कांग्रेस बैठकमा उठ्यो सुन, गिरीबन्धुदेखि नक्कली शरणार्थी प्रकरणको छानबिन गर्नुपर्ने आवाज – Nepal Press

कांग्रेस बैठकमा उठ्यो सुन, गिरीबन्धुदेखि नक्कली शरणार्थी प्रकरणको छानबिन गर्नुपर्ने आवाज

काठमाडौं । नेपाली कांग्रेसको बैठकमा नक्कली भुटानी शरणार्थी काण्ड, सुन काण्ड, गिरीबन्धु टिस्टेटलगायको विषयमा छानबिन गर्न पूर्वप्रधानन्यायधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समितिको प्रस्ताव गरिएको छ । जारी बैठकमा आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य मधु आचार्यले भ्रष्टाचारको अन्त्य र सुशासनको सुनिश्चितता गर्नुपर्ने बताए ।

उनले भने, ‘चर्चित यती, ओम्नी काण्ड, गिरीबन्धु टी स्टेट काण्ड, कृतिम भुटानी शरणार्थी काण्ड, सुन काण्ड, आदिबारे छानबिन गर्न र दोषीमाथि कडा से कडा कारबाही गर्न पूर्वप्रधानन्यायधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाउन पहल गरौं ।’

उनले कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा पार्टीभित्र बाहिर आवश्यक छलफल गर्न, पार्टी धारणा निर्माण गर्न, पार्टी नेतृत्वलाई सुझाव दिन एउटा शक्तिशाली टास्कफोर्स गठन गर्न माग गरेका छन् ।
सरकारबाट हुने नीतिगत भ्रष्ट्राचार एवं अख्तियार दुरुपयोग निवारण आयोगबाट हुन सक्ने अख्तियार दुरुपयोगको समेत छानबिन र कारबाही गर्न सक्ने दण्डात्मक, निरोधात्मक र पर्वर्द्धनात्मक अधिकारसहित लोकपाल विधेयक बनाउन अग्रसरता लिनुपर्ने माग गरे ।

उनले सिद्धान्तहीन गठबन्धन गर्नु र फोक्से मासुले मोटाउनु उस्तै भएको टिप्पणी गर्दै एक्लै निर्वाचन लडेर जित्ने संगठन बनाउने हिम्मत गर्नुपर्ने बताए ।

उनले भने, ‘सिद्धान्तहीन गठवन्धन गर्नु र फोक्से मासुले मोटाउनु उस्तै हो । ठूलो दल बनेर पनि सरकारको नेतृत्व गर्ने अवसरबाट पटकपटक किन चुकिएको हो । के यतिपनि समीक्षा गर्न सक्दैनौं ? वा चाहादैनौं ? उदेक लाग्छ हामी अझै आत्मबल, शक्ति र उर्जा गुमाएको यात्रु झै वैशाखीको चर्चामा अल्झिरहेका छौं । एक्लै निर्वाचन लडेर जित्ने संगठन बनाउने हिम्मत राख्दैनौं भने वी.पी., गणेशमान, किसुन्जी, गिरिजाबाबुको नामलाई बदनाम नगरौं । तिनको उत्तराधिकारी भन्न छोडौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर