शैक्षिक तालिम केन्द्र सञ्चालनमा ल्याउन माग – Nepal Press

शैक्षिक तालिम केन्द्र सञ्चालनमा ल्याउन माग

धनगढी । कञ्चनपुरका शिक्षक सङ्घ, सङ्गठनका प्रतिनिधिहरूले शैक्षिक तालिम केन्द्र सञ्चालनमा ल्याउन माग गरेका छन् ।

सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावललाई ज्ञापन पत्र बुझाउँदै उनीहरूले महेन्द्रनगरमा रहेको शिक्षा तालिम उप केन्द्रको भौतिक, शैक्षिक, आर्थिक तथा मानवीय संसाधन व्यवस्थापनका निम्ति पहल गर्न आग्रह गरेका हुन् ।

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको २०७५ भदौ २६ गतेको मन्त्री स्तरीय बैठकबाट महेन्द्रनगरसहित देशभरका २२ वटा शैक्षिक तालिम केन्द्रमा रहेका भौतिक पूर्वाधार, सम्पत्ति तथा जनशक्ति प्रदेश स्तरको शिक्षा तालिम केन्द्रको मातहतबाट व्यवस्थापन तथा परिचालन गर्ने निर्णय भएको थियो ।

यी तालिम केन्द्रहरूमा कार्यरत स्थायी, श्रेणीविहीन पदका सबै कर्मचारी तथा काजमा रहेका प्रशिक्षक र प्रशासनिक सहायक पदमा कार्यरत कर्मचारीलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको निर्णय बमोजिम गर्ने गरी व्यवस्था गर्न भनिएको थियो । तर हालसम्म कुनै व्यवस्थापन हुन नसकेको गुनासो शिक्षक सङ्घ, सङ्गठनका प्रतिनिधिहरूले गरेका छन् ।

शिक्षक महासङ्घका केन्द्रीय सचिव बिर्ख बहादुर मल्लका अनुसार सम्पूर्ण बजेट अहिले प्रदेश स्तरको शिक्षा तालिम केन्द्र दिपायलमा केन्द्रीकृत भएको छ । खारेजीमा परेका महेन्द्रनगर, धनगढी र बैतडी तालिम केन्द्रहरूमा बजेटको सही बाँडफाँट नगर्दा केन्द्रहरू जीर्ण अवस्थामा पुगेका छन् ।

यसअघि पनि शिक्षकका पेसागत सङ्घ, सङ्गठनहरूको संयुक्त बैठकले महेन्द्रनगर लगायत प्रदेशमा रहेका शैक्षिक तालिम केन्द्रहरूलाई यथावत् राख्न मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो ।

खारेजीमा परेका बैतडी, कैलाली र कञ्चनपुरका साबिक शैक्षिक केन्द्रहरूमा बजेट व्यवस्थापन गरी सञ्चालनमा ल्याउन जोड् दिइएको छ ।

प्रदेशमा रहेको एउटा मात्र (दिपायल) तालिम केन्द्रमा तालिम दिँदा सरकारलाई आर्थिक व्ययभार बढ्ने, शिक्षा तालिम केन्द्र दिपायलमा रहेका शिक्षकहरूका आवासहरू सशस्त्र प्रहरीले प्रयोग गरिरहेको र ९ वटै जिल्लाका शिक्षकहरूले तालिम लिन जाँदा बस्न समस्या हुने गरेको उनीहरूको गुनासो छ ।

तालिमको अवसर दिलाउन एक मात्र शिक्षा तालिम केन्द्रबाट असम्भव भएकाले बन्द अवस्थामा रहेका अन्य जिल्लाका तालिम केन्द्र सञ्चालनमा ल्याउनुपर्ने माग गरिएको छ ।

ज्ञापन पत्र बुझाउन आएका पेसागत सङ्घ, सङ्गठनका प्रतिनिधिसँग पूर्व मुख्यमन्त्री रावलले तालिम केन्द्र सञ्चालनमा ल्याउने गरी बजेट व्यवस्थापनका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

उनले शैक्षिक तालिम केन्द्र दिपायलका प्रमुखसँग टेलिफोनमा सम्पर्क गरी केन्द्र सञ्चालनका लागि ध्यानाकर्षण पनि गराएका छन् ।

केन्द्र प्रमुखले महेन्द्रनगरमा जीर्ण अवस्थामा पुगेको तालिम केन्द्र भवनका लागि बजेट विनियोजन गरी सञ्चालनमा ल्याउन आफूले योजना बनाइरहेको जानकारी दिएका छन् ।

ज्ञापन पत्रमा नेपाल शिक्षक सङ्घका अध्यक्ष वीरेन्द्र सिंह भण्डारी, शिक्षक महासङ्घका केन्द्रीय सचिव बिर्ख बहादुर मल्ल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका उपाध्यक्ष वेद प्रसाद उपाध्याय, रोष्टर प्रशिक्षक पुष्पराज ओझालगायतले हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर