अब दिनहुँ नयाँ काम सोध्छौं, नतिजा दिन नसक्ने कर्मचारीलाई हटाउँछौं : मन्त्री भण्डारी (भिडिओ)
'तपाईँहरूले रिजल्ट दिन तयार हुने कि नहुने ? सेवा सुविधाको जिम्मा सरकारले लिन्छ, म लिन्छु'
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले परिणाम दिनेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
मुलुकमा विद्यमान निराशा र अन्योलतालाई चिर्नेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिँदै उहाँले त्यसो गर्न नसक्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइदिने चेतावनीसमेत दिए । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले सरकार र सरकारी निकायमाथि उठेको प्रश्नको जवाफ दिनेगरी कार्य सम्पादन गर्नुपर्ने तर्फ पनि कर्मचारीलाई सचेत गराए ।
प्रधानमन्त्री ओलीले ३ महिनाभित्र सम्पादन गरिसक्ने कामको विवरण सबै मन्त्रालयसँग खोजेको उल्लेख गर्दै भण्डारीले आफूहरूले १५ वटा काम सम्पन्न गरिसक्ने बताएको र त्यसलाई पूरा हुनेगरी काम गर्न विशेष ध्यान दिन निर्देशन दिए । कर्मचारीको सेवा, सुविधाको जिम्मा मन्त्रालयले लिने तर उनीहरूले दैनिक परिणाम आउने गरी काम गर्नुपर्ने उनको भनाइ थियो ।
मन्त्री भण्डारीको भनाइ जस्ताको तस्तै
हिजोमात्रै प्रधानमन्त्रीज्यूले कम्तीमा ५ वटा ३ महिनामा गरिसक्ने कामको खोजी गर्नुभएको छ । हामीले १५ वटा काम देखाएका छौं । अब प्रत्येक १५ दिनमा सहसचिवहरूको कार्य सम्पादनको रिपोर्ट आफैँले हेर्नुहुन्छ । दैनिक मन्त्रालयका मन्त्रीले, सचिवले, सहसचिवले, सिईओहरूले अधिकृत लेवलभन्दा माथिका सबैको दैनिकीहरु अब सरकारले हेर्नेछ । एक दिनमा के गर्नुभयो नयाँ काम भनेर हेरिन्छ । आज दिनभरीको कामको परिणाम के आयो ? त्यो काम भनेको कागजमा लेखेर भरेको काम होइन, परिणाम आयो कि आएन ? परिणाम आएन भने जिम्मेवारीबाट सबैले छोड्नुपर्ने हुन्छ । मञ्जुर छ नि ! अधिकारको खोजी गर्दा कर्तव्य पनि पूरा गर्नुपर्ने हुन्छ । तपाईँहरू सबैको चाहिने सुविधाको जिम्मा मन्त्रालय लिन तयार छ । तर, तपाईँहरूले रिजल्ट दिन तयार हुने कि नहुने ? तपाईँहरूको सबै सेवा सुविधाको जिम्मा सरकारले लिन्छ । मन्त्रालयले लिन्छ । तपाईँहरूका जहाँ समस्या छन्, ती समाधान हुन्छन् । त्यसको जिम्मा म लिन्छु ।
तर, तपाईँहरूले अब रिजल्ट दिने कि नदिने ? तपाईँहरूले रिजल्ट दिनुभयो । सुविधा पूरापूर लिनुहोस् । तपाईँहरूको रिजल्ट दिनु भएन । तपाईँले जिम्मेवारीबाट छोड्नुपर्ने हुन्छ । अहिलेको व्याप्त निराशा, अन्योलतालाई चिर्नुपर्नेछ । सरकारमाथि, सरकारको निकायमाथि यति धेरै प्रश्नहरू छन् । त्यो प्रश्नको सामना हामीले परिणामबाट दिनुपर्नेछ । बिहान आएर हाजिर लगाएर मेरो तलब पाक्यो भन्ने तपाईँहरूले सोच्नुभयो भने त्यसमा पुनर्विचार गरिहाल्नुस् । तपाईँहरूले तीन महिनाभित्र परिणाम दिने गरी काम गर्छु भन्नुहुन्छ भने तपाईँहरूले चाहेको सेवा, सुविधा दिन मन्त्रालय तयार छ ।