कसौधन परिवारमा बज्रपात: दुई छोरालाई सर्पले डसेको ढिलो थाहा पाउँदा भाइको मृत्यु, दाइ गम्भीर
रुपन्देही । आइतबार रातिसम्म स्थानीय रामघाट मेलामा प्रसाद वितरण गरेर रमाएका कपिलवस्तु नगरपालिका- १ जुहार टोलका १३ वर्षीय चिराग र १४ वर्षीय राज कसौधन बिहान अबेरसम्म उठेनन् ।
परिवारका सदस्यले बिहान उठाउन खोजे पनि भाइ चिराग बोल्दै बोलेनन् भने दाजु राजले पनि सामान्य आवाजले पछि उठ्ने संकेत गरेपछि अभिभावकले त्यतिकै छाडे, तर उनीहरुलाई कति बेला विशालु सर्पले डसेर छट्पटाए भन्ने कसैलाई पत्तो नै भएन ।
एउटै परिवारका दाइभाइलाई विषालु सर्पले डस्दा भाइको मृत्यु भएको छ । दाइको अवस्था चिन्ताजनक छ । मृतक चिराग बर्गदवास्थित भगवानदास माविमा कक्षा ६ र घाइते राज कक्षा ८ का विद्यार्थी छन्। चिरागको मृत्युपछि उनको परिवार शोकमा डुबेको छ ।
समयमै सर्पले डसेको पत्तो नलाग्दा कसौधन परिवारले सुरुमा तौलिहवा अस्पताल लगेका थिए । त्यहाँबाट रुपन्देहीको क्रिमसन अस्पताल हुँदै अन्तिममा बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएका थिए ।
स्थानीय सन्तोषकुमार कसौधनले आफ्ना २ छोरालाई सर्पले डसेकोे तीन वटा अस्पताल चहार्दामात्रै जानकारी भएको बताए । सर्पले डसेर सँगै सुतेका चिरागको मृत्यु हुँदा राजको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको बुवा सन्तोषकुमारले जानकारी दिए ।
कपिलवस्तु नगरपालिका- १ का वडाध्यक्ष मुहम्मद जहिद खाँले स्थानीय बोलबम मन्दिरमा लाल्ने मेलामा राति अबेरसम्म ती दुई भाइले प्रसाद वितरण गरेको तर, सोमबार यस्तो दर्दनाक घटनाले आफूलाई स्तब्ध बनाएको बताए ।
‘राति अबेरसम्म यहाँको ठूलो मेला लाग्ने मन्दिरमा उनीहरुले प्रसाद वितरण गरेका थिए, बिहान यस्तो घटना सुन्नुपर्यो, कसौधन परिवारमा हुर्केका दुई छोरालाई सर्पले डसेर यस्तो अवस्था भयो’, उनले नेपाल प्रेससँग भने ।
आफू भर्खरमात्रै कसौधन परिवारको घरमा पुगेर फर्केको र सिंगो गाउँमा सन्नाटा छाएको उनले सुनाए ।
‘समयमै सर्पले टोकेको थाहा नपाउँदा र अस्पताल पु¥याउन नसक्दा यस्तो घटना भयो’, खाँले भने ।
आइतबार राति ११ बजेसम्म साउनको सोमबार रामघाटमा स्नान गर्न जाने भक्तजनहरूलाई दाजुभाइले प्रसाद वितरण गरेका थिए । राति दुबै जना घरमा सुतेका र बिहान अबेरसम्म नउठेपछि हेर्दा दुबै जना गम्भीर अवस्थामा भेटिएको बुवा सन्तोषकुमारले बताए ।
दुबैलाई उपचारका लागि सोमबार बिहान तौलिहवा अस्पताल लगिए पनि सोही अस्पतालमै चिरागको मृत्यु भएको थियो । राजलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ । उनीहरुको रगत परीक्षणअघि के कारणले यस्तो भएको भन्ने यकिन भएको थिएन । त्यहाँ उनको रगत परीक्षण गर्दा बल्ल सर्पले टोकेको पत्ता लागको बुवा सन्तोषले बताए ।
कपिलवस्तुका डाक्टरहरूले आफूहरूलाई अल्झाउँदा छोरा चिरागको मृत्यु भएको सन्तोषले आरोप लगाएका छन् । अर्को छोरा राजलाई तत्कालै उपचारका लागि बुटवल नलगेको भए ऊ पनि बाँच्न मुस्किल पर्ने उनको भनाइ छ ।
कपिलवस्तुमा रहेको अस्पतालमा आईसीयूसहितको सर्पदंश उपचार र गोरुसिंगेमा रहेको सेनाको सर्पदंश उपचार केन्द्र हुँदा पनि त्यहाँ समयमा लैजान नसकेको र लगेर पनि समयमा पत्ता लाग्न नसकेको वडाध्यक्ष खाँले बताए ।