास्थ्य र अन्य कार्यक्रम गरेर फरकफरक ढंगले विश्लेषण गर्नुपर्छ ।
अहिले स्वास्थ्यबाहेकको (स्वास्थ्यका एचए, ल्याब र रेडियोग्राफीमा समेत) कार्यक्रममा प्रवेश परीक्षा दिनेको संख्या मन्त्रीज्यूले हेर्नुभएको छ या छैन ? एक पटक हेर्नुभयो भने आफू अध्यक्ष रहेको संस्थाको वास्तविक हविगत अवगत हुनेछ । तपाईं मातहतको संस्थामा सरकारले गरेको लगानी यसरी लाजमर्दो तरिकाले खेर जानु तपाईंमाथिको पनि प्रश्न हो भन्ने मलाई लाग्छ । संसारका देशहरु प्राविधिक शिक्षाको उच्चतम विन्दुमा पुगेको बेलामा नेपालमा सुलभ प्राविधिक शिक्षा हुँदा पनि किन आकर्षण हुन सकेन ? यसका दोषीहरु को को हुन् ? अब यसलाई कसरी सुधार गर्ने भन्नेबारेमा समयमै चासो दिन सकिएन भने सीटीईभीटी विद्यार्थीविनाको संस्था बन्ने निश्चित छ ।
सञ्चालनमा आएका संस्थाहरु बन्द हुने अवस्थामा छन् । सीटीईभीटीकै आंगिक कलेजहरुमा स्वास्थ्यबाहेकका कार्यक्रम अधिकांश बन्द गर्नुपर्ने स्थिति छ । यस्तो अवस्थामा शिक्षालयको संख्या घटाउन र मर्ज गर्न समिति बनाएर काम गर्नुपर्नेमा परिषद्को साउन २२ गतेको बैठकले थप ६५ वटा संस्थालाई सम्बन्धन बाँड्ने निर्णय गरेको छ । जुन संस्थामा १० प्रतिशत विद्यार्थीमात्रै भर्ना हुन्छ, त्यो संस्थाले नयाँ शिक्षालय सञ्चालन गर्ने आधार के हो ? मन्त्रीज्यूसँग यसको जवाफ हुनुपर्छ । तपाईंले गर्ने हरेक निर्णयको जिम्मेवार मन्त्रीज्यू नै हुनुहुन्छ ।
प्रधानमन्त्रीले बोलेको भन्दै सामान्य कक्षाकोठा व्यवस्थापन गरेको भरमा प्राविधिक शिक्षालयहरुलाई सम्बन्धन दिने क्रमको सुरुवात भयो । टिनको छानोमा एकाध डेस्कबेन्चमात्रै भएको भरमा प्राविधिक शिक्षालय सञ्चालन गर्ने युगको सुरुवात भयो ।
कहाँनेर छ त्रुटि ?
योभन्दा अघिल्लो कार्यकालमा अर्थात २०७४ सालमा प्रधानमन्त्री बनेको बेलामा केपी शर्मा ओलीले प्राविधिक शिक्षाको क्षेत्रमा एउटा नारा लगाउनुभयो- ‘एक पालिका, एक प्राविधिक शिक्षालय’ । प्राविधिक शिक्षाको पहुँच सबैसामु पुर्याउन यो नारा एकदमै जायज थियो, तर पहुँच भनेको शिक्षालय स्थापनामात्रै होइन भन्ने कुरा सीटीईभीटी नेतृत्वले त्यतिबेला बुझाउन सकेन या चाहेन । किनकि सम्बन्धन बाँड्दा मोटो रकम प्राप्त हुने गर्दथ्यो । त्यसका लागि जनशक्ति, पूर्वाधार, ल्याबलगायतका विभिन्न संरचनाकोे आवश्यकता पर्ने थियो । प्रधानमन्त्रीले भनेपछि यी पक्षमा सीटीईभीटीले आवश्यक तयारी गरेर सम्बन्धन बाँड्नुपर्ने थियो । प्राविधिक तथा व्यवसायिक शिक्षा तालिम कार्यक्रम सम्बन्धन कार्यविधिको अक्षरशः पालना गर्नुपर्थ्यो, तर प्रधानमन्त्रीले बोलेको भन्दै सामान्य कक्षाकोठा व्यवस्थापन गरेको भरमा प्राविधिक शिक्षालयहरुलाई सम्बन्धन दिने क्रमको सुरुवात भयो । टिनको छानोमा एकाध डेस्कबेन्चमात्रै भएको भरमा प्राविधिक शिक्षालय सञ्चालन गर्ने युगको सुरुवात भयो ।
कुनै पनि खालको नक्सांकन नगरेर हरेक पालिकामा होइन, वडा-वडामा प्राविधिक शिक्षालय सञ्चालन गर्ने होडबाजी नै चल्यो । नेताका गोजीबाट सम्बन्धन बाँड्नेसम्मका काम पनि भए । जसले गर्दा शिक्षालयको संख्या त बढ्यो, तर विद्यार्थीको संख्या भने बढ्न सकेन । पूर्वतयारीविना पहुँचका भरका स्थापना भएका शिक्षालयलाई विद्यार्थीहरुले रुचाएनन् । बरु एउटा शिक्षालयमा पढ्ने विद्यार्थीहरु सबैतिर बाँडिदा अधिकांश शिक्षालयमा कोटा पूरा पनि भएन । एकातिर प्राविधिक शिक्षाको गुणस्तर खस्कँदै गयो, अर्कोतिर उत्पादन भएका विद्यार्थीहरुलाई रोजगारीको बजारमा कसरी लैजाने भन्ने कुरामा न सीटीईभीटीसँग कुनै योजना रह्यो न त सरकारले नै यसबारेमा केही गर्न सक्यो । साँच्चै भन्दा सीटीईभीटी अहिले सम्बन्धन बाँड्ने, परीक्षाको तालिका सार्वजनिक गर्ने र नतिजा प्रकाशन गर्ने रोबोट शैलीको संस्थामा मात्रै रहेको छ । सृजनात्मक काम गर्नमा सीटीईभीटीको रुचि नै देखिँदैन ।
त्यहीबेलामा खुलेका शिक्षालयमा अहिले १० प्रतिशत पनि विद्यार्थी प्रवेश परीक्षामा समावेश हुन सकेका छैनन् । सरकारले तत्कालीन रुपमा गरेको त्रुटिपूर्ण निर्णयलाई गलत छ भन्ने थाहा हुँदाहुँदै पनि निहित स्वार्थका कारणले सम्बन्धन बाँड्नमा सीटीईभीटीले सक्रियता देखाउँदा यो अवस्था सृजना भएको हो । तत्कालीन सीटीईभीटीका हरेक जिम्मेवार व्यक्तिहरु यसका दोषी हुन् । एउटा इतिहास बोकेको संस्थाको गरिमालाई एकै पटक नामेट गर्नेहरुलाई सरकारले कारबाही गर्ने आँट गर्नुपर्दथ्यो । विडम्बना देशलाई आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने भनेर स्थापना भएको संस्था आफैं बिग्रिएर थला पर्ने अवस्था सृजना भयो ।
साँच्चै भन्दा सीटीईभीटी अहिले सम्बन्धन बाँड्ने, परीक्षाको तालिका सार्वजनिक गर्ने र नतिजा प्रकाशन गर्ने रोबोट शैलीको संस्थामा मात्रै रहेको छ । सृजनात्मक काम गर्नमा सीटीईभीटीको रुचि नै देखिँदैन ।
मन्त्रीज्यूले वस्तुपरक अध्ययन गर्नमा रुचि नदेखाएर जथाभावी सम्बन्धन बाँड्ने कामलाई थप जोडबल दिनुभयो । तपाईंसँग अहिलेको विषम परिस्थितिमा शिक्षालयको संख्या बढाउनुको जिम्मेवारीपूर्ण जवाफ छ ?
अब के गर्ने ?
प्राविधिक शिक्षामा निरन्तर विद्यार्थी संख्या ओरालो लागेपछि ३ वर्ष अगाडिबाट न्यूनतम जीपीए ल्याएकाले पनि प्राविधिक शिक्षा अध्ययन गर्न सकिने गरी सीटीईभीटीले कार्यविधि परिमार्जन गर्यो, तर यसले पनि विद्यार्थीको आकर्षण बढाउन सकेन । विद्यार्थीहरुको आकर्षण एकाएक किन घट्यो भन्नेबारेमा अध्ययन गर्नुभन्दा पनि सस्तो खालको निर्णय गर्ने कुरामा सीटीईभीटी अभ्यस्त हुँदै गयो । पछिल्लो पटक फेल भएका विद्यार्थीले पनि प्रवेश परीक्षा दिने निर्णय गरेको छ ।
मन्त्रीज्यूलाई सीटीईभीटीले नै निकालेको एउटा तथ्यांक पेश गर्न चाहन्छु । २०७५ सालमा ९३८ कार्यक्रम सञ्चालन हुँदा २३ हजार ८६४ विद्यार्थीले अध्ययन गरेका थिए । २०७९ सालमा १ हजार ३७६ कार्यक्रम सञ्चालन हुँदा २६ हजार ६४६ विद्यार्थी भर्ना भएका थिए । अर्थात् सीटीईभीटीको तथ्यांकअनुसार विद्यार्थीको संख्या २५ हजार आसपास नै रहेको छ । शिक्षालय थपिने क्रम भने तीव्रतर गतिमा भइरहेको छ । विद्यार्थी बढ्न नसक्ने, तर शिक्षालयमात्रै बढ्नुपर्ने यस्तो अवैज्ञानिक निर्णय गर्ने सीटीईभीटी नेतृत्वलाई मन्त्रीज्यूले स्पष्टीकरण लिने आँट गर्नुपर्यो ।
विद्यार्थी आकर्षण बढाउन पहिलो कुरा पाठ्यक्रममा परिवर्तन गर्नुपर्छ । सबैभन्दा न्यूनतम जीपीए ल्याएका विद्यार्थीले पढ्न पाउने भन्ने, तर पाठ्यक्रममा विज्ञानका जटिल जटिल विषय राख्ने ? यस्तो उल्टो हिँडाइले नै हो प्राविधिक शिक्षा अलमलमा परेको । सामान्य शैक्षिक अवस्था भएको विद्यार्थीले पनि सीपमार्फत केही गर्न सकोस् भनेर सञ्चालन गरिएको प्राविधिक कार्यक्रममा विद्यार्थीको स्तरभन्दा जटिल विषय राख्दा पढिरेहका कैयौं विद्यार्थीमा निराशा छ । मन्त्रीज्यूले भर्खरै प्रकाशित भएको दोस्रो सेमेस्टरको परीक्षाको नतिजा हेर्नुहोला ५ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएका छन् । जुन संस्थामा ५ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण हुन्छन्, त्यसमा कसरी विद्यार्थीको आकर्षण बढ्नसक्छ ? यसको दोष नेतृत्वले लिनुपर्छ । एकाध विद्यालयमा मात्रै नतिजा खस्किए विद्यालय प्रशासन दोषी हुन्छ, सबै ठाउँमा नतिजा खस्किए नेतृत्व दोषी हुन्छ । पहिलो महत्वपूर्ण कुरा भनेको हाम्रो पाठ्यक्रम परिवर्तन नै हो ।
एउटा इतिहास बोकेको संस्थाको गरिमालाई एकै पटक नामेट गर्नेहरुलाई सरकारले कारबाही गर्ने आँट गर्नुपर्दथ्यो । विडम्बना देशलाई आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने भनेर स्थापना भएको संस्था आफैं बिग्रिएर थला पर्ने अवस्था सृजना भयो ।
दोस्रो कुरा भनेको शिक्षालय मर्ज गरौं । हामीलाई चाहिने शिक्षालय र कार्यक्रम कति हो ? पहिलो कुरा त्यसको लेखाजोखा गरौं, नक्सांकन गरौं । गाउँगाउँमा शिक्षालय पुर्याउनुभन्दा विशेष ठाउँमा शिक्षालय सञ्चालन गरेर छात्रावासको व्यवस्था गरौं । यसखालको काम गर्न अहिले विद्यार्थीविनाका शिक्षालयहरुमा गरिएको लगानी नै काफी हुन्छ । यसमा अतिरिक्त लगानी आवश्यक पर्दैन ।
तेस्रो कुरा भनेको नयाँ सम्बन्धन बाँड्ने कार्य रोकौं । प्राविधिक शिक्षालयको हरिबिजोग हुँदा पनि अझै सीटीईभीटीले सम्बन्धन बाँडिरहेको छ । यसै वर्षमात्रै ८० वटा जति शिक्षालयले सम्बन्धमा पाएका छन् । यसले सीटीईभीटीको नेतृत्व प्राविधिक शिक्षालय जोगाउने भन्ने विषयमा संवेदनशील छैन भन्ने देखिन्छ । तत्कालका लागि यो कार्य बन्द गर्नुपर्छ ।
चौथो कुरा भनेको विद्यार्थीको प्लेसमेन्टमा ध्यान दिऔं । विद्यार्थीहरुले प्राविधिक शिक्षा किन पढ्ने भन्ने कुराको एउटै जवाफ हो, ‘सहजै रोजगार प्राप्त गर्न’ तर हामीसँग उत्पादन भएका ठूलो परिमाणमा जनशक्ति बेरोजगार रहेको छ । उनीहरुले गर्ने काम पनि छ, तर काम र विद्यार्थीहरुलाई जोड्ने प्रणाली सरकारसँग छैन । सरकारी निकायहरुमा पेड भोलेन्टियरको व्यवस्था गरौं । यसले एकातिर राज्यको आर्थिक व्ययभार पनि कम गर्छ, अर्कोतिर विद्यार्थीलाई पनि रोजगार प्रदान गर्छ । उदाहरणका लागि फुड एण्ड डेरी टेक्नोलोजी अध्ययन गरेका विद्यार्थी खाली बसिरहेका छन्, तर स्थानीय तहमा उपभोक्ता हित संरक्षण शाखाको नेतृत्व प्रशासनिक कर्मचारीले गरिरहेका छन् । यसमा विद्यार्थीहरुलाई परिचालन गर्न सकियो भने सबैलाई प्रतिफल प्राप्त हुने देखिन्छ । यस्ता सम्भावना अन्य विषय र कार्यक्रमहरुमा पनि रहेका छन् ।
पाँचौं कुरा भनेको दुई धारको प्राविधिक शिक्षा बन्द गरौं । एकातिर डिप्लोमा र प्रि-डिप्लोमा भनेर सीटीईभीटीबाट सञ्चालन गर्ने अनि अर्कातिर कक्षा ९ देखि १२ भनेर शिक्षा मन्त्रालयबाट सञ्चालन गर्ने । दुई खालको प्राविधिक शिक्षाका कारणले गर्दा पनि विद्यार्थीहरुमा अन्योल छाएको देखिन्छ । एउटै देशमा एकैखालको शिक्षा दुई तरिकाले दिनु आवश्यक छैन । कक्षा ९ देखि १२ मा विद्यार्थी भर्नाको दर हेर्नुभयो भने सीटीईभीटीको भन्दा पनि कहालीलाग्दो छ । एकातिर सीटीईभीटीबाट, अर्कोतिर शिक्षा मन्त्रालयमार्फत विद्यार्थीविनाका शिक्षालयहरुमा कसले धेरै लगानी गर्ने भन्ने होडबाजीको अन्त्य गर्नुपर्छ । प्राविधिक शिक्षाका लागि भनेर अलग संस्था बनाइसकेपछि अनावश्यक शिक्षा मन्त्रालयलाई किन फेरि कक्षा ९ देखि १२ का नाममा सक्रिय बनाउने ? यो कुरालाई पनि सुधार गर्नु आवश्यक छ ।
आशा छ, हामी मैदानमा रहेर काम गर्नेहरुलाई नीति र नेतृत्वमा रहने तपाईंहरुले उचित नीति ल्याइदिनु भयो भने उत्साहित भएर काम गर्ने वातावरण हुने थियो । हामी उत्साहको प्रतीक्षामा छौं ।
(लेखक तुलसीपुर बहुप्राविधिक शिक्षालयका प्रमुख हुन् ।)
सरकारले नितिगत रुप्मा प्राबिधिक शिक्षा अध्यन गरेका जनशक्ती लाई स्वदेश तथा बिदेस दुवै स्थानमा फरक ज्याला प्रदान गर्ने बातावरण तय गरिनु पर्छ । स्किल नभयका जनशक्ति उत्पादन गर्ने सस्थालाइ खारेजी गरिनु पर्छ