प्रचण्डपछि नारायणकाजीले भने- बंगलादेशको घटनामा अन्तर्राष्ट्रिय द्वन्द्व र भूराजनीतिको यथेष्ट भूमिका छ – Nepal Press

प्रचण्डपछि नारायणकाजीले भने- बंगलादेशको घटनामा अन्तर्राष्ट्रिय द्वन्द्व र भूराजनीतिको यथेष्ट भूमिका छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बंगलादेश घटना अन्तर्राष्ट्रिय द्वन्द्व र भूराजनीतिको यथेष्ट भूमिका रहेको टिप्पणी गरेका छन्।

तत्कालीन प्रधानमन्त्री शेख हसिना स्वयंको अभिव्यक्ति लगायतका विषयहरूबाट घरेलु परिघटनामा मात्र सीमित नरहेको बताए।

उनले भनेका छन्, ‘यसमा अन्तर्राष्ट्रिय द्वन्द्व र भूराजनीतिको यथेष्ट भूमिका छ । साथै, हिन्दू अल्पसङ्ख्यकमाथिको निकृष्ट दुर्व्यवहारको निन्दनीय अतिवादको पक्ष पनि उजागर भइसकेको छ । यो ज्यादै गम्भीर पक्ष हो, जसप्रति सबै समयमै सचेत हुनुपर्छ । अन्यथा वैदेशिक हस्तक्षेप र धार्मिक अतिवादी द्वन्द्वले सबै तिर एउटा वा अर्को रूपमा ज्यादै नकारात्मक नुकसानदाय प्रभाव देखाउन सक्ने खतरा लाई नजरअन्दाज गर्न सकिन्न ।’

देश र जनताप्रतिको आफ्नो दायित्व पूरा नगरी अन्य पक्ष, प्रवृत्तिलाई दोष लगाएर मात्र समाधान प्राप्त नहुने बताए।

उनले थपेका छन्, ‘यसका बाबजुद के कुरामा स्पष्टताको आवश्यकता छ भने फेरि पनि जनताको भूमिका नै निर्णायक हुन्छ । राज्य र सरकारले देश र जनताको पक्षमा काम गरेको अवस्थामा वैदेशिक हस्तक्षेप र अतिवादका लागि कुनै कुनै निमित्त कारण वा आधार प्राप्त हुन सक्दैन । त्यसको सट्टा जनतामा निराशा, असन्तुष्टि र आक्रोश पैदा भएमा त्यस प्रकारको शक्ति र प्रवृत्तिले जनतालाई प्रयोग गर्ने खतरा रहिरहन्छ ।’

देश र जनताप्रतिको सरकारको निष्ठा र कामले नै जनताको साथ सहित राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिएका छन्। त्यसो त माओवादीका अध्यक्ष प्रचण्डले पनि शनिवार पार्टी बैठकमा बोल्दै बंगलादेशकी प्रधानमन्त्री हसिना र आफूलाई एकै ढंगले हटाइएको टिप्पणी गरेको थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर