विदेशिने श्रमिकको सबै खर्च रोजगारदाताले व्यहोर्नुपर्ने सरकारलाई सिफारिस – Nepal Press

विदेशिने श्रमिकको सबै खर्च रोजगारदाताले व्यहोर्नुपर्ने सरकारलाई सिफारिस

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि कुनै आर्थिक भार नपार्ने नीति लिन श्रम आप्रवासन नीतिको मस्यौदा बनाउन गठित विज्ञ समितिले सरकारलाई सिफारिस गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई समितिले बुझाएको मस्यौदा नीतिमा वैदेशिक रोजगारीमा जाने श्रमिकको सबै खर्च रोजगारदाताबाटै लिने गरी व्यवस्था गर्न सुझाव दिइएको हो ।

श्रम विज्ञ डा. गणेश गुरुङ नेतृत्वको विज्ञ समितिले वैदेशिक रोजगार प्रक्रियामा ‘इम्प्लोयर पे’ मोडलको विस्तार प्रभावकारी कार्यान्वयन हुने नीति बनाउनुपर्ने सुझाव दिएको छ । आइतबार श्रममन्त्री भण्डारीलाई बुझाएको प्रतिवेदनमा स्वच्छ र न्यायोचित भर्ना प्रक्रिया अवलम्बन गर्ने नीति लिन र श्रमिकमाथि कुनै पनि आर्थिक भार नपार्ने नीति लिन सुझाव दिइएको हो ।

गत फागुनमा पदमुक्त हुनुअघि तत्कालीन श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री भण्डारीले ‘निःशुल्क भिसा र टिकट’ को निर्णय उल्ट्याउन गृहकार्य गरेका थिए । त्यसपछि श्रममन्त्रीको जिम्मेवारीमा आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले पनि श्रमिकसँग शुल्क लिने पक्षमा नै उभिएका थिए । उनले संसदको रोष्ट्रमबाटै सरकारको निर्णय लागू नभएकाले सेवा शुल्क तोक्नुपर्ने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *